काठमाडौं, हालै रसुवालगायतका जिल्लामा आएको बाढी तथा प्राकृतिक विपद्का कारण भएको मानवीय क्षति, जनधन तथा भौतिक संरचनामा पुगेको क्षतिप्रति नेपाल बैंकर्स संघले दुःख व्यक्त गरेको छ ।
यस विपद्मा ज्यान गुमाएका सम्पूर्णप्रति संघले हार्दिक श्रद्धाञ्जली अर्पण तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै यस कठिन घडीमा सम्पूर्णमा धैर्यताका साथ अघि बढ्ने शक्ति मिलोस भन्ने कामना गरेको छ ।
‘बाढी प्रभावित जिल्लाहरूमा कार्यरत अधिकांश बैंक कर्मचारीहरू सुरक्षित रहेको जानकारी प्राप्त भएको छ भने केही कर्मचारीहरूसँग हालसम्म सम्पर्क स्थापित हुन नसकेको अवस्था छ । बाढी तथा डुबानका कारण प्रभावित जिल्लाहरूमा बैंकका केही शाखाहरूसमेत प्रभावित भएका छन् ।’ संघले भन्यो, ‘त्यसका साथै विद्युत, इन्टरनेट तथा सञ्चार सेवामा आएको अवरोधका कारण प्रभावित जिल्लाहरूमा नियमित बैंकिङ सेवा सञ्चालनमा समेत चुनौती देखिएको छ ।’
यद्यपि, बैंकहरूले उपलब्ध स्रोत, साधन र वैकल्पिक व्यवस्थाको अधिकतम उपयोग गर्दै सेवा निरन्तरता कायम गर्न तथा प्रभावित सेवाग्राहीलाई आवश्यक सहयोग उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहेको संघले जनाएको छ । नेपाल बैंकर्स संघले यस विपद्को समयमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै अघि बढेको जनाएको छ ।
नेपालको बैंकिङ क्षेत्र यस कठिन परिस्थितिमा नेपाल सरकारको राहत, उद्धार तथा पुनःस्थापना प्रयासमा साथ दिन पूर्ण रूपमा प्रतिबद्ध रहेको संघले जनाएको छ । प्रभावित कर्मचारी, उनका परिवार तथा आम नागरिकलाई आवश्यक सहयोग पुर्याउन बैंकिङ क्षेत्रले आफ्नो तर्फबाट सक्दो योगदान गर्ने संघले जनाएको छ ।
नेपाल बैंकर्स संघले सरकारसँगको सहकार्यमा राहत, उद्धार, सेवा निरन्तरता तथा पुनर्स्थापनाका लागि आफ्ना सदस्य बैंकहरूसँग समन्वय गरी आवश्यक सहयोग तथा सहजीकरणका लागि तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ ।