Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारकिन खस्किँदै छ नेपालमा बीमा क्षेत्र ?

किन खस्किँदै छ नेपालमा बीमा क्षेत्र ?


काठमाडौं । नेपालमा बीमा क्षेत्र खस्किँदै गएको देखिएको छ । अर्थतन्त्रको आकार बढ्दा सामान्यरुपमा बीमाको आकार पनि बढ्नुपर्ने हुन्छ । तर, पछिल्लो समय नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रको विकास र विस्तारको लागि करोडाँै रुपैयाँ खर्च गरेर जतिसुकै गोष्ठी, सभा–समारोह र कार्यक्रम गरे पनि बीमा क्षेत्रको विस्तारमा यस्तो लगानी बालुवामा पानी हालेजस्तै भएको छ ।

नेपाल बीमा प्राधिकरणको आफ्नै तथ्यांकले पनि पछिल्लो समय नेपालमा बीमा क्षेत्र खस्किँदै गएको देखाएको छ । प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्यांकअनुसार कुल जीवन बीमालेख, कुल निर्जीवन बीमालेख, बीमाको दायरमा आएको जनसंख्या, रोजगारी सबै घटेको छ । माघ मसान्तमा बीमा कम्पनीहरूकोे कुल जीवन बीमालेखको संख्या एक करोड ३७ लाख ९४ हजार एक सय ३७ वटा छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन दशमलव २७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा कुल जीवन बीमालेखको संख्या एक करोड ४२ लाख ६० हजार एक सय ३९ वटा थियो ।

पछिल्लो अवधिमा नेपालमा कुल निर्जीवन बीमालेखको संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव शून्य आठ प्रतिशतले बढेर १७ लाख दुई हजार नौ सय ८७ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या १६ लाख ३६ हजार दुई सय ८४ थियो ।

चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखबाहेकको जीवन बीमालेखको संख्या ५५ लाख १४ हजार दुई सय ९२ पुगेको छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन दशमलव ९१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ५७ लाख ३८ हजार चार सय ३४ थियो । यसैगरी म्यादी र लघु म्यादी जीवन बीमालेखको संख्या पनि चालू आर्थिक वर्षको माघ मसान्तसम्म ६३ लाख १४ हजार ८१ पुगेको छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ दशमलव ८३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ७१ लाख ६१ हजार एक सय ३९ रहेको थियो । पछिल्लो समय वैदेशिक रोजगार बीमालेखको संख्या भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४ दशमलव ५० प्रतिशतले बढेको छ । सोअनुसार गत आर्थिक वर्षको माघ मसान्तमा वैदेशिक रोजगार बीमालेखको संख्या १३ लाख ६० हजार तीन सय ८८ रहेकोमा अहिले यस्तो संख्या बढेर १९ लाख ६५ हजार सात सय ६४ पुगेको छ ।

वैदेशिक रोजगारमा जाने नेपालीहरूको संख्या बढेकाले मात्र यस्तो बीमालेखको संख्या बढेको हो । प्राधिकरणका अनुसार म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखबाहेक बीमाको दायरामा आएको जनसंख्या प्रतिशत पनि पछिल्लो समय घटेको छ । गत आर्थिक वर्षको माघ मसान्तसम्ममा यस्तो प्रतिशत १७ दशमलव ९ प्रतिशत रहेकोमा अहिले यस्तो प्रतिशत गटेर १७ दशमलव १२ प्रतिशमा खुम्चिएको छ । म्यादी र लघु म्यादी जीवन बीमालेखसहित बीमाको दायरामा आएको जनसंख्या प्रतिशत पनि गत आर्थिक वर्षको तुलनामा घटेको छ । गत आर्थिक वर्षको माघ मसान्तसम्म बीमाको दायरामा आएको जनसंख्या ४० दशमलव २३ प्रतिशत रहेकोमा अहिले यस्तो संख्या घटेर ३६ दशमलव ७२ प्रतिशतमा झरेको छ । म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित बीमाको दायरामा आएको जनसंख्या प्रतिशत गत आर्थिक वर्षको माघ मसान्तमा ४४ दशमलव ७० प्रतिशत रहेकोमा अहिले यस्तो संख्या घटेर ४३ दशमलव १४ प्रतिशतमा खुम्चिएको छ ।

प्राधिकरणको तथ्यांकअनुसार बीमा कार्यालयको संख्या पनि गत आर्थिक वर्षको माघ मसान्तको तुलनामा नौ दशमलव २५ प्रतिशतले घटेको छ । गतवर्ष माघ मसान्तसम्म बीमा कम्पनीहरूको जम्मा कार्यालय संख्या तीन हजार एक सय ८९ रहेकोमा अहिले घटेर दुई हजार आठ सय ९४ वटामा झरेको छ । यसैगरी सबै किसिमका बीमा कम्पनीहरूमा कार्यरत कर्मचारी संख्या पनि गत आर्थिक वर्षको माघ मसान्तको तुलनामा शून्य दशमलव ५७ प्रतिशतले घटेको छ । गतवर्ष माघ मसान्तसम्म ११ हजार पाँच सय ३८ रहेको कर्मचारी संख्या घटेर अहिले ११ हजार चार सय ७२ माघ झरेको छ ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया