Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसबै पत्रकार, सुरक्षाकर्मी, मजदुर र स्वास्थ्यकर्मीको कोभिड–१९ परीक्षण गरिने

सबै पत्रकार, सुरक्षाकर्मी, मजदुर र स्वास्थ्यकर्मीको कोभिड–१९ परीक्षण गरिने


काठमाडौं,जेठ २

सरकारले जोखिमपूर्ण क्षेत्रमा काम गर्ने सबै स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षाकर्मी र मजदुरको कोभिड–१९ परीक्षण गर्ने भएको छ । बिहीबारदेखि स्वास्थ्यकर्मीको परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थयकर्मीले कुनै पनि बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पीसीआर विधिबाट परीक्षण गरिने भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले पनि त्यसको पुष्टि गरेको राससले जनाएको छ । कार्कीका अनुसार स्वास्थ्यकर्मीको परीक्षण बिहीबारदेखि सुरु गरिएको हो भने अरुको दुई÷चार दिनभित्रै सुरु हुनेछ ।

मन्त्रालयले उपत्यकामा रहेका सुरक्षाकर्मी, मजदुर र पत्रकारको कोभिड–१९ परीक्षण तत्काल गर्ने गरी कार्यविधि बनाउँदै गरेको छ । कार्कीका अनुसार उनीहरु बन्दाबन्दी (लकडाउन)को समयमा पनि काममा खटिरहेकाले परीक्षण गर्नुपर्ने अवस्था आएको हो । केही दिनअघि दुई पत्रकार र केही सुरक्षाकर्मीमा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । अहिलेसम्म पीसीआर २२ हजार ६ सय ६४ को र आरडीटी परीक्षण ६२ हजार ३ सय २७ मा गरिएको छ । यसैगरी मन्त्रालयले क्वारेन्टाइनमा रहेका सबैको कोभिड–१९ परीक्षण गर्ने भएको छ । यही जेठ ५ गतेभित्र क्वारेन्टाइनमा रहेका सबैको आरडीटी र पीसीआर विधिबाट परीक्षण गर्नेछ । अहिलेसम्म मुलुकभरि १५ हजार ६ सय जना क्वारेन्टाइनमा रहेका छन् । देशभरिका विभिन्न स्थानमा ५३ हजार ८ सय ३५ क्वारेन्टाइन बेड रहेका छन् ।

कोभिड–१९ को परीक्षण दायरा बढाउने उद्देश्यले सरकारले विभिन्न प्रदेशमा हवाइ तथा स्थलमार्गबाट १४ हजार ७ सय थान ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) किट पठाएको छ । प्रदेश नं १, प्रदेश नं २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा हवाइ तथा स्थलमार्गबाट आरडीटीसहित सात हजार थान भीटीएम र पीपीईलगायत स्वास्थ्य सामग्री पठाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

प्रदेश नं १, प्रदेश नं २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश गरी विभिन्न २८ जिल्लामा परीक्षणको दायरा बढाउने सरकारको योजना रहेको छ ।
सरकारले हालसम्म २२ हजार ६ सय ६४ व्यक्तिमा रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पीसीआर) विधिबाट कोभिड–१९ को परीक्षण गरेको छ । आरडीटी विधिबाट ६२ हजार ३ सय २७ मा नमूना परीक्षण गरेको छ । अहिलेसम्म आइसोलेसनमा २ सय ७२ जना रहेका छन् । तीमध्ये काठमाडौँ उपत्यकामा छ जना छन् भने उपत्यकाबाहिर २ सय ६६ रहेका छन् ।

पीसीआर परीक्षणको दायरा बढाउन सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले कोरोना भाइरसको सङ्क्रमणबाट नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले बिहीबार उक्त भाइरसको महामारीबाट बच्न पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, ‘हालको परिस्थितिमा तत्काल रोग नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्नुपर्ने अवस्था रहेकाले तत्काल पीसीआर दायरा बढाउनेतर्फ र सोको अभाव नहुनेतर्फ आवश्यक पहल गर्न अन्तरिम आदेश जारी गरिदिएको छ ।” अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले उक्त आदेश जारी गरेको हो । साथै, आदेशमा महामारी नियन्त्रणमा सरकारले गरेका कामहरुका बारेमा १५ दिनभित्र लिखित जवाफ दिनसमेत भनिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया