Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर धितोमा झण्डै एक खर्ब कर्जा प्रवाह

सेयर धितोमा झण्डै एक खर्ब कर्जा प्रवाह


काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितो शीर्षकमा झण्डै एक खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा ८१ अर्ब १६ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा २० वाणिज्य बैंक, १७ विकास बैंक र १७ फाइनान्स कम्पनी गरी कुल ५४ वटा संस्थाले प्रवाह गरेका हुन् ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको कात्तिक मसान्तयता बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा पाँच अर्ब २० करोड रुपैयाँ नयाँ कर्जा प्रवाह गरेका छन् । गतवर्ष कात्तिकसम्म सेयर धितोमा बैंकहरुले प्रवाह गरेको कर्जा रकम ७५ अर्ब ९६ करोड १० लाख रुपैयाँ थियो ।

वाणिज्य बैंकहरुले गत कात्तिक मसान्तसम्म सेयर धितोमा ६३ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन अर्ब ६८ करोड ८० लाख रुपैयाँले बढी हो । गतवर्ष कात्तिक मसान्तसम्म वाणिज्य बैंकको सेयर धितो कर्जा ५९ अर्ब ९१ करोड २० लाख रुपैयाँ थियो । विकास बैंकहरुले पनि गत कात्तिक मसान्तसम्म १४ अर्ब नौ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब ८८ करोड ७० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरुले सेयर धितोमा १२ अर्ब २० करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

वाणिज्य बैंक र विकास बैैंकले सेयर धितोमा कर्जा बढाएका छन् । तर, फाइनान्स कम्पनीहरुले घटाएका छन् । कात्तिक मसान्तसम्म फाइनान्स कम्पनीहरुले सेयर धितोमा कुल तीन अर्ब ४६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७ करोड ६० लाख रुपैयाँले कम हो । गतवर्ष कात्तिकमा फाइनान्स कम्पनीहरुले सेयर धितोमा कुल तीन अर्ब ८४ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

राष्ट्र बैंकको नीति र बजारमा आएको गिरावटले सेयर कारोबारका लागि ऋण लिनेहरु घटेको देखिन्छ । तर, चालू आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षाबाट राष्ट्र बैंकले सेयर धितो कर्जामा जोखिमभार घटाएको छ । त्यस्तै नीतिगत दरहरु घटाएको छ । यसले ब्याजदर त घट्छ नै बैंकहरुको ऋण दिने क्षमता पनि बढ्छ । मौद्रिक नीति समीक्षापछि सेयरबजार बजार बढ्न थालेको छ । एक हजार आठ सय ५० को हाराहारीमा झरेको बजार दुई हजार एक सय विन्दु हाराहारी छ । सूचकमा आएकोे वृद्धिले लगानीकर्तामा ऋण लिएर लगानी गर्न मनोबल बढेको देखिन्छ । दैनिक छ÷सात अर्बको कारोबार हुनुले पनि यही संकेत गरेको छ । अर्कोतर्फ केन्द्रीय बैंकले लचिलो नीति लिएपछि बैंकहरुले पनि सेयर धितोमा कर्जा प्रवाह बढाउन खोजेको देखिन्छ । अन्य क्षेत्रबाट कर्जाको माग हुन नसक्दा बढेको बजारमा सेयर धितोमा ऋण प्रवाह गर्न बैंकहरुलाई पनि सहज भएको देखिन्छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया