Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया क्यापिटलको बम्पर योजना

एनआईसी एसिया क्यापिटलको बम्पर योजना


काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेडले सात वटा बम्पर योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार कारोबार सञ्चालनको सात वर्ष पूरा गरेको अवसरमा सात वटा बम्पर योजना सार्वजनिक गरिएको हो ।

क्यापिटल स्थापना भएको छोटो अवधिमै एक सक्षम, प्रगतिशील र गतिशील संस्थाको छवि बनाई सर्वसाधारणहरूको माझमा पहिलो रोजाइको क्यापिटल बन्न सफल भएको कम्पनीको भनाइ छ । आधुनिक प्रविधिको अनुशरण गरी सर्वसुलभरूपमा मर्चेन्ट बैंकिङ सेवा उपलब्ध गराई यस क्षेत्रमा नेपालको एक नेतृत्वदायी मर्चेन्ट बैंकिङ कम्पनीको भूमिका निभाउन सक्षम भई समग्र व्यवसाय उत्साह जनकरूपमा विस्तार गर्न सफल भएको दाबी पनि कम्पनीले गरेको छ ।

कम्पनीका अनुसार क्यापिटलले सञ्चालनमा आएको छोटो अवधिमा नै आफ्नो सेयरधनीलाई एक सय ८७ दशमलव ४८ प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ । क्यापिटलले सातौँ वर्ष पूरा गर्दै गर्दा निक्षेप सदस्य सेवाअन्तर्गत सात लाख २६ हजारभन्दा बढी डिम्याट खाता खोल्न सफल भएको छ । सामूहिक लगानी कोष सेवाअन्तर्गत एउटा खुलामुखी र पाँच वटा बन्दमुखी योजनामार्फत पाँच अर्ब ६० करोड रुपैयाँभन्दा बढी रकम परिचालन गरिरहेको छ भने पोर्टफोलियो व्यवस्थापन सेवाअन्तर्गत छ सय ७५ जनाभन्दा बढी ग्राहकबाट दुई अर्बभन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको छ । क्यापिटलले मर्चेन्ट बैंकिङ सेवाअन्तर्गत समेत छोटो अवधिमा नै २२ वटा कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ भने निष्काशन तथा बिक्री प्रबन्ध सेवाअन्तर्गत हालसम्म १६ वटा कम्पनीको प्राथमिक सेयर निष्काशन, दुई वटा बैंकको डिबेन्चर निष्काशन, चार वटा कम्पनीको हकप्रद सेयर निष्काशन र ३० वटाभन्दा बढी कम्पनीको संस्थापक समूहको सेयर बोलकबोलमार्फत बिक्री गर्ने कार्य सम्पन्न गरिसकेको छ । साथै, क्यापिटलको आईडिया टु आईपीओ सेवाअन्तर्गत २२ वटा कम्पनीसँग दुई पक्षीय सम्झौता सम्पन्न गरी पाँच वटा प्रालि कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गराई आईपीओ निष्काशनको कार्य समेत सम्पन्न गर्न सफल भइसकेको छ ।

क्यापिटलको सातौँ वार्षिक उत्सवको अवसरमा क्यापिटलबाट प्रदान गरिरहेको सात वटा प्रमुख सेवाहरूमा सातौँ वार्षिकोत्सवः सातै दिन, सातै हप्ता, सातै सेवामा सातै अफर’ योजना सार्वजनिक गरेको छ । उक्त योजनाहरू फाल्गुण २२ गतेदेखि मिति २०८१ वैशाख ११ गतेसम्म मात्र सञ्चालनमा रहने कम्पनीको भनाइ छ ।

यस्ता छन् कम्पनीका सात वटा बम्पर अफरहरू लगानी व्यवस्थापन सेवाअन्तर्गत : लगानी व्यवस्थापन सेवाअन्तर्गत ग्राहकलाई न्यून लागतमा उच्च कोटीको सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ क्यापिटलको सातौँ वार्षिकोत्सवको अवसरमा वार्षिक लगानी व्यवस्थापन शुल्क मात्र सात रुपैयाँ लिई एक वर्षका लागि लगानी व्यवस्थापन सेवा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । उक्त योजना मिति २०८१ वैशाख ११ गतेसम्म मात्र सञ्चालनमा रहनेछ ।

एनआईसी एसिया म्युचुअल फन्ड सेवाअन्तर्गत : एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित पहिलो खुलामुखी योजना ‘एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड’को सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी)मा मिति २०८० फाल्गुन २२ देखि मिति २०८१ वैशाख ११ गतेसम्म सहभागी हुने इकाईधनीहरूमध्ये सात जना इकाईधनीहरूले पाँच सय रुपैयाँ बराबरको क्यापिटलको तर्फबाट एसआईपी रजिस्ट्रर गरी पहिलो किस्ता भुक्तानी गरेका इकाईधनीलाई एसआईपीको सुविधा उपलब्ध गराइनेछ ।

संस्थागत परामर्श सेवाअन्तर्गत : एनआईसी एसिया क्यापिटलले संस्थागत परामर्श सेवाअन्तर्गत आईडिया टु आईपीओ सेवा सञ्चालन गरिरहेको छ । क्यापिटलको सातौँ वार्षिकोत्सवको अवसरमा मिति २०८० फाल्गुण २२ गतेदेखि मिति २०८१ वैशाख ११ गतेसम्म आबद्ध हुने पहिलो सात वटा कम्पनीहरूलाई मात्र सात रुपैयाँमा आईडिया टु आईपीओ सेवाअन्तर्गत आईपीओ जारी गर्ने तहसम्म पु¥याउनका लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउने ।

डिम्याट खाता सेवा: हाल क्यापिटलले ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानअन्तर्गत ग्राहकलाई विभिन्न छुटसहित उत्कृष्ट सेवाहरू प्रदान गर्दै आइरहेको छ । क्यापिटलको सातौँ वार्षिकोत्सवको अवसरमा आजको मितिले एक हप्ताको लागि मात्र सात सय रुपैयाँमा लाइफ टाइम डिम्याट नवीकरण (एलटीडीआर) योजना सार्वजनिक गरेको छ ।

मेरो सेयर सेवा: हाल क्यापिटलले मेरो सेयर खाता सुविधा अनलाइन मध्यमबाट सहज र सर्वसुलभ तरिकाबाट उपलब्ध गराउँदै आइरहेको छ । क्यापिटलको सातौँ वार्षिकोत्सवको अवसरमा आजको मितिले एक हप्तासम्मको लागि मात्र सात सय रुपैयाँमा लाइफ टाइम मेरो सेयर नवीकरण (एलटीएमआर) योजना सार्वजनिक गरेको छ ।

निःशुल्क डिम्याट खाता सेवा: क्यापिटलको सातौँ वार्षिकोत्सवको अवसरमा एनआईसी एसिया क्यापिटल तथा क्यापिटलको शाखा कार्यालयहरू र अनलाइनमार्फत मिति २०८१ असार मसान्तसम्म निःशुल्क डिम्याट खाता खोलिदिने ।

सेयर रजिस्ट्रार सेवाअन्तर्गत : हाल क्यापिटलले धितोपत्रको दोस्रो बजारमा सूचीकृत नभएका पब्लिक कम्पनी तथा प्राइभेट कम्पनीहरूलाई समेत सेयर रजिस्ट्रारसम्बन्धी सेवा उपलब्ध गराइरहेको छ । क्यापिटलको सातौँ वार्षिकोत्सवको अवसरमा क्यापिटलले मात्र सात सय रुपैयाँमा पहिलो एउटा कम्पनीलाई ओटीसी मार्केटमा सूचीकरण गरिदिने भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया