Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयनेम्वाङप्रति श्रद्धाञ्जलि

नेम्वाङप्रति श्रद्धाञ्जलि


काठमाडौं । संविधानसभाका अध्यक्ष एवम् नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट मंगलबार राति ३ बजे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको छ । अस्पतालतका अनुसार राति एक बजेर ५० मिनेट जाँदा उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर अस्पतालमा पु-याउँदा उनको शरीरमा रक्तसञ्चार, मुटु, नाडी, चेतना कुनै पनि चलेको थिएन । तर पनि अस्पतालले ती अंगहरू चलाउने प्रयास गरेको थियो । कुनै पनि प्रयास सफल नभएपछि अस्पतालले राति ३ बजे मृत्यु भएको घोषणा गरेको थियो । नेम्वाङ एमालेभित्र मात्र होइन सबै पार्टीका सबै नेताले मान्ने नेतामध्येका एक हुन् । विसं २०६२/०६३ को जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभाको सभामुख पनि उनी सर्वसम्मतरूपमा चयन भएका थिए भने दुईवटै संविधानसभाबाट निर्वाचित भएपछि उनी संविधानसभा अध्यक्ष भए । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि उनको प्रयासलाई कसैले नजरअन्दाज गर्न सकेन । किनकि एउटा संविधानसभा अध्यक्षले संविधान जारी गर्नका लागि जुन प्रयास गर्नुपर्ने थियो त्यसमा उनले कुनै कसर बाँकी राखेका थिएनन् । त्यो कुरा अहिले पनि राजनीतिक दलका नेताहरूले स्वीकार्छन् ।

दोस्रो संविधानसभामा राजनीतिक दलहरूबीच समीकरण फेरिएको परिणाम आयो । अर्थात् जातीय र क्षेत्रीय प्रदेश माग गर्नेहरू दोस्रो संविधानसभाको निर्वाचनमा बढारिए । उनीहरूको मतले संविधान निर्माण रोक्न सक्ने हैसियत देखिएन । जुन कुराको संकेत संविधानसभाको दोस्रो निर्वाचन अगाडि नै सभाध्यक्ष नेम्वाङले माओवादी र मधेशवादी दलका नेताहरूलाई गराएका थिए । उनले भनेको जस्तै परिणाम दोस्रो संविधानसभाबाट आयो । अर्थात् काँग्रेस र एमाले संविधासभामा पुनः शक्तिशाली भएर आए । उनीहरू जात र क्षेत्रको आधारमा प्रदेशको नाम राख्ने पक्षमा थिएनन् । पहिलो संविधानसभाबाट पहिलो बनेको माओवादी दोस्रो संविधानसभाबाट तेस्रो शक्तिको रूपमा देखाप-यो । त्यही भएर उसले जातीयरूपमा राज्य दिने कुरामा आफूलाई परिवर्तन ग-यो र संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह ग-यो ।

जातीय पहिचानको कुरा छाडेर संविधान जारी गर्न माओवादी जति लचक भयो त्योभन्दा लचक भएर जसरी पनि संविधान जारी गर्ने पक्षमा नेम्वाङले भूमिका निर्वाह गरे । कानुनी पृष्ठभूमिका नेम्वाङले संविधान जारी गर्ने बेलामा धेरै कानुनी पक्ष मिलाए । अहिले पनि शान्ति प्रक्रिया टुंगोमा पु-याउने विषयमा नेम्वाङले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका थिए । शान्ति प्रक्रियालाई टुंगोमा पु-याउन भूमिका खेल्न नेम्वाङलाई प्रमुख दलहरू नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायत अन्य साना दलहरूले पनि विश्वास गरेका थिए । शान्ति प्रक्रियाका धेरै विषयलाई टुङ्ग्याउन भूमिका खेलेका नेम्वाङले बाँकी काम पनि चाँडै पूरा गर्ने अपेक्षा धेरैले गरेका थिए । तर त्यो पूरा हुन पाएन । संविधानसभामा मात्र होइन पुनःस्थापित र पछिको प्रतिनिधिसभामा पनि उनको सन्तुलित भूमिकाको कारण उनलाई सबैजसो शीर्ष नेताहरूले स्वीकार गर्ने गरेका थिए । उनीमाथि कसैले पनि आर्थिक, राजनीतिक, नैतिक र चारित्रिकरूपमा प्रश्न उठाउन सकेनन् । त्यो नै उनको जीवनको सबैभन्दा ठूलो सफलता हो । उनले कहिल्यै जातीयताको नाममा अतिवादको पक्षपोषण गरेनन् ।

जतिसुकै कठिन परिस्थितिमा पनि उनले आफूलाई सम्हालेर अगाडि बढाए । उनलाई कतिपयले आफ्नै जातिमाथि अन्याय गरेको भनेर आरोपसमेत लगाए । उनलाई कुनै धर्मको पक्षपोषण गरेको भनेर गम्भीर आरोप पनि लगाउने काम भयो । उनी जातिवादी मानसिकताभन्दा जहिल्यै माथि बसेर नेतृत्व गरिरहे, कहिल्यै विचलित भएनन् । समाजमा सबैको प्रिय बन्न केही काम गर्नुहुन्न भन्ने मानसिकता छ तर नेम्वाङले काम गरेरै सबैको प्रिय पात्र बने । काम गरेपछि एउटा पक्षको प्रिय पात्र भए पनि अर्को पक्षको दुष्मन भइन्छ भन्ने सोचलाई व्यावहारिकरूपमै खारेज गरिदिए । राजनीतिक परिवर्तनलाई संस्थागत गर्नेदेखि लिएर संविधान जारी गर्ने र शान्ति प्रक्रिया टुङ्गोमा पु-याउन उनले जुन भूमिका निर्वाह गरे त्यसले उनको उचाइ बढाउने काम ग-यो । काम गरिरहँदा उनी सबै पक्षको प्रिय पात्र बने । सरल स्वभावका नेम्वाङको अभाव नेपाली राजनीतिले आगामी दिनमा धेरैपटक महसुस गर्ने संकेत उनको निधनपछि आएका प्रतिक्रियाले देखाएको छ । स्वच्छ छविका नेताको निधनले सबै क्षेत्रमा अभावको महसुस गराउने छ । तर उनी अन्तिम सत्यमा पुगिसकेका छन् । अर्थात्, जन्मपछिको अन्तिम सत्य मृत्युवरण गरिसकेका छन् । नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि ! नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना !


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया