काठमाडौं । पछिल्लो समय सर्वसाधारण नागरिक सर्वाधिक ठगिएको लुटिएको क्षेत्र सहकारी हो । यसमा बचतकर्ताहरू सामान्य नागरिक हुन् । उनले बचत गर्ने रकम घर खर्चबाट बचेको होइन, घर खर्च गर्नबाट बचाएको अर्थात् गाँस काटेर जोगाएको रकम हो । त्यसकारण सहकारीका बचतकर्ताहरू यो संस्थामार्फत सपना देख्ने र त्यसलाई सम्झिइरहने वर्गमा पर्छन् भनी विज्ञहरूले बताउने गर्छन् । यस्ता व्यक्ति परिवारको रकम ठगियो भने त्यो सामान्य हुँदै होइन । यस्ता व्यक्तिको रकम हिनामिना गर्नेहरू सामान्य अपराधी होइनन् भन्ने मान्यता छ । यस्ता ठगीका कारण कतिपय बालबालिकाको स्कूल नै छुटेको छ भने कतिपयले आफूले यस्ता संस्थामा राखेको रकम झिक्न नपाएर उपचारमा बेखर्ची भई प्राण नै गुमाएका उदाहरण पनि छन् । सहकारी भनेका जनतासम्म पुग्ने सबैभन्दा तल्लो तहको निकाय हो । त्यसकारण तिनको अनुगमन पनि त्यहीरूपले हुनुपर्छ भनिएको हो । एउटा अध्ययनले के देखाएको छ भने सहकारीबाट भएको ठगीका बारेमा उचित दण्डको पनि व्यवस्था छैन ।
यी संस्थामार्फत ठगी र लूट अति भएपछि सरकारले केही पहिले यसको अध्ययन गर्न र उचित सुझाव दिन भनी कार्यदल बनाएको थियो । त्यसैले भर्खरै आफ्नो सुझाव दिएको छ । यसलाई सरकारले कार्यान्वयनमा ल्याओस् भन्ने अपेक्षा हो । आजसम्मको उदाहरण के छ भने यस्ता कार्यदल हुन् कि आयोग हुन्, तिनले दिएका प्रतिवेदनहरू न सार्वजनिक हुन्छन् न उनका सुझाव कार्यान्वयनमा नै आउँछन् । यसले सामान्यतया सरकार ठगी गर्नेहरूकै पक्षमा उभिएको जस्तो देखाउँछ । त्यसकारण पनि पीडितहरू सरकारलाई खबरदारी गर्न सडकमा नै उत्रन बाध्य भएका छन् । यो कार्यदल पनि सहकारीमा बचतकर्ताहरूको रकम सञ्चालकहरूले दुरुपयोग गरेर बचत फिर्ता माग्दा नदिएपछि पीडितहरू सडकमा नै उत्रिएका थिए । एक/डेढ हप्ताको लामो सडक आन्दोलनपछि सरकारले बाध्य भएर कार्यदल गठन गरेको थियो । यसको प्रतिवेदन आएको छ । त्यसमा विगतको भन्दा केही भिन्न र सञ्चालहकहरू दण्डित हुने खालका सुझावहरू पनि भेटिन्छ । त्यसकारण यो प्रतिवेदन पनि विगतकोजस्तै भित्रभित्रै गायब पारिन्छ कि भन्ने डर पीडितहरूमा रहेको पाइन्छ । सरकाले यो प्रतिवेदन सार्वजनिक गरेर त्यसमा दिइएका सुझावलाई हुबहुरूपमा कार्यान्वयनमा ल्याओस् भन्ने माग भइरहेको छ ।
यो कार्यदलले जसरी भए पनि बचतकर्ताको रकम फिर्ता गराउन सरकारलाई सुझाव दिएको छ । त्यसका लागि सहकारी संस्थाहरूको स्थिर सम्पत्ति र अन्यत्र गरिएका लगानीलाई स्रोत मानिएको छ । त्यसपछि तिनका सञ्चालकको स्वामित्वमा रहेको सम्पत्तिसमेत बेचबिखन गर्न सुझाइएको छ ।
उल्लेखित प्रकारले सहकारीमा रकम जम्मा गर्नेहरूको बचत फिर्ता गरियो भने या अरूका लागि पनि एउटा पाठ बन्नेछ । सहकारीका सञ्चालकहरूले अहिलेसम्म ती सहकारी डुबे डुबाइएबापत कुनै दण्ड ब्यहोर्नुपरेको पाइँदैन । त्यसका एक/दुईजना बैकिङ कसुरमा जेल पर्लान् तर बचतकर्ताहरू त ठगिएका ठगिएकै हुने भए । अहिलेसम्म त्यस्तै भइरहेको देखिन्छ । यही कारणले पनि सहकारीमा कैफियत गर्नेक्रम झन्झन् बढ्दै गएको हुनुपर्छ । यो ठाउँमा सरकारले गम्भीरतापूर्वक कारबाहीको प्रक्रिया चलाउनु आवश्यक छ । कतिपय अवस्थामा दण्डसजाय कम भयो भने पनि अपराध बढ्छन् । सहकारीमा जम्मा भएको रकम अपचलन गर्ने क्रम तीव्ररूपले विस्तार भइरहेको छ । त्यसलाई पनि अविलम्ब रोक्न आवश्यक छ । सहकारी ठगीको रकम खर्बको हाराहारीमा पुगिसकेकोतर्फ पनि सरकारले ध्यान देओस् ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया