Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयश्रमको शक्ति र स्रोत पलायन हुनबाट रोकियोस्

श्रमको शक्ति र स्रोत पलायन हुनबाट रोकियोस्


काठमाडौं । यो पटकको दशैँमा युवाहरूको रोजगारीका लागि विदेश यात्रा कति दुःखद् भयो भन्ने देखाउन केही दृश्यहरू प्रकट भए । खासगरी दशैँको मुखमै इजरायलमा भएको बमबारीका कारण १० जना नेपालीको मृत्यु भयो । दशैँभरि र देशैभरि त्यो घटनाले मान्छेका मनमा पीडा दिइरह्यो ।

यस्तै, असोज १८ मामृतकको लास ल्याउने र अन्तिम संस्कार गर्ने काम भयो । ती विद्यार्थी थिए तर उनीहरूको उद्देश्य पढ्नु र कमाउनु नै थियो । त्यसैले यसलाई पनि वैदेशिक रोजगारीसँग नै जोडियो । यो चरणमा करिब दुई सयको संख्या त्यहाँ गएको थियो । त्यसबेलासम्म इजरायलमा रहेका नेपालीहरूको संख्या त्यहाँ करिब पाँच हजार रहेको अनुमान छ, जसमध्ये करिब तीन सयको संख्या भने नेपाल फर्किएको स्थिति छ । यस्ता समाचारहरू आइरहेकै बेला यता चाडबाडकै समयमा नेपाली युवाको विदेश जाने क्रम रोकिएन । विदेश गएर आर्जन गर्नुपर्ने बाध्यता कुन हदसम्म छ भन्ने यी घटनाहरूले पनि बताउँछन् ।

यता नेपालमा महान् चाड दशैँमा मात्रै केन्द्रीय राजधानीबाट करिब १० हजारको संख्यामा दशँै मान्न मोफसल गएका भन्ने समाचार आइरहेकै बेला त्यही समयमा त्यही महान् चाड दशैँ मनाउन छाडेर ठूलो संख्यामा नेपाली युवाहरू विदेशिएको पाइयो । चाडबाडको समयमा परिवारका सदस्यहरूसँगै बस्ने रहर हुँदाहुँदै पारिवारिक विछोड सहेर विदेशिनुपरेको अवस्था सामान्य होइन । त्यसका दृश्यहरू विमानस्थलमा बगेका आँशुबाट पनि प्रकट भइरहेका छन् । सरकारी तथ्याङ्कले नै यो छोटो समय अर्थात् दशैँको समयमा नै ठूलो संख्या विदेशिएको बताएको छ । सम्बन्धित निकायका अनुसार दशैअघिको महिनामा मात्रै ५० हजारभन्दा बढीको संख्याले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए भने कात्तिकको प्रारम्भमा यो संख्या झनै बढेको छ । सम्बन्धित विभागमा रहेको विवरणअनुसार चालू आवको पहिलो त्रैमासमा श्रम स्वीकृति लिनेको संख्या डेढ लाखभन्दा बढी पुगेको छ ।

गएको साउनदेखि असोज मसान्तसम्म एक लाख ४१ हजार चार सय ४५ जना पुरुष र २१ हजार दुई सय ४९ जना महिला गरी कुल एक लाख ६२ हजार छ सय ९४ जनाले श्रम स्वीकृति लिएका छन् । बितेका तीन महिनामध्ये दशैँअघिको महिना असोजमा श्रम स्वीकृति लिनेको संख्या सबैभन्दा धेरै रहेको पाइयो  । यसले नेपाली युवामा दशँैभन्दा वैदेशिक रोजगारीको महत्व बढी रहेको बुझाउँछ ।

विदेश जानेको महिनावारी विवरण हेरियो भने झनै दुःखलाग्दो चित्र प्रकट हुन्छ । चालू आवको साउनमा ४७ हजार आठ सय ५० जना पुरुष र सात हजार सात सय २५ जना महिला गरी कुल ५५ हजार पाँच सय ७५ जना, भदौमा ४४ हजार एक सय ९७ जना पुरुष र छ हजार छ सय ८७ जना महिला गरी कुल ५० हजार आठ सय ८४ जना र असोजमा ४९ हजार तीन सय ९८ जना पुरुष र छ हजार आठ सय ३७ जना महिला गरी कुल ५६ हजार दुई सय ३५ जनाले श्रम स्वीकृति लिएका छन् ।

श्रम स्वीकृति लिएका वा पाएकाहरूलाई विदेश गएका संख्याका रूपमा मानिन्छ । यसको अर्थ हो, देशबाट उच्च तहको श्रम गर्ने जनशक्ति श्रमको प्रमुख स्रोतमध्ये महिनाको आधा लाखको दरले बाहिरिइरहेको छ । यस्तो स्थितिमा राज्यले विशेष कार्यक्रम ल्याएर श्रम पलायनलाई रोक्नुपर्छ । सम्बन्धित पक्षको ध्यान जाओस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया