काठमाडौं । ७० को दशकदेखि नै कायम रहेको पुँजीगत खर्च अत्यन्त न्यून हुने रोग या ८० को दशकमा पनि कायम रहनेजस्तो देखिन थालेको छ । विगत वर्षहरूमा बजेट घोषणा हुँदा पुँजीगत खर्च बढाउने भनी प्रतिबद्धता जनाइँदै आउने गरिएको थियो । त्यसबीचको समयमा पनि अर्थमन्त्रीले यस्तो खर्च बढाउन निर्देशन वा छलफल चलाइरहेको अवस्था देखिन्थ्यो । यसपटक त त्यस्तो पनि गरेको पाइएन । यता बजेटको आकार बढ्दैजाँदा पुँजीगत खर्चको मात्रा भने घट्ने गरेको प्रत्येक पछिल्ला बजेटमा देखिन्थ्यो । चालू आर्थिक वर्षको बजेटमा पनि अरूको तुलनामा पुँजीगत खर्चको अंक सानो छ । त्यसमध्येबाट पनि खर्च हुन सकेन भने खासगरी देशका पूर्वाधार विकास निर्माणको अवस्था कति दयनीय रहेको छ भन्ने बुझ्न सकिन्छ । ८० को दशक प्रारम्भ भएको बजेटको पहिलो चौमासिकमा विकास बजेटको खर्च ३० अर्ब पनि पुग्न सकेको देखिएन ।
यता सरकारी आम्दानी जसरी घटिरहेको छ त्यसको सबैभन्दा बढी मार पनि पुँजीगत खर्चले नै व्यहोरिरहनुपरेको देखिन्छ । चालू आर्थिक वर्ष २०८०÷८१ को पहिलो चार महिनामा सरकारी आम्दानीभन्दा खर्च खर्बकै अंकमा हुने गरी बढेको देखियो । यसले पनि सरकारको ध्यान पुँजीगत खर्च न्यून हँुदै गएकोतर्फ नगएको हुनुपर्छ । सरकारी खर्च र आम्दानीको हिसाब राख्ने निकाय महालेखा नियन्त्रकको कार्यालयको पछिल्लो विवरणअनुसार समीक्षा अवधिमा दुई खर्ब ९५ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ आम्दानी भएको छ भने कुल खर्चको अंक भने तीन खर्ब ५५ अर्ब ६३ करोड ४० लाख रुपैयाँ पुगेको छ । सत्तरीको दशकमा आम्दानी र खर्च करिबकरिब बराबर नै हुने गरेकोमा ८० को दशकको प्रारम्भ भने पहिलो चौमासिकमा नै करिवकरिव एक खर्ब नै बढी हुने गरी भएको देखिन्छ । यो संकेत राम्रो होइन । बितेको वर्ष आयात व्यापारका केही वस्तुमा प्रतिबन्धलगाएतका कारण आम्दानी घटेको बताइएको थियो । चालू वर्ष त्यस्तो केही नहुँदा पनि आम्दानी र खर्चमा यति ठूलो अन्तर आउनुले संकेत राम्रो देखाउँदैन । त्यसमाथि यता सावाँ ब्याजको अंक बढिरहेको अवस्था छ । चालू वर्षको बजेटमा नै कुल पुँजीगत खर्चभन्दा ऋणको सावाँ ब्याज तिर्न व्यवस्था भएको रकमको अंक ठूलो थियो । मजबुत अर्थतन्त्रका लागि यो अर्को नराम्रो संकेत हो ।
८० को दशक प्रारम्भ भएको सरकारले चालू आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट घोषणा गरेको थियो । सोहीमध्येबाट कात्तिक मसान्तसम्मको खर्चको अवस्थामा चालूतर्फ २३ दशमलव ७५, पुँजीगततर्फ नौ दशमलव ९३ र वित्तीय व्यवस्थातर्फ १७ दशमलव ७२ प्रतिशत खर्च भएको अवस्था छ । यसमा पुँजीगततर्फको खर्च विगतको भन्दा घट्दै आएको र वित्तीय व्यवस्था अर्थात् श्रृणको सावाँ ब्याजको रकम भने बढ्दै गएको देखिन्छ । पुँजीगततर्फ करिब १० प्रतिशत खर्च हँुदा सावाँब्याजको रकम भने १८ प्रतिशतको छेउछाउमा पुगेको छ । यो भनेको पुँजीगत खर्च बढाउनेतर्फ सरकाले खासै ध्यान नदिएको अवस्था हो । १७ अर्बको कुल बजेटमा पुँजीगत शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख विनियोजन भएको थियो भने कात्तिक मसान्तसम्ममा २९ अर्ब ९८ करोड ९४ लाख बराबर मात्रै खर्च भएको देखियो । वित्तीय व्यवस्थापनमा भने तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख विनियोजन भएकोमा हालसम्म ५४ अर्ब ४६ करोड ९९ लाख खर्च भएको छ । खासगरी विकासका सन्दर्भमा यी राम्रा संकेत होइनन् ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
- रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया