Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयजाजरकोट भूकम्पको त्रासदीपूर्ण महिना दिन

जाजरकोट भूकम्पको त्रासदीपूर्ण महिना दिन


काठमाडौं । जाजरकोट भूकम्पले चिनिएको कात्तिक १७ जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पको एक महिना पुगेको छ । भूकम्पको महिनासम्ममा त्यसबेला जोगिएका, जोगिएर पालमा बसेका पीडितहरूको धमाधम ज्यान जान थालेको छ । यस बेलासम्म बीसको हाराहारीमा ज्यान गुमिसकेको छ भन्ने समाचारहरू आइरहेका छन् । यसरी ज्यान गुमाउनेहरू घटनामा परेर घाइते भएका वा उपचारमा गरिरहेकाहरू होइनन् । त्यसबेला भूकम्पले घर भत्काएर ज्यान गएकाहरूको सङ्ख्या एक सय ५३ थियो । तीमध्ये एकजना घाइतेको पछि उपचार गर्दागर्दै मृत्यु भएर यो सङ्ख्या एक सय ५४ भयो । यहाँ उल्लेख भएकाको सङ्ख्या त्यसबेला संयोगले बाँचेकामा पर्छन् । उनको शरीरमा चोटपटक लागेको थिएन, घाइते पनि होइनन् । तर उचित बासस्थान र उचित खानपानको अभावमा उनको ज्यान गएको हो । मृतकहरूमा सुत्केरी महिला, वृद्धवृद्धा र महिना दिनको हाराहारीका शिशु रहेको बताइएको छ । स्थलगत अध्ययनबाट फर्किएकाहरूका अनुसार तिनलाई चिसो शीतबाट जोगाउन सकिएको भए जीवन जोगिने थियो । त्यसमा चुकिएको अवस्था छ । पछि मृत्यु भएकाहरूको सङ्ख्या हेर्दा सरदरमा दुई दिनमा एकजनाको ज्यान गएको देखिन्छ । यो निकै ठूलो क्षति हो ।

यतिबेला जाजरकोट र रुकुम पश्चिममा पुगेको क्षतिको आकलन नै भइसकेको छैन । करिब ६२ हजार घर भत्किएको प्रारम्भिक अध्ययन हो । ठूलो भूकम्पपछि निरन्तररूपमा पराकम्पनहरू गइरहेका कारण क्षति पुगेको आफ्ना घरमा पीडितहरू आवश्यक सामग्री लिनसमेत प्रवेश गर्न सकिरहेका छैनन् भन्ने रिपोर्ट आइरहेको छ । त्यसकारण पनि यहाँका बासिन्दा घर बाहिर अरूले दिएको सहारामा त्रिपालमुनि नै बस्न बाध्य छन् । दुई जिल्लामा गरेर महिना दिनको हाराहारीमा अहिलेसम्म ज्यान गएको घटना त्यहाँका त्रिपालमुनिकै दृश्य हो ।

यसमा जाजरकोटमा १५ र रुकुम पश्चिममा पाँच जनाको ज्यान गएको बताइएको छ । भूकम्प लगत्तैपछि सबैतिरबाट सरकारको ध्यान भूकम्पबाट जोगिएकाहरूको जीवन अरूकारणबाट जोगाउनेतर्फ जाओस् भन्ने थियो । उल्लेखित सङ्ख्याको हतहतिले त्यसमा चुकिएको हो कि भन्ने देखाउँछ । जस्तो आठ कात्तिकमा प्रादेशिक अस्पताल सुर्खेतमा सुत्केरी भएकी एक महिला डिस्चार्ज भएर घर फर्किएको केही दिनमा उनको मृत्यु भयो । शीतमा ओत नदिने पालमुनिको बसाइँले उनको शरीरलाई न्यानो पुगेन भन्ने भनाइ आएको छ । उनी सुत्केरी भएको एक महिनासम्म प्रदेश अस्पतालमै थिइन् । अस्पतालले डिस्चार्ज गरेपछि उनलाई घर ल्याइएको थियो । तर चाहिने न्यानो दिन सकिएन । फलस्वरूप त्यही दिन राति उनको मृत्यु भयो । यस्ता केही विशेष परिस्थितिलाई आँकलन गरेर सोअनुसार राहतको व्यवस्थापन गरिएको भए अहिले बितिसेको धेरैको जीवन जोगिने अवस्था थियो ।

धेरैपटक भनिसकिएको छ, जाजरकोटको यो भूकम्पप्रति देशकै ध्यान गएको थियो । क्षति भएका क्षेत्र पनि त्यति विस्तारित होइनन् । ७७ मध्ये ७५ जिल्ला र प्रायः सबै स्थानीय सरकारको यसतर्फ ध्यान गएको थियो । त्यसबेला अरू छवटा प्रदेशले पनि राहत पठाएका समाचार आइरहेका हुन् । प्रधानमन्त्रीबाट भूकम्प गएको दिन झिसमिसेमै त्यस क्षेत्रको अवलोकन भएको थियो । त्यसै हप्ता राष्ट्रपतिले विदेश भ्रमण रद्द गरेर यी क्षेत्रको अवस्थाको अध्ययन भयो । यता प्रधानमन्त्री राहत कोषमा पनि धेरै रकम जम्मा भए । छिमेकी देशहरूले पनि मन खुलाएरै सहयोग गरेका छन् । तर त्यसको उचित व्यवस्थापन हुन नसकेको अवस्था प्रकट भइरहेको देखिन्छ । भूकम्पपीडितले एक महिना पुग्न लाग्दा पनि सरकारले दिने पहिलो किस्ताबापतको रकम नपाएको समाचार आइरहेका छन् । यसले स्थानीय पीडितलाई आफैँ अस्थाई बसोबास मिलाउन समस्या परेको बुझाउँछ । स्थानीय सरकारको नेतृत्वमा यस्तो राहत यथाशीघ्र उपलव्ध गराएर थप क्षति हुनबाट रोकौँ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया