Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयअर्थमा आएको सुधार प्रतिविम्बित हुन बाँकी

अर्थमा आएको सुधार प्रतिविम्बित हुन बाँकी


काठमाडौं । चालू वर्षको प्रारम्भमा निकै संकटमा रहेको अर्थतन्त्र वर्षको उतरार्धतर्फ लाग्दा भने सकारात्मक अवस्थामा प्रकट हुन थालेको छ । त्यसै पनि कुनै कुरा संकटापन्न रहेको भन्ने सन्देशले नकारात्मक अवस्था पैदा गर्छ भने सुधार भएको भन्ने कुराले सकारात्मक भाव ल्याउँछ । चालू आर्थिक वर्षको अर्धवार्षिक समयबाट उकालो लाग्दा आर्थिक अवस्था मजबुत बन्दै गएका सूचनाहरू प्रकट हुन थाले । यद्यपि, सरकारी खर्च, आम्दानी र औद्योगिक क्षेत्रका अवस्था भने उस्तै छन् । उद्योग बन्द हुने छाटका छैनन् भने बजारको अवस्था पनि उस्तै छ । यद्यपि नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा भने बजारमा महँगी घटेको देखिन्छ । यदि यो सत्य हो भने त्यसको प्रभाव बजारमा प्रतिविम्बित हुन बाँकी रहेको भन्नुपर्छ ।

अर्थतन्त्रमा सुधार आउँदा त्यसको समुचित उपभोग गर्न पाइएन भने त्यस्तो सुधारको अर्थ रहँदैन । त्यसै पनि नेपाली बजारमा माफियाहरूको प्रभाव अत्यधिक रहने गरेको छ । त्यसले महँगी त स–साना निहुँमा पनि ह्वात्तै बढाउँछ तर सुधार आएको अवस्थामा त्यस्तो बढेको मूल्य हतपत घट्दैैन । बजारमा राज्यको हस्तक्षेप हुन नसक्दाको परिणाम हो यो ।

राष्ट्र बैंकले पछिल्लो समय प्रक्षेपण गरेको विवरण अर्थात् अर्थतन्त्रमा सुधार आएका भनेर देखाउन मुख्य सूचकहरूमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति चार दशमलव ९५ प्रतिशत रहनु, आयात तीन दशमलव चार, निर्यात छ दशमलव एक र व्यापारघाटा तीन दशमलव एक प्रतिशतले घट्नु, विप्रेषण आप्रवाह नेपाली रूपैयाँमा २७ दशमलव छ प्रतिशतले बढ्नु, शोधनान्तर स्थिति दुई खर्ब १० अर्ब ५९ करोडले बचतमा रहनु, कुल विदेशी विनिमय सञ्चिति १७ खर्ब ६७ अर्ब चार करोड पुग्नु, सरकारको खर्च चार खर्ब ५३ अर्ब र राजस्व परिचालन तीन खर्ब ६३ अर्ब ४३ करोड पुग्नु, विस्तृत मुद्राप्रदाय चार दशमलव सात प्रतिशतले बढ्नु, बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन चार दशमलव छ प्रतिशतले बढ्नु, रेमिट्यान्ससँगै विदेशी मुद्राको सञ्चिति बढ्नु र शोधनान्तर दुई खर्ब १० अर्बले बचतमा रहनु आदि । यी सबै पक्षहरू अर्थतन्त्र सुधारतर्फ लागेका नकारात्मक अवस्थालाई चिर्दै सकारात्मक दिशातर्फ लागेका अवस्था हुन् । उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति चार दशमलव ९५ प्रतिशत अर्थात् पाँच प्रतिशतको हाराहारीमा कायम रहनु राम्रो पक्ष हो । करिब आठ प्रतिशतको मुद्रास्फीति दरबाट घटेर चार दशमलव ९५ प्रतिशतमा झर्नु भनेको आकाशिँदो महँगी नियन्त्रणमा आउनु हो । तर यो कुरा अहिलेसम्म राष्ट्र बैकको तथ्याङ्कमा मात्रै सीमित रहेको अवस्था छ । बजारमा त्यसले कुनै प्रभाव पारेको देखिँदैन । यसले तथ्यांकमाथि नै अविश्वास खडा गर्ने अवस्था बनाउने खतरा आइपर्न सक्छ ।

यस्तै, बेलामा हो सरकारले आफ्ना अनुगमनकारी निकायलाई सक्रिय बनाएर बजारमा व्यापक तहबाट हस्तक्षेप गरिनु । सबै कुरामा सुधार आएका छन् भने बजारचाहिँ किन अनियन्त्रित छ भन्ने प्रश्नको जवाफ सरकारले दिनुपर्छ । अर्थतन्त्र सुधारमा आएको कुरा त बताइयो नै तर बजारमा खरिद बिक्रीको अवस्था किन दिन प्रतिदिन कमजोर बन्दै गएको छ भन्ने प्रश्नले उत्तर पाउनुपर्छ । बैंकको प्रतिवेदनको प्रारम्भ नै उपभोक्ता मूल्यबाट भएको छ । प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाको अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति धेरै घटेको देखाइएको छ । अबको चुनौती हो त्यसलाई उपभोक्ताको पहुँचमा पु¥याउनु । त्यसो भएन भने राज्यका तथ्याङ्कसँग जनजीवन र जीविका जोडिँदैन । सम्बन्धित निकायहरूको ध्यान जाओस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया