Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसङ्कटका बेला काम नलाग्ने सरकारको के काम ?

सङ्कटका बेला काम नलाग्ने सरकारको के काम ?


कोरोनानको कहर विस्तार, सलहको प्रवेश र सत्तारुढ दलको सत्ताकलह देशमा यता केही दिनदेखिका प्रमुख घटनाहरू हुन् । यी सबै विषय देशमा अमनचयनमा गम्भीर प्रश्न उठाउने विषय हुन् । कोरोना करिब छ महिनादेखिको कहर हो भने सलह भर्खर प्रवेश गरको अवस्था छ । जानकारीमा आएअनुसार एक करोडको हाराहारीमा यतिबेला सलह नेपाल प्रवेश गरिसकेका छन् । ठाउँ–ठाउँमा बालीनाली नष्ट पनि पारिरहेका छन । अर्को झनै गम्भीर विषय हो, कोरोना भाइरसजस्तै छिमेकी देशबाट यो सलह प्रवेशको क्रम पनि बढ्दै गएको छ । यही बीचमा कृषि मन्त्रीबाट रोकथामका लागि जस्तो अपिल भयो त्यो आफैँमा अनौठो रह्यो ।

कृषि मन्त्रीले बाजा बजाउनू, धेरै कराउनू र अमेरिकाबाट सङ्गीत झिकाइँदै छ त्यसले कक्रक्कै बनाउँछ, त्यसलाई सुनाइदिनू भनी उपाय सुझाए । प्रधानमन्त्रीले कोरोनामा बेसरपानी खाएर र हाच्छिउँ गरेर भगाउन सुझाव दिएजस्तै देखियो । सलह पनि कोरोनाजस्तै पूर्वसूचना दिएर आएको अवस्था हो । करिब दुई महिनादेखि छिमेकी देशभारतमा यसले वितण्डा मच्चाएको र कुनै पनि क्षण नेपाल आउने अनुमान थियो । तर नेपालका अधिकारीहरू यो नेपाल आउँदैन भनी तयारीविहीन अवस्थामा रहे ।

कोरोनामा पूर्वानुमान गर्न सरकार असफल भएजस्तै सलहमा पनि त्यस्तै देखियो । त्यो आएको एक घण्टामा एउटा गाउँको आन्नबाली नै सखाप पारेको समाचारको एउटा विवरण हेरियो भने यो कति डरलाग्दो हो भन्ने बुझ्न सकिन्छ । कृषिमा निर्भर पश्चिमको एउटा गाउँमा सलह प्रवेश र त्यसले विनाश गरेको भन्ने स्थानीय तहबाट प्राप्त एउटा विवरण, ‘दाङको अन्न भण्डार मानिने देउखुरी क्षेत्रमा सलहले मकैबालीमा ठूलो क्षति पु-याएको छ । राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र लमही नगरपालिकामा सलहका बथान देखिए । सलहका बथानले मकैबाली नष्ट भयो । करिब आधा घण्टामा सो क्षेत्रको आधाभन्दा धेरै मकैबारी उजाड बनाइदियो । दुई किलोमिटर क्षेत्रमा सलह छपक्कै भएको देख्ने किसानहरूका अनुसार सलह भन्ने किरा त अचम्मका हुने रहेछन्, करिब दुई किलोमिटर टाढासम्म बारीमा छपक्कै बसे, भर्खर चमर लाग्न थालेको मकै सबै सखाप पारे ।’

समाचारको यो एउटा अंशले नै सलह कति खतरनाक रहेछ भन्ने बुझाउँछ । आधा घण्टामा दुई किलोमिटरको खेतीपाती नष्ट गर्ने क्षमताको यो भाइरस आन्नबालीका लागि कोरोनाभन्दा पनि खतरा देखियो । कोरोना लागेमा उपचारले बचाउन सकिने देखिएको छ भने ठूलो संख्यामा सहल लागेमा सबै नष्ट हुने अवस्था यसरी प्रकट भइरहेको छ । तर सरकारले न तयारी गरेको पाइयो न क्षति भएमा किसानलाई आश्वस्त पार्ने कुनै कार्यक्रम नै ल्याएको छ । यो भनेको सङ्कटका बेला सरकारको उपस्थिति नभएको अवस्था हो ।

यस्तो बेला अर्थात् चाहिएको बेला हाजिर नहुने सरकारको के काम ? यो किराले रोतहट र दाङ दुवै ठाउँमा समानरूपले क्षति पु¥याएका समाचार आइरहेका छन् । यसको मतलव हो पूर्व–पश्चिम सबैतिर यस्को विस्तार भयो । आपत्तिको विषय पनि यही हो । जब आफ्नो बालीनालीमा अनपेक्षित क्षति हुन्छ भने र त्यसबेला किसानलाई उपयुक्त क्षतिपूर्ति र त्यसको आश्वासन दिइँदैन भने त्यस्तो बेला किसानले सरकारको अनुभूति कहाँ, कसरी गर्ने ?


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x