Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयनिषेध मात्रै संक्रमण रोक्ने अचुक अस्त्र होइन

निषेध मात्रै संक्रमण रोक्ने अचुक अस्त्र होइन


कोरोनाको संक्रमण बढ्दै जाँदा यसलाई अझ फैलिन नदिन भनेर सरकारले लकडाउनभन्दा कडाप्रकारको निषेधाज्ञा एक हप्ताका लागि घोषणा गरेको छ, । एक सय २० दिनको लकडाउन खेपेका नागरिकमा यो निषेधाज्ञा पनि नयाँ होइन । यतिबेला ३२ वटा जिल्लाका कतिपय ठाउँमा लकडाउन र निषेधित क्षेत्र चलिरहेका छन्, त्यसमा उपत्यका पनि थपियो । हाललार्ई यो भदौ १० गते मध्यरातसम्म भनिएको छ तर विगतले के देखाएको छ भने यो लम्बिन पनि सक्तछ । लकडाउनको घोषणा त्यस्तै भएको थियो ।

सुरुमा एक हप्तालाई भनिएको लकडाउन एक सय २० दिन चलेर खुलेको थियो । अहिलेको निषेधित क्षेत्र पनि त्यस्तै हुनसक्छ । यस्तो निषेधका कुरा अरुभन्दा सरकारका लागि सजिलो माध्यम हुन्छ शासन गर्नका लागि पनि । यसमा घोषणा गरिदिए पुग्छ र सरकारले केही गरिरहेको जस्तो पनि देखिन्छ । तर यो मात्रै निकासको बाटो होइन ।

सरकारले लकडाउनको घोषणा गर्दा देशमा जम्मा दुई जना संक्रमित थिए । पहिलो संक्रमित माघ १० मा देखिएका थिए भने चैत्र १० मा दोस्रो संक्रमित देखिए । दोस्रो संक्रमित देखिएपछि सरकार धेरै नै सतर्क भएर लकडाउनको घोषणा गरको थियो । तर यता परिणाम कस्तो आयो भने लकडाउनको दिन जति बढ्यो कोरोना संक्रमणको विस्तार झन्झन् बढ्दै गयो ।

गत आर्थिक वर्षको अन्तिम दिन लकडाउनको चार महिना पुग्दा असार ३१ गते नेपालमा कोरोना भाइरसको संक्रमण संख्या १७ हजार पुगेको थियो भने ३९ जनाको मृत्यु भएको थियो । यदि लकडाउन वा भनौँ बन्दाबन्दी वा निषेधाज्ञा नै उपाय थियो भने दुई जनाबाट बढेको यो संख्या यसरी १७ हजार नै पुग्न नहुने थियो ।

यद्यपि त्यो समय निको हुनेको संख्या पनि ठूृलो थियो । जस्तो त्यो दिन ११ हजार २५ जना उपचारपछि निको भएर घर फर्किएका थिए । चार महिनाको यो संख्यालाई सरकारले सम्भवतः ठूलो मानेन होला र नै लकडाउन चलिरहेकै बेला साउनमा सरकारले पीसीआर परीक्षणको दायरा घटायो । पहिलो सात हजारसम्म परीक्षण भइरहेको अवस्थामा ३ साउनमा तीन हजार तीन सय ३१ को मात्र नमुना परीक्षण गरियो, ५७ जनामा कोरोना संक्रमण पुष्टि भयो ।

यता कोरोनाको संख्या घटेपछि सरकारले भन्न थाल्यो, संक्रमणको बढ्दो क्रम घट्न थाल्यो । तर वास्तविकता संक्रमणको दर घटेको भन्दा परीक्षणको दायरा वा दर घटेको थियो । यस्तै बेला सरकारले लकडाउन खोल्यो र वातावरण सहज भएको भन्ने सन्देश दियो । कतिसम्म भने सम्पूर्ण यातायात पनि खुल्ने भए । साउन ५ को मन्त्रिपरिषद्को बैठकले होटलहरू खुलाई अन्तरजिल्लामा सवारीसाधन चलाउने र हवाइ उडानका तालिकाहरू प्रकाशित भए अर्थात् सबै कुरा त्यही सामान्य अवस्थामा गएको भन्ने बुझायो ।

सरकारले त कतिसम्म भन्यो भने, अब पहिलेको जस्तो लकडाउन कहिल्यै हुँदैन भनेर बारम्बार दोहो¥याइरह्यो । तर यता संक्रमण भने बढ्दै गएर २७ हजार पुग्यो र मर्नेको संख्या पनि कल्पनातीत नै पुग्यो । अहिले निषेधको समय तोक्दा पनि यो बेलासम्मकै सबैभन्दा बढी एक हजार १६ जनामा संक्रमण पुष्टि भएको अवस्था देखियो भने यो एकै दिनमा ७ जनाको मृत्यु भयो । जसले कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या एक सय १६ पुग्यो । यी सबैले के बुझाउँछ भने लकडाउन अथवा निषेधले मात्रै समस्या रोकिने रहेनछ । त्यो समयको भरपुर सदुपयोग गर्नु महत्वपूर्ण हो । त्यसमा सरकार के गर्छ भन्ने परीक्षा हुनेवाला छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया