Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयविषाक्त स्यानिटाइजर उत्पादकलाई कडा कारबाहीको होस्

विषाक्त स्यानिटाइजर उत्पादकलाई कडा कारबाहीको होस्


विश्वव्यापी कोरोना महामारीको भयावह अवस्था र त्यसको प्रभाव नेपालमा पनि बढिरहेको छ । पछिल्लो समय एक हजारमा एक जनाको दरमा संक्रमण कायम छ भने यो बढ्दै जाने देखिन्छ । कोरोनाका नाममा भएको बन्दाबन्दीका कारण नागरिकले बितेको छ महिनामा ठूलो सङ्कट व्यहोरिसकेका छन् । बन्दाबन्दीकै कारण कतिपयको ज्यान गइसकेको छ भने कति त घरबारविहीन समेत भएका छन् । यो क्रम अझै जारी छ र कहिलेसम्म रहला भन्ने निश्चित पनि छैन ।

राज्यले अपनाएका सुरक्षाका सबै मापदण्डहरूभन्दा यो संक्रमणको विस्तार झनै खतरनाक देखियो । यतिबेला त अस्पताल पनि नपाउने अवस्था छ । जतातातै बढ्दो अवस्थामा रहेको रोगले समातिहाले पनि कतैबाट सहानुभूति पाउने अवस्था छैन । संक्रमणबाट मुक्त भएकाहरूको अनुसार यो रोगसँग नितान्त एक्लो यात्रा गर्नुपर्ने बाध्यता छ ।

यता यस्तो छ भने उता यस्तो सङ्कटको बेलामा पनि मान्छेलाई झनै सङ्कट थप्ने र औषधिका नाममा विष बेचिरहेका छन् । रोगबाट बच्नको लागि भन्दै सबैले प्रयोग गरिरहेको स्यानिटाइजर समेत विषक्त हुनेगरी उत्पादन भइरहेको रहेछ । विज्ञहरूका अनुसार नक्कली र गुणस्तरहीन स्यानिटाइजरका कारण मान्छेको स्वास्थ्यमा गम्भीर आघात पुगिरहेको छ । कोरोनाबाट सुरक्षित हुन भनी जुन वस्तु प्रयोग गरिरहेका छौँ त्यो वस्तु कोरोनाभन्दा पनि बढी विषालु भएर बजारमा फैलिरहेको रहेछ यो एउटा तीतो सत्य हो ।

कोरोनाको जिवाणुबाट आक्रान्त समाजलाई त्यही समाजमा रहेकाहरूले अर्को विष थपेर झन् भयावह बनाइदिन्छन् भने यस्तो कामलाई कस्तो भन्ने ? अर्कोतर्फ जुन वस्तुले कोरोनाको जीवाणु मार्छ भनी बजारमा किनबेच भैरहेको छ त्यो वस्तु नै क्षमताहीन रहेछ भन्ने पनि पुष्टि भयो । यसै हप्ता नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले गरेको एउटा अध्ययनमा बजारमा प्रयोग भइरहेका स्यानिटाइजरमध्ये ४५ प्रतिशत प्रभावहीन र उल्टो हानिकारक रहेका देखिए ।

२२ वटा ब्रान्डको नमुना परीक्षण गर्दा ४५ प्रतिशतमा हानिकारक जीवाणुलाई नष्ट गर्ने क्षमता नभएको पाइयो साथै यता ती मानव स्वास्थ्यका लागि पनि हानिकारक रहेका छन् । यो अवस्थाको अनुगमन गर्ने निकाय भनेको औषधि व्यवस्था विभाग हो । औषधि उत्पादक संघका अनुसार यो विभागले भने यस्ता विष उत्पादन गर्नेहरूको दर्तासमेत गर्न आवशयक ठानेको छैन ।

यतिबेला देशभर स्यानिटाइजर उद्योगको संख्या तीन सयभन्दा बढी छ । तर, औषधि व्यवस्था विभागबाट जम्मा ४० वटाले मात्र सञ्चालनको अनुमति लिएका छन् । यसको अर्थ हो, बाँकी सबै अवैधरूपले चलिरहेका छन् । अहिले विषाक्त स्यानिटाइजर छ्यापछ्याप्ती भएको भन्ने गुनासो आएर प्रतिबन्ध लगाएका उद्योग पनि त्यसरी नै दर्ताबिना चलेकामध्येमा पर्छन् । यी पाँचवटा उत्पादनलाई विभाग मातहतको राष्ट्रिय औषधि प्रयोगशालाले नमुना परीक्षण गर्दा ती अत्यन्त विषाक्त पाइएका हुन् ।

विभागका महानिर्देशकका अनुसार पनि ती उत्पादकले स्यानिटाइजरमा ८३ प्रतिशतसम्म मेथानल प्रयोग गरेका पाइयो । मेथानलले मानिसको ज्यानै जान सक्छ । त्यसो हो भने अब यीमाथि कस्तो दण्ड होला ? यस्ता जनस्वास्थ्यका हितविपरीत काम गर्नेमाथि यस्तो दण्ड हुनपर्छ कि पछि अरुले पनि यस्तो काम गर्ने आँट नगरुन् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया