Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयएमसीसीमा नौटङ्की

एमसीसीमा नौटङ्की


अमेरिकाले नेपाललाई मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सहायताअन्तर्गत दिने सम्झौता गरेको ५५ अर्ब रूपैयाँ लिने कि नलिने भन्ने विषयमा सत्ताधारी दल नेकपाले नौटङ्कीपूर्ण बहस चलाएको छ । केही दिनअघि मात्र सकिएको सत्तारुढ नेकपाको स्थायी समितिको बैठकले अमेरिकाले दिन लागेको एमसीसी सहायता इन्डोप्यासिफिक एमसीसी सहायता इन्डोप्यासिफिक रणनीतिको अंग भएको आशंका गर्दै त्यस्तो सहायता नलिने निर्णय ग-यो र त्यो सहायता इन्डोप्यासिफिक रणनीतिको अंग हो कि होइन भनेर अमेरिकाले स्पष्ट पार्नुपर्ने शर्त सार्वजनिक ग-यो ।

बैठकमा पार्टीका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली उपस्थित थिएनन् । तर, सहभागी मन्त्रीहरूमध्ये पर्यटनमन्त्री योगेश भट्टराईबाहेक अरु एमसीसी सहायत लिनुपर्ने पक्षमा बोले पनि बैठकले अमेरिकासँग स्पष्टीकरण माग गरेको थियो । बैठकको निर्णयको स्प्रिटअनुसार सरकार र पार्टी सचिवालयले समन्वय गरेर यसलाई टुङ्ग्याउने निर्णय गरेको एक साता बित्न नपाउँदै र अमेरिकासँग स्पष्टीकरण मागेर पत्र पनि नपठाइँदै सो पार्टीका महासचिव विष्णु पौडेलले अमेरिकाको एमसीसी सहायतासम्बन्धी प्रोजेक्ट इन्डोप्यासिफिक रणनीतिको अंग होइन भनी अन्तरवार्ता दिएका छन् ।

त्यही शैलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका भनाइ पनि आइरहेका छन् । अमेरिकासँग आफैँ स्पष्टीकरण माग गर्ने र अमेरिकाले केही नबोल्दै आफैँ अमेरिकी प्रवक्ताजस्तो बनेर जिम्मेवार तहबाटै एमसीसी सहायतासम्बन्धी प्रोजेक्ट इन्डोप्यासिफिक रणनीतिको अंग होइन भन्ने परस्पर विरोधाभाषपूर्ण अभिव्याक्ति सार्वजनिक हुनुले नेपाल र अमेरिकाबीचको आपसी सम्बन्धलाई नै चिस्याउने काम गरेको छ । यस्तो दोहोरी पीपलपाते व्यवहारले कूटनीतिलाई पङ्गु बनाएको छ ।

अमेरिकी सरकारले होस् वा अरु कुनै सरकारले दिने सहायता लिने कि नलिने भनेर नेपाल आफैँले निर्णय गर्ने हो । चाहिएको छैन र विभिन्न आशंका छ भने सहायता लिन्न भनेर जवाफ पठाए भइहाल्छ । तर, यसरी नौटङ्की गरिरहनु आवश्यक छैन । यस्तो नौटङ्कीले मुलुकलाई अन्तर्राष्ट्रिय समुदायमा पङ्गु साबित गराउँछ । सरकारले कूटनीतिक मामिलामा यस्तो दोधारेपन देखाउन हुँदैन, स्पष्ट हुनुपर्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया