Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयप्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण

प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण


दिनैपिच्छे कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ । परीक्षणकै सन्दर्भमा पनि कतिपय अवस्थामा त दुई जनामा एक संक्रमित देखिन थालेका पाइन्छ । यो धेरै खतरानाक अवस्थाको संकेत हो । प्रधानमन्त्री निवासमै एक सय ५० को हाराहारीमा गरिएको परीक्षणमा ७० जना संक्रमित भेटिएको पछिल्लो आवस्था आफैँ एउटा डरलाग्दो चित्र हो । १९ हजार तीन सय २० जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार आठ जना (२५.९२ प्रतिशत) संक्रमित देखिए ।

पछिल्लो समयको यो सबभन्दा ठूलो संख्या हो । यसअघि १८ हजारको हाराहारीमा परीक्षण हुँदा करिब ४५ सयको संख्या संक्रमित भेटिएका थिए । १० देखि १२ हजारको हाराहारीमा परीक्षण हुँदा २५ सयसम्मको संख्या देखिएको अवस्था पनि गुज्रिसकेको छ । यी भनेका दिनहुँ भयावहतातर्फको यात्रा हो । गएको शुक्रबारदेखि संक्रमितको संख्या एक लाखभन्दा माथिबाट गणना हुन थालेको छ ।

यतिबेला कोरानाको विस्तार भयावह त छ नै त्यसमाथि सरकारका कामकुरा पनि उत्तिकै आलोचनामा परेका छन् । आलोचनाको पहिलो ठाउँ थियो परीक्षणको क्षमताको प्रयोग नहुनु । प्रधानमन्त्रीले नै असोजको तेस्रो दिन नै देशमा २४ हजारको क्षमता रहेको भनी जानाकारी गराएका थिए । त्यसमध्ये बितेका दुई दिन मात्रै १८ र १९ हजारको प्रयोग भयो । यसमा पनि पाँच हजारको संख्या त खेर गएको अवस्था छ । त्यसअघि त प्रत्येक दिन १२–१३ हजारको दरले क्षमता खेर गएको थियो ।

परीक्षण नहुनु भनेको संक्रमण लुक्ने हो र संक्रमण लुक्नु भनेको कति खतरनाक हो भन्ने उल्लेख भइरहनु पर्दैन । यो भनेको सरकारी नेतृत्व असफल भएको भन्ने संकेत हो । संविधान दिवसकै अवसरमा प्रधानमन्त्रीले देशको क्षमता त्यति दयनीय नरहेको भनी बताएका थिए । त्यसो हो भने स्वाभाविक छ त्यसको प्रयोग भएन कि भनी प्रश्न उठ्छ नै । १९ हजार तीन सय २० जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार आठ जना (२५.९२ प्रतिशत) मा संक्रमण देखिएको अवस्थालाई मध्यनजर गरिँदा संक्रमण धेरै नै विस्तार भैसकेको बुझ्नुपर्ने हुन्छ । कुल क्षमताको २४ हजारकै परीक्षण गरिँदा आउने परिणाम कस्तो होला भनी आँकलन गर्नसक्ने ठाउँ बनिसकेको छ । यो भनेको कतै सरकारी नेतृत्व हुनुपर्ने ठाउँमा गम्भीर नभएको हो कि भन्ने शंका गर्नुपर्ने अवस्था हो ।

यस्तो आम तहमा प्रश्न उठ्न थालेको छ, प्रधानमन्त्री कता छन् भन्ने । एउटा मन्त्रिपरिषद् फेरवदल गर्ने सन्दर्भमा सत्तारुढ दलका दुई अध्यक्ष प्रत्येक दिन भेटघाट र घण्टौं वार्तामा समय बिताएका समाचारहरू आइरहेका छन् दिनहुँ नै । यता देश कोरोना महामारी र त्यसको अवस्था पनि हुन नसक्दा देशमा एकप्रकारले रुवााबासी नै हुनेगरेको अवस्था छ ।

यस्तोबेला शीर्ष नेतृत्वको एक/दुई जना मन्त्री फेरबदलका लागि हप्तौँ लाग्ने र घाण्टौँ बितिरहेको अवस्था विद्यमान परिस्थितिका अगाडि निरर्थक नै हो । कोरोनाका सन्दर्भमा गठन भएका समितिहरू असफल नै भएको अवस्था छ । यस्तोबेला अब शीेर्ष नेतृत्वले नै नृतृत्व लिनुपर्ने देखिन्छ । त्यसै पनि यस्तो गर्न ढिलो नै भइसकेको छ । अब प्रधानमन्त्रीले सम्बोधन गरेको भरमा चल्ने अवस्था छैन । प्रधानमन्त्री मैदानमै आउनुनपर्ने भयो । यसतर्फ ध्यान जाओस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया