Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकोरोनाको खोप र सरकारी पहल

कोरोनाको खोप र सरकारी पहल


काठमाडौं ।
गएको हप्ता कोरोनाविरुद्धको लडाइँमा मानवीय पक्षको विजय भएको छ । यसको खोप मानवीय शरीरमा परेपछि त्यस्तो महसुस गरिएको हो । बितेको वर्ष कोरोनाको महामारी र यसले दिएको पीडामै बित्यो । उपचार थिएन र जे–जस्ता प्रयोग भइरहेका थिए तिनको सफलता/असफलता अन्योलमा नै रह्यो । तर पछिल्लो समय यसविरुद्धको मानवीय प्रयास सफल भयो । यद्यपि आम मान्छेको पाखुरासम्म कहिले पुग्ने हो भन्ने अन्योलचाहिँ छँदै छ । यो विषय राज्यको व्यवस्थापनमा भर पर्ने हुँदा सबैको चासो आफ्ना राज्यसञ्चालकहरूप्रति केन्द्रित भएको छ । कमजोर व्यवस्थापन भएका देशका नागरिक खुसी हुन पाएका छैनन् । विगतमा कोरोनाको रोकथाम र उपचारमा देखाइएको उदासिनताले पनि त्यस्तो गराएको हुनुपर्छ ।

गएकै हप्ता मानवीय शरीरमा परेको अमेरिकाका दुईवटा औषधि निर्माण कम्पनीका खोप यतिबेला सर्वाधिक चर्चामा छन् । यतिबेला भारत, चीन, रुस, ब्राजिललगायत देशमा भ्याक्सिन निर्माणको काम भइरहेको छ । नेपालका लागि आशालाग्दो काम हो । छिमेकी देश भारत र चीन दुवै यी खोप निर्माणको काममा उच्च गतिमा छन् । अमेरिकी कम्पनी फाइजरले जर्मन बायोएनटेकसँग मिलेर बनाएको भ्याक्सिन, अमेरिकी कम्पनी मोडेर्ना र अक्सफोर्ड विश्वविद्यालयले एक्ट्राजेनेकासँग मिलेर बनाएको भ्याक्सिनको प्रभावकारिता धेरै देखियो । यहीबेला नेपाल सरकारले पनि ७२ प्रतिशत जनतालाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । तर त्यसका लागि तयारी भने भरपर्दोे नदेखिएको बताउँछन् विज्ञहरू ।

सरकारले यस्तो खोप नेपालमा पनि ल्याउने भन्यो तर अरु देशले जस्तो कुन कम्पनीको र कुन प्रक्रियाअन्तर्गत भन्ने अहिलेसम्म अन्योलमै छ । नेपालजस्तै देश हो बंगलादेश । तर उसले आफूलाई चाहिने मात्राका लागि रकम नै पठाइसकेको छ भने नेपालमा चाहिँ तयारी तीव्र बनाइएको मात्रै भनिएको छ । संयुक्त राष्ट्रसंघको कोभ्याक्स कार्यक्रमबाट प्रत्येक देशका २० प्रतिशत जनताका लागि ६० लाख डोज भ्याक्सिन नेपालमा ल्याइने बताइएको छ । कोभ्याक्सको मात्र भर पर्दा नेपलमा भनेजति मात्रामा आइपुग्न चानचुने कुरा होइन । बरु यी खोपहरू अनुदानमा बजारमा खुला गर्दा पनि हुने अवस्था देखिन्छ । भारतमा उत्पादन भइरहेको खोपको मूल्य मात्रको तीन डलर रहेको वा हुने बतान्छ । दुई डोजका लागि यो मूल्यमा उपलब्ध भए हरेक नागरिक आफैँ पनि खरिद गर्न सक्तछन् ।

नेपाल सरकारले प्रतिबद्धता देखाएको जसरी ल्याउन सहज नभएकाले तीनवटै तहमा एकैपटक तयारी हुन जरुरी छ । पहिलो कुरा कुन खोप ल्याउने भन्ने तय भएको छैन । माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने खोप नोपालका लागि उपयुक्त हुँदैन । त्यसकारण यतिखेर गर्नुपर्ने भनेको छनोटको हिसाबले उत्पादकहरूसँग छलफल गर्नुपर्ने हो तर भएको छैन । यहीँनेर हो सरकार चुक्ने हो कि भन्ने शंका गर्ने ठाउँ । सरकारले विगतमा पनि भनेका कुरा पूरा गरेको छैन । त्यसकारण यो विषयमा पनि अविश्वास बढेको हो । यो जीवनमरणसँग जोडिएको विषय भएको हुँदा सोहीअनुसारको पहल आवश्यक छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया