Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयराहतमा राजनीति ठूलो अपराध

राहतमा राजनीति ठूलो अपराध


काठमाडौं ।
वर्षाको सुरुमै अनपेक्षित रूपमा देशका विभिन्न भागमा जस्तो विपत् आइलाग्यो त्यो धेरै नै दुःखद छ । तर यस्तो विपत्सँग खेलबाड नै हुने प्रकारले राहतमा राजनीति भएका जस्ता समाचार आइरहेका छन् ती झन् बढी निन्दनीय छन् । प्राकिृतिक विपत् सबैका लागि घातक हुन्छ । त्यसको क्षतिले कसको के अवस्था र पोजिसन के हो भन्ने मान्दैन । त्यो आयोगयो सकियो । त्यसलाई रोक्न सकिन्छ भने विपत् आउनुपहिलेका तयारीहरूले प्रभाव पार्छ । त्यसमा हो मानवीय पक्षको तत्परता हेर्ने । यस्ता घटना हुननदिने काम कस्तो प्रकारको र कति जिम्मेवारयुक्त नेतृत्व छ भन्नेले भूमिका खेल्छ । मेलम्चीकै कुरा गर्दा एक जना वडाध्यक्षले दिएको एउटा सूचनाले सयौँ मान्छे बाँचेका वा जोगिएका भन्ने समाचार आएका छन् ।

वास्तवमा नै मेलम्चीमा जति ठूलो क्षति भयो त्यसमा मानवीय पक्ष जोगिएको छ त्यसको प्रकृति हेर्दा । यही सूचनाले भात पकाउँदा पकाउँदै त्यसै छाडेर अन्यत्र गएका कारण जोगिएको भन्ने विवरण आए । यदि त्यो सूचना थिएन भने त्यो घरसँगै घरवाला पनि डुब्ने थिए । त्यसरी डुब्न लागेको अवस्थाबाट संयोगले बाँचेका र घरमाथि पछि हेलिकोप्टरले उद्धार गरिएका व्यक्तिको बयानले पनि आफैँ एउटा डरलाग्दो चित्र बताउँछ यो विनाशको । बेलुका सुतेका ती व्यक्ति बिहान उठ्दा आफू बसेको घर डुब्नै लागेको र कतैबाट बाहिर निस्कन नपाएको अवस्थामा घरको छतमा गएर हारगुहार गरेको भन्ने बयानले पनि धेरै कुरा बताउँछन् ।

यस्तो ठाउँमा यस्तो बेला कुनै राजनीतिक दलले पीडितहरू बसेका ठाउँमा राहत विवरण गर्दा राजनीति गर्नथाले भने यो काम सामान्य अपराध मात्र होइन । समाचारमा आएअनुसार सिन्धुपाल्चोकको मेलम्ची बाढीपीडित बसेका ठाउँ स्थानीय इन्द्रेश्वरी माविमा राजनीतिक दलले आफ्नो ब्यानर नै टाँगेर राहत वितरण गर्न खोज्दा विवाद्ले उग्ररूप लिएर राहत बाँड्न गएका र स्थानीयबीच झडपकै स्थिति उत्पन्न भए । यसमा अझ दुखद् पक्ष के हो भने सत्तापक्षकै दलका कार्यकर्ताले यस्तो काम गरेका देखियो ।

यस्ता विपत्का बेला कुनै संघसंस्थाले सहयोग गर्दा आफ्नो पहिचान देखाउन खोज्छन् उनीहरूको केही बाध्यता पनि होलान् । त्यो ठाउँमा आफ्नो उपस्थिति देखाउनु पर्ला तर राजनीतिक दलका भातृसंस्था त्यो पनि सत्तापक्षकैबाट पीडाको बेला यस्ता प्रचारमुखी अभियान चलाउने काम आफैँमा निन्दनीय हो नै । निश्चय नै यस्तो काम सत्तारढदलको केन्द्रको निर्देशनमा भएको थिएन होला तर जब दलहरूको नाम मुछिन्छ भने त्यसको छानबिन हुनुपर्छ र वास्तवमा नै यस्तो दुःखको विषयलाई राजनीतिको हतकण्डा बनाउन खोजिएको रहेछ भने तिनीहरू दण्डित हुनुपर्छ ।

कोही पनि कमी छैन । यही विषयमा बिहीबार सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रेश्वरी माविमा विवाद हुँदा झडपकै स्थिति उत्पन्न हुनपुग्यो । सिन्धुपाल्चोकदेखि यस्तो क्षति पश्चिमका धेरै ठाउँसम्म पुगेको छ । बाढीको सतर्कता अर्थात् पूर्वसूचनाका कारण धेरै ठाउँमा ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ नत्र तीन/चार तले घर बगेका ठाउँमा मान्छेको अवस्था के हुनेथियो भन्ने अनुमान गर्न सकिन्छ।

त्यो पूर्वको मेलम्ची होस् कि पश्चिमको मनाङ । समयमा नै सूचना प्रवाह हुननसकेको भए क्षतिको आकलन पनि गर्नसकिने अवस्था छैन । यसरी जोगिएको अवस्थामा राहत बाँड्न गएकाहरूको कामले भीडन्तको स्थिति आएको भन्ने देखिनु सामान्य कुरा होइन । यो ठाउँमा भन्नैपर्छ जसले गरेको होस् कम्तीमा यस्तो दुःख परेको बेला यस्तो राजनीति गर्नु हुँदैन । पीडित कसैका आफन्त र पराइ हुँदैनन् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया