Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयखोपको जोहोभन्दा भाषणबाजी बढी

खोपको जोहोभन्दा भाषणबाजी बढी


काठमाडौं । नयाँ सरकारले आफू गठन भएको हप्तादिनको सेरोफेरोमा नै खासगरी कोरोना महामारीविरुद्ध र खोप अभियानका सन्दर्भमा केही नयाँ कामहरू सुरु गरेको पाइयो । यो सरकारले पहिलो काम नै खोपको व्यवस्थापन बनायो । त्यसपछि पटक–पटक प्रधानमन्त्रीले आफ्नो तीन प्राथमिकता तोके । त्यसमा पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप र तेस्रो प्राथमिकता खोप भनेर यो विषय सरकारको नजरमा सबैभन्दा माथि रहेको देखाएको छ । यो सकारात्मक कुरा हो ।

नेपाल मात्रै होइन यतिबेला संसार नै खोप मात्र एकसूत्रीय नीति बनाएर चलिरहेको छ । यो महामारीले एक/डेढ वर्षकै बीचमा ठूलो जनधनको क्षति ग¥यो संसारभरि नै । यसबाट कसरी त्राण पाउने भन्ने उपाय खोज्दाखोज्दै धेरैको ज्यान गएको छ । यही क्रममा खोपको कुरा आएको हो । करिब–करिब एक वर्षको बीचमा खोप प्राप्त हुनु यो ठूलो मानवीय उपलब्धि थियो समग्र मानवजातिकै लागि । यतिबेलाको समय भनेको त्यो उपलब्धिलाई हरेक देशले आफ्ना नागरिक समक्ष पु¥याउनु हो । सरकार यो अभियानमा लागेको भन्ने देखाउँछ उसको यो भनाइले । वास्तवमा नै यसमा सरकार अलिकति पनि चुक्नै हुन्न ।

खोपको प्रयास पहिले पनि नगरिएको होइन । गएको माघ १४ मा नेपाली शरीरमा पहिलो खोप पर्दा संसारका धेरै मान्छेले यो अवसर पाउन बाँकी थियो । नेपालले त्यसलाई प्राप्त ग¥यो । त्यसका लागि त्यसबेला पनि सरकार प्रशंसित भएकै हो । त्यसदिन तत्कालीन प्रधानमन्त्रीले आउँदो वैशाखसम्ममा सबैलाई खोप दिने घोषणा गरेका थिए । त्यो भनेको तीन महिनाको समय थियो । तर भनिएअनुसार त्यो समयमा खोप पाइएन । खोपविनाको अर्को छ महिना बित्दा चालू वर्षभरिमा खोप लगाइसक्ने भन्ने कुरा आयो तिनै प्रधानमन्त्रीबाट ।

फागुन महिनामा दिइएको आधा खोप यो साउन महिना लाग्दा समेत पूरा हुन सकेको छैन । जब कि पहिलो डोज दिएपछिको एक महिनामा दोस्रो डोज दिनुपर्ने थियो । यतिलामो समयको अन्तर पर्दा त्यो पहिलो डोजको प्रभावकारिता के हुन्छ भन्ने कम्तीमा त्यसको प्रयोग गरेका १०–१५ लाख नागरिकको मनमा त परेको छ नै । यो डोज खरिद भएमध्येको हो । यति लामो समयसम्म खरिदकै वस्तु आएन भने सरकारी व्यवस्थापन कस्तो होला भन्ने अनुमान गर्ने ठाउँ छ नै । त्यस कारण सरकारले जति बाचा गरे पनि नागरिकले पत्याइहाल्ने ठाउँ छैन । यो ठाउँमा कुराभन्दा कामको आवश्यकता छ ।

तेस्रो हो, वितरणको कुरा जो उपलब्धतासँगै सहजता पनि हुनुपर्छ । खोप लाउन थालेको दिनदेखि ती केन्द्रहरू संक्रमणका केन्द्र बन्ने खतरामा थिए जो आजसम्म पनि त्यस्तै छन् । नयाँ प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि बोलेको पहिलो वाक्य नै सबैलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने कुरा हो । त्यसको भोलिपल्ट मात्रै आधा दर्जन जति खोप केन्द्रहरूको आफैँ निरीक्षणमा निस्किए ।

यसअघि पनि उनले खोप केन्द्र थपेर सहज बनाउन र मापदण्ड अपनाएर खोप लिन आग्रह गरे । तर यी सबै हुँदा पनि स्थिति सुध्रिएको पाइएन । गएका दुई दिन खोपकै कारण कतिपय ठाउँमा लाठीचार्ज गरायो भने कतिपयलाई अत्यधिक तनाव दियो । जब खोप लिन नै यति धेरै गाह्रो हुन्छ भने त्यसले दिने सन्देश सकारात्मक हुँदैन । कम्तीमा खोप केन्द्रहरूमा मान्छेलाई एकअर्कासँग जोडिएर बस्नुपर्ने र त्यो पनि पाँच÷सात घण्टा लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य नभएसम्म खोप पाउनेभन्दा महामारी सर्ने खतरा रहन्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया