Techie IT
×
गृहपृष्ठसम्पादकीयहिमाली भेगमा डरलाग्दो भोकमरी

हिमाली भेगमा डरलाग्दो भोकमरी


काठमाडौं । अर्थशास्त्रीहरूको भनाइअनुसार लोकतान्त्रिक पद्धति अपनाएका देशमा मान्छे भोकले मर्दैनन् । कारण हो, सूचनाले राज्यलाई अभावग्रस्त ठाउँमा तुरन्तै पु-याउँछ । तर हाम्रो देशमा भने यसको उल्टो हुँदै गएको छ । देशको हिमाली प्रदेशका नागरिकहरू चामलका लागि पाँच हजार मिटर अग्लो ठाउँबाट तीन–चार फिट जमेको हिउँ पार गर्दै एक हप्ताको यात्राबाट सदरमुकाम आइपुगेका र त्यहाँ पनि नपाएका दारुण अवस्था देखिएको छ यो हप्ता । यतिबेला हिमाली क्षेत्रमा अत्यधिक हिमपातका कारण गतिविधि ठप्प छन् । तर जब अन्नपातको कुरा आउँछ र खानका लागि केही बाँकी रहँदैन त्यसले अर्को कष्ट दिने भयो नै । आफ्नो जिल्लाको सदरमुकाम आउन नै पाँच–सात दिन लाग्छ भने उनीहरूको ठाउँ कति दुर्गम रहेछ भन्ने त्यसै देखिनेछ । तीन–चार फिटको हिउँमा पाँच–सात दिनको यात्रा सामान्य कुरा होइन । यसको अर्को दुःखद पक्ष के हो भने यत्रो कष्ट र जोखिम व्यहोरेर सदरमुकाम आउँदा पनि उनीहरूका समस्याको सम्बोधन भएन ।

त्यसपछि उनीहरूले केन्द्रिय राजधानीका लागि अर्को यात्रा तय गर्नु प¥यो । कुनै पनि जिल्लामा प्रमुख जिल्ला अधिकारी हुन्छ । ऊ केन्द्रीय सरकारको प्रतिनिधि भएर बसेको हुन्छ । तर यी पदाधिकारीले पनि लाचारी प्रकट गरेपछि उनीहरूले केन्द्रीय राजधानीको यात्रा तय गर्नु प¥यो । यसको अर्थ के हो भने राज्यका निकायहरू आफ्ना नागरिकप्रति जिम्मेवार भएनन् । त्यसो नहुँदो हो त प्रमुख जिल्ला अधिकारीको सूचनाका आधारमा सरकारले एउटा हेलिकोप्टरमार्फत ती गउँलेका पायक पर्ने ठाउँमा पुग्ने गरी अन्न पठाउने काम गर्न नसकिने कुरा होइन ।

यो विवरण हो छिमेकी देश चीनसँग जोडिएको हुम्लाको नाम्खा गाउँपालिकाका बासिन्दाको । हिउँ पर्दा ती क्षेत्रमा प्रायः घरभित्रै बस्ने गरिन्छ । तर यो वर्ष केही केजी खाद्यान्नका लागि यति ठूलो महाभारत पार गर्न उनीहरू बाध्य भए । यदि राज्य चलाइरहेकाहरूमा अलिकति पनि संवेदनशीलता हुन्थ्यो भने यो समाचार आउनासाथ त्यो ठाउँमा राज्य नै पुग्थ्यो । आजको जमानामा चाहेको ठाउँमा नपुग्ने कुरा हुँदैन । त्यसमाथि यो त मान्छेको जीवन उद्धार गर्ने कुरा थियो । यो यात्रा पार गरेर उनीहरू सदरमुकाम त आए तर जिल्लामै चामल छैन भन्ने सीडीओको जवाफले जिल्लिए । अब उनीहरूलाई आफ्नो घर फर्किएर जान पनि त्यो पाँच दिनको कष्टकर यात्रा तय गर्नुपर्ने हुन्छ । त्यसका लागि पनि केही रासन त चाहिन्छ नै । त्यसको समेत जोहो भएको अवस्था उनीहरूले महसुस गर्न पाएनन् । जसले उनीहरूमा आफ्नो राज्यले अभिभावकत्व लिन्छ भन्ने महसुस हुने ठाउँ दिँदैन ।

अघिल्लै वर्षदेखि त्यहा राज्यले खाद्यान्न खासगरी चामल पठाएको थिएन । छिमेकी देश चीनबाट अन्न ल्याएर धानिरहेका थिए । यतिबेला अन्न खोज्दै केन्द्रीय राजधानी आएकाहरूको अनुसार कोरोना महामारीका कारण नाका बन्द भएपछि यी गाउँमा खाद्यान्न संकट प्राण लिने स्तरमा नै बढ्यो । भोकमरीबाट जोगिनका लागि एउटै उपाय थियो सदरमुकाम जाने । जब जिल्लाको प्रशासनले पनि केही गर्न नसक्ने लाचारी देखायो तब यो टोली काठामाडौँ आयो । अनुमान गरौँ यो यात्रा रकमका रुपले पनि कति महँगो प-यो होला ? तीन–चार फिटको हिउँमा पाँच–छ दिनको निरन्तर यात्रा सामान्य होइन । यस्तो बेला सरकारको पहिलो काम त्यो ठाउँमा भोकमरीबाट आफ्ना नागरिकलाई उद्धार गर्नु हुनुपर्छ । यसमा खेलाँची नगरियोस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया