Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयओमिक्रोनको गति र सतर्कतामा उदासिनता

ओमिक्रोनको गति र सतर्कतामा उदासिनता


काठमाडौं । करिब एक महिनाको बीचमा पहिलो पटक अफ्रिकामा प्रकट भएको कोरोनाको नयाँ स्वरूप ओमिक्रोन यति छोटो समयमा नै संसारभरि फैलिन पुग्यो । केही हप्ताअघि मात्रै यो युरोप अमेरिकामा व्याप्त भएको बताइएकोमा अब हाम्रै देशमा पनि प्रवेश गरेको अवस्था छ । यो भेरिएन्ट ओमिक्रोनको अहिलेसम्म देखिएको सबैभन्दा खतरनाक पक्ष हो, यसको फैलावट अत्यन्त तीव्र गतिले हुनु । अर्को संसारभरि नै प्रचलनमा आएका खोपहरूले यसका लागि काम गर्दैन कि भन्ने शंका हुनु । विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेर सतर्क गराएको अवस्थाले यसको क्षमता अन्योलमा रहेको बुझाउँछ । यति पक्का हो, यसअघिका भेरिएन्टहरूभन्दा यो खतरनाक छ र यसबाट जोगिन विश्वस्तरमा नै उच्चसतर्कताका लागि साझाप्रकारका आह्वान भइरहेका छन् । यो भनेको संसारका जुनसुकै देशका लागि सतर्कताको उच्च अवस्थामा बस्नुपर्ने संकेत हो ।

नेपालमा पनि अहिले दुई जनामा ओमिक्रोन भेरियन्टका संक्रमित भेटिएको छ । यसको विस्तारक्रम तीव्र हुन्छ भन्ने त स्थापित भई नै सकेको कुरा हो । एउटा त छिमेकी देश भारतमा यो भेरियन्ट प्रकट भइसकेको र त्यतिकै तीव्र गतिमा फैलिइरहेको छ । भारत भारतको छिमेकी देश अर्थात् दक्षिण एसियाली मुलुक श्रीलंकामा प्रकट भएको हप्ता दिनपछि नै भारतमा पनि यसका संक्रमितहरू देखा परेका हुन् । छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीमा मंसिरको तेस्रो हप्ता एक जनामा ओमिक्रोनको संक्रमण देखियो । यसको दुई दिनअघि भारतकै कर्नाटक राज्यमा देखएको थियो र ओमिक्रोनका संक्रमित भेटिने क्रम बढिरहेको र संख्या पनि थपिई नै रहने अवस्था छ ।

नेपालमा यसको खतरा झन् बढी देखिन थालेको कारण हो, सतर्कताको चरम अभाव । खासगरी राजनीतिक दलहरूले कोरोनालाई पूरै बिर्सिएको जस्तो देखिँदै छ । एकातिर परीक्षण घटिरहेको छ र घटेको अवस्थामा पनि संक्रमितको संख्या भने पुरानै अवस्थामा छ । पछिल्ला कुनै पनि दिनको विवरण हेरियो भने हजारमा न्यूनतम ५० को संख्या त कायमै छ । अवस्था यस्तै रहँदा यता राजनीतिक दलहरू ठूला–ठूला जनप्रदर्शनमा लागिरहेकै छन् । त्यसमाथि सरकारलाई सतर्क पार्नुपर्ने विपक्षी दलले देशभरिबाट मान्छे बटुलेर नारायणी किनारमा थुपारेका दृश्य यसै हप्ताका हुन् । सत्तारुढ दलले पनि प्रदेशगत भेलाहरू गरिरहेकै छ । अबको हप्ता देशभरिबाट महाधिवेशनका नाममा एक/डेढ लाख मान्छे राजधानी आउँदै छन् र उनीहरू कम्तीमा तीन/चार दिन त बस्छन् नै । त्यसका लागि सरकारले अपनाउनुपर्ने सतर्कताको कुनै संकेत पाइएको छैन । यो महाधिवेशनमा भारतबाट पनि मान्छे आउँछन् प्रतिनिधि भएर, जसरी विपक्षीको भेलामा आएका थिए ।

यस्तो बेला सरकारको सतर्कता भने केही पाइँदैन । सरकारी दलले नै भेला गरेको अवस्था छ भने त्यसलाई रोक्ने को हो भन्ने प्रश्न उठ्छ नै । एमालेको महाधिवेशनमा त्यसका एक जना पदाधिकारीलाई नै संक्रमण भएको थियो । उच्च ज्वरोका कारण उनी भिडभाडमा जान सकेनन् । परीक्षण गर्दा कोरोना देखियो । यदि कोरोनाको परीक्षण गरिएको थिएन र उनी खुला हिँडेका भए यो संक्रमण कसरी देशभरि फैलने थियो भन्ने अनुमान मात्र गर्न सकिन्छ । यतिबेला प्रश्न उठेको छ सत्तारुढ दल कांग्रेसको यो महाधिवेशनमा सुरक्षाको कस्तो व्यवस्था गरेको छ भन्ने । कोरोनाको पुरानै भेरिएन्ट नै विस्तारका लागि वातावरण बनेको अवस्था छ भने नयाँ भेरिएन्टले त झनै सहजता पाउला कि भन्ने चिन्ता हो । त्यसका लागि के गरिँदै छ जवाफ आउनुपर्छ । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया