Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयउद्योग जति ठूलो योगदान उति सानो !

उद्योग जति ठूलो योगदान उति सानो !


काठमाडौं । सामान्यतया हरेकको सोचाइ के हुन्छ भने देशमा उद्योग कलकारखानाहरू जति ठूला भए, जति ठूलो लगानीबाट खडा भए र जति ठूलो क्षेत्रफल ओगटे त्यति नै तिनको योगदान पनि उस्तै होला अर्थात् ठूलै होला । यो एउटा मान्यता पनि हुनसक्छ, ठूलाको योगदान ठूलै हुन्छ वा हुनुपर्छ भन्ने । तर अवस्था कस्तो देखियो भने उद्योग जति ठूला भए देशको आर्थिक वृद्धिमा तिनको योगदान भने उति नै सानो रहेको पाइयो । यो कुरा सामान्यतया पत्याउन नसकिएला तर सरकारी अध्ययनले नै यस्तो चित्र देखाएको छ ।

ठूला उद्योगले ठूलै सुविधा पाएका हुन्छन् । उद्योग स्थापनाका प्रारम्भिक दिनमा उसले पाउने सुविधाको अंक, अन्तःशुल्क र अन्य प्रकारका कर छुट ठूलै अंकमा प्राप्त गरेको हुन्छ । त्यसको तुलनामा साना उद्योगले त्यस्तो सुविधा पाएका हुँदैनन् । पाए पनि सानो अंश हुन्छ । तर तिनै साना उद्योगको योगदान भने ठूलो रहेको देखियो । यसले औद्योगिक अवस्थाको एउटा नयाँ पाटो देखाएको छ ।

हालै सार्वजनिक भएको ‘औद्योगिक क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा के–कस्तो योगदान दिएका रहेछन्’ भन्ने अध्ययनमा कुल गार्हस्थ्य उत्पादनमा ९० प्रतिशत भारको योगदान लघु, घरेलु तथा साना उद्योगले दिएको भेटियो । लघु, घरेलु तथा साना उद्योगको तुलनामा ठूला उद्योगहरू लगानीमा त ठूला देखिए तर योगदानमा सानाभन्दा धेरै साना देखिए । यसरी सानाको योगदान ९० प्रतिशत रहेको ठाउँमा ठूलाको भने १० प्रतिशत मात्र । वास्तवमा नै यो चित्र आश्चर्यलाग्दो छ ।

पछिल्लो समय सरकारको एउटा निकायले मुलुकका उद्योगको बितेको ३१ वर्षको अवधिको विभिन्न पक्षको अध्ययन गरेको थियो । त्यसमा छ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योग समेटिएका थिए, जसबाट आठ खर्बभन्दा बढी पुँजी लगानी र ३२ लाखभन्दा बढीले रोजगारी पाएका देखियो ।

अध्ययनको नाम ‘लघु, घरेलु तथा साना उद्योग तथ्यांक ०७७/०७८’ थियो र अध्ययन गर्ने निकाय उद्योग विभाग । यो अध्ययनको समय आर्थिक वर्ष ०४६/०४७ देखि ०७७/०७८ सम्मको थियो । त्यसमा देशव्यापी रूपमा छ लाख दुई हजार नौ सय २१ वटा लघु, घरेलु तथा साना उद्योग दर्ता भएर तिनले विभिन्न प्रकारका औद्योगिक काम गरिरहेका पाइयो । त्यसैमा उल्लिखित अंकको लगानी र उल्लिखित अंकको संख्याले रोजगारी पाएको देखिएको हो । लघु, घरेलु तथा साना उद्योगको तुलनामा ठूला उद्योग भने योगदानमा उन्नत देखिएनन् वा भेटिएनन् । देशको कुल गार्हस्थ्य उत्पादनमा सबै प्रकारका उद्योग क्षेत्रको योगदान पाँच दशमलव छ प्रतिशत रहेको छ । यो अध्ययन पनि त्यसैका आधारमा भएको हो । त्यसमा ९० प्रतिशतको हाराहारीमा योगदान पु-याउने उद्योगहरू लघु, घरेलु तथा साना उद्योग विभागको निष्कर्ष आयो ।

देश आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनको चरणमा छ । यो पक्षबाट हेर्दा पनि अध्ययनले देखाएअनुसार पनि लघु, घरेलु तथा साना उद्योग बढी योगदान दिनेमा प्रकट भए । पछिल्लो समय देखिएको व्यापार असन्तुलनको खाडलमा जे–जति मात्रामा होस् बढी निर्यात गराउने उद्योगमा साना तथा घरेलु नै रहे । यसले सम्भावनाको ढोका खोल्छ । यसको मतलव ठूला उद्योगमा लगानी नगर्ने भन्ने होइन । सुविधाका रूपमा ठूलाले जति उपभोग गर्छन् त्यो वातावरण सानालाई पनि उपलब्ध भए योगदान झन् बढ्नेरहेछ भन्ने यसको संकेत हुनुपर्छ । यो अध्ययनको मर्मप्रति राज्यको ध्यान जाओस् । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया