Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयआयात प्रतिबन्धको असर बजारमा

आयात प्रतिबन्धको असर बजारमा


काठमाडौँ । केही समययता नेपाली बजार महँगीले छोई नसक्नु भएको छ । यति धेरै महँगी किन बढयो भन्ने कारण भने छैन । सात समुद्रपारिको एउटा युद्धका कारण यस्तो भयो भनिन्छ । एउटा त पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेर पनि बजारलाई यस प्रकारले प्रभावित पारेको हुनसक्छ । पेट्रोलियम पदार्थ देशको आवश्यकीय वस्तुभित्र पर्छ भने त्यसमा सरकारले लगाएको अत्यधिक करमा पुनरावलोकन होस् भनी चोतर्फी सुझाव आइरहे पनि सरकारले मानेन ।

यो पदार्थबाट पूर्वाधार निर्माण भनी त्यसका नाममा समेत कर लिइएको अवस्था छ । संसारका कतिपय देशले यस्तो संकटका बेला कर घटाउने गरेका छन् । युद्धको कारणले यस्तो भएको हो भने त्यो सधैँ रहने कुरा होइन । एक दिन युद्ध रोकिएर स्थिति सामान्य हुन सक्छ । त्यस बेलासम्म कुनै पनि अस्थायी व्यवस्था हुन सक्थ्यो । तर भएन । बरु सरकार सरकारी कार्यालय दुई दिन बिदा गर्नेतर्फ लाग्यो, जसले सेवाग्राहीलाई मर्का पर्न सक्छ । अर्थात् फेरि दुःख पाउनेचाहिँ नागरिक नै भए ।

यही बेला सरकारले विदेशी मुद्रा सञ्चिति घट्दै गएको कारण देखाएर विलासी वस्तुको आयात रोकिदियो । ती विलासी वस्तुको परिभाषा पनि आफ्नै प्रकारले भयो । जस्तो स्वाथ्यका लागि हानिकारक वस्तु भनियो तर समान प्रकृतिका अन्य वस्तुचाहिँ आउने भए । यसले आयात रोकिँदा वस्तुमा व्यापकरूपको चलखेल भएको बुझायो, जसको जवाफ सरकारले दिन सकेको छैन । जब एउटै प्रकारका वस्तुमा कुनै प्रतिबन्धित हुने र कुनै खुला छाड्ने भयो भने त्यसलाई छानीछानी चलखेलका आधारमा आयात बन्देज लगाएको भन्नुपर्ने हुन्छ ।

पछिल्लो समय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन महिनालाई रोकेका वस्तुमा मोटरसाइकल र तिनका पार्टपुर्जा पनि पर्छन् । मोटरसाइकल त रोकियो अरे तिनका पार्टपुर्जा पनि रोकिँदा मर्कामा पर्ने भनेका उपभोक्ता नै हुन् । व्यापारीले यी वस्तुको मूल्य जति भने पनि हुने भयो । त्यसपछि बजार जति महँगो हुन्छ त्यसपछि कहिल्यै घट्दैन । अरु सामान पनि उदाहरणमा छन्, जसले चलखेल भएको बुझाउँछ ।

जस्तोः लेज, कुरकुरे, कुरमुरेमा बन्देज लगाइयो तर सुपारी, भुजियाहरू भने आयात भइरहने भए । स्वास्थ्यमा जोखिम बढाउने वस्तुमा प्रतिबन्ध लगाइएको भनिएको छ । बिँडीको पात, रजनीगन्धा पान मसाला, पानको पातदेखि हल्दिरामको भुजियालगायतका वस्तु भने खुला छन् ।

स्वाभाविक छ, आयात रोकेपछि ती वस्तुको आयात कालोजरीबाट हुने र त्यसले बजारलाई झनै छोई नसक्नु पार्ने हुन्छ । चुनावका बेला यस्तो काम भएकाले त्यसलाई सरकारले रोक्न पनि सक्तैन । नेपालको बजार अनुगमन त्यसै पनि सधैँ आलोचित छ । एक पूर्वमन्त्रीका अनुसार आयात रोक्दा व्यापारीले अभाव सिर्जना गर्छन् । कालोबजारी बढ्छ । त्यसको मारमा जनता नै पर्ने हो । रोकिएको छ विलासिताका वस्तु तर महँगो भएको छ, खाद्यवस्तु । यस्तो किन भयो वा हुँदै छ भन्ने सरकारले सामान्य खोजीनीति समेत गरेको देखिएन ।

संकटग्रस्त अर्थतन्त्रले पनि प्रभावित हुने त जनता नै हो । एउटा सार्क देश श्रीलंकामा जस्तो संकट आयो त्यहाँका जनताले उपचार समेत पाउन छाडेर अकालमा मृत्युवरण गर्नुपरेका समाचार आइरहेका छन् । तर त्यस्तो संकट टार्ने नाममा बजारलाई अराजक बनाउनेहरूलाई पनि छाड्न भएन । हुलमुलमा विलासिताका र आवश्यकीय वस्तु भेद गर्न सकिएन भने अनर्थ हुन्छ । त्यसले नै हो बजारलाई अराजक र नियन्त्रणभन्दा धेरै पर पु¥याउने । अहिले गरिएको आयात प्रतिबन्धमा सरकारले बजारको समुचित अध्ययन गरेको समेत देखिएन । त्यसैले यो काम हचुवाका भरमा र चलखेलका आधारमा गरिएको भनी आरोप लागेको हुनुपर्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x