Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयप्रधानमन्त्रीको मृगौला प्रत्यारोपण

प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण


प्रधानमन्त्री केपी ओलीको आज स्वदेशमै मृगौला प्रत्यारोपण गरिँदै छ । उनको मृगौला प्रत्यारोपण गर्न लागिएको यो द्रोस्रो पटक हो । यसअघि उनको मृगौला प्रत्यारोपण भारतमा गरिएको थियो । १२ वर्षअघि भारतमा गरिएको मृगौलाले काम गर्न छाडेपछि झण्डै एक वर्षदेखि डाइलासिस गर्ने गरिएको छ । नाताले भान्जी पर्ने समीक्षा सङ्ग्रौला ज्ञवलीले प्रधानमन्त्री ओलीलाई मृगौला दिन लागेकी हुन् । उनी अन्जना घिमिरेकी भान्जी हुन् । घिमिरेले प्रधानमन्त्री ओलीलाई पहिलो पटक मृगौला दिएकी थिइन् । उनी नाताले प्रधानमन्त्री ओलीको बुहारी हुन् । दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओली सोमबार नै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका छन् र मंगलबार मृगौला प्रत्यारोपणको पूर्वतयारीका क्रममा प्रधानमन्त्री ओलीको आवश्यक सबै परीक्षण भएको छ र आज बुधबार उनको दोस्रो पटक मृगौला प्रत्यारोपण हुनेछ ।उनीमाथि मृगौला प्रत्यारोपण गर्ने प्रक्रियालाई चिकित्सक विज्ञानका पादरर्वीहरूले अवसर र चुनौती दुवै ठानेका छन् । उनीमाथि मृगौला प्रत्यारोपण गर्दा कुनै कमी कमजोरी हुन नदिन उत्तिकै सजगता अपनाइएको छ ।

देशमा गएर प्रत्यारोपण नगर्ने प्रधानमन्त्री ओलीको इच्छाअनुसार विदेशी चिकित्सक टोलीलाई समेत नेपाल झिकाएर नेपाली चिकित्सकहरूको सहयोगमा प्रधानमन्त्री ओलीमाथि दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न लागिएको हो । माक्स अस्पताल दिल्लीका डा. अनन्तकुमारको टोली नेपाल आइसकेको छ र उनकै नेतृत्वमा प्रधानमन्त्री ओलीमाथि मृगौला प्रत्यारोपण गरिनेछ । नेपाली डाक्टर प्रेमराजको टिमलाई सहयोग गर्नेछ । सन् २००८ मा दिल्लीको एपोलो हस्पिटलमा डा. अनन्तकुमारको अगुवाइमा प्रधानमन्त्री ओलीको पहिलो मृगौला प्रत्यारोपण भएको थियो । गतवर्ष सिंगापुरमा पनि यही टिमले उपचार गरेको थियो र सिंगापुर लैजानुअघि प्रधानमन्त्री ओलीलाई सैनिक अस्पताल छाउनीमा पनि यही डा. अनन्तकुमारको टोलीले परीक्षण गरेर सिंगापुर जान सिफारिस गरेको थियो । त्यही सेवाका कारण गतवर्षको गणतन्त्र दिवसमा डा. अनन्तकुमारलाई प्रबल जनसेवा श्री प्रदान गरिएको थियो । सरकारले यो पाटोलाई ओझेलमा राखेर प्रधानमन्त्री स्वास्थ्य उपचारलाई सस्तो लोकप्रियता हासिल गर्ने माध्यम बनाएको छ । सरकारले यस्तो गर्नु हुँदैन थियो । पहिला पनि यस्तो संवेदनशील कुरालाई सरकारले जनतासमक्ष पारदर्शीरूपमा राखेन । जनतालाई गुमराहमा राखेर मानसिक यातना दियो । प्रधानमन्त्री एउटा पार्टीका होइनन्, न कुनै एउटा गुटको मात्रै । प्रधानमन्त्री देशका सबै जनताका साझा प्रतिनिधि हुन् । तर, अहिले नेकपाले आफ्नो मात्रै हो भनेर भ्रम छर्ने दुष्प्रयास भइरहेको छ । हामीलाई केही गरुन् या नगरुन्, प्रधानमन्त्री हाम्रा पनि हुन् । प्रधानमन्त्री निरोगी र स्वस्थ हुनुपर्दछ । प्रधानमन्त्रीको उपचारमा कुनै कमी हुनु हुँदैन प्रधानमन्त्रीको उपचार पारदर्शी हुनुपर्दछ । प्रधानमन्त्रीको उपचार पूर्णरूपमा सफल हुनु पर्दछ, प्रधानमन्त्रीको दोस्रो पटक गर्न लागिएको मृगौला प्रत्यारोपण पूर्णरूपमा सफल हुनु पर्दछ । भगवानले प्रधानमन्त्री ओलीलाई संरक्षण गरुन्, स्वस्थ बन्न उहाँलाई शक्ति प्रदान गरुन् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया