Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकोरोनाग्रस्त देशको श्रमस्वीकृति कस्तो ?

कोरोनाग्रस्त देशको श्रमस्वीकृति कस्तो ?


कोरोना भाइरस (कोभिड १९)को प्रकोप यतिबेला विश्वव्यापी आतङ्कको विषय भएको छ । विद्युतीय माध्यमबाहेक मानिसका सम्पर्कहरू छिन्नभिन्न भएका छन् । कतिपय देशमा मानिसलाई आफ्नो घरबाट बाहिर ननिस्कन आदेश नै जारी गरिएको छ भने त्यहीअनुसारका हिँडडुलको गतिलाई सीमित पारिएको छ । पछिलो समय खाडी देश कतारले १४ वटा देशका नागरिकलाई आफ्नो देशमा प्रवेश रोकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वका एक सय एकवटा देशमा यो भाइरस विस्तारित भएको कारण यी देशका सरकार र नागरिकले सतर्कता अपनाउन निरन्तर सुझाइरहेको छ । यही सन्दर्भमा हो विभिन्न देशहरूले आफ्नो मुलुकमा अन्य मुलुकका नागरिकहरूको प्रवेशमा कडाइ गर्ने गरेका हुन्  । यो प्रकोपको फैलावटले नै यसप्रतिको सतर्कतालाई उच्च प्राथमिकता खोजेको बुझाउँछ । यस्तो सतर्कता नागरिक र सरकार दुवैतर्फबाट आवश्यक छ भन्ने उल्लेख भैरहनु पर्दैन ।

यहीबीचमा यता नेपालमा एउटा समाचार आयो, कोरोना भाइरसको त्रासका बीचमा पनि नेपालीहरूले चीन जानको लागि भन्दै श्रम स्वीकृति लिइरहेका र सरकारले पनि त्यस्तो स्वीकृति दिइरहेको भन्ने । विवरणअनुसार गएको डिसेम्बरदेखि फेब्रुअरी (करिब मंसिरदेखि माघसम्म)को अवधिमा कोरोनाको उत्पत्ति भएको देश चीन जान भन्दै ९८ जना नेपालीले श्रम स्वीकृति लिएका पाइयो भने सरकारले पनि त्यस्तो स्वीकृति दिएको देखियो । यसबारे सरकारी अधिकारीहरू स्वीकृति लिएकाहरू जान्छन् नै भन्ने छैन छैन भन्ने प्रतिक्रिया दिइरहेका छन् । गएको माघ महिना यो प्रकोप विस्तारको चरम अवस्था हो । त्यसबेला मात्रै पनि १७ पुरुष र तीन महिला गरी २० जनालाई श्रमका लागि चीन जान भन्दै श्रम स्वीकृति दिइयो  । यस्तोबेला पनि आफ्ना नागरिकप्रति सरकार सतर्क नभएको सन्देश दिन्छ, यसले । यो भाइरस उत्पन्न भएको ठाउँबाट विद्यार्थीहरूलाई उद्धार गर्न कत्रो महाभारत परेको थियो भन्ने कुरा सरकराले तत्कालै बिर्सिएको छ । यो भाइरस चीनमा नै उत्पन्न भएको भन्ने कुरा स्थापित नै भइसकेको छ । त्यस्तो बेलामा आफ्ना नागरिकलाई सतर्क गराउने काम सरकारको हो । यो ठाउँमा त्यस्तो कर्तव्य पालना गरेको देखिएन, उल्टो भाइरस फैलिएको क्षेत्रमा जाने अनुमति दिइरहेको छ ।

चीनमा मात्र होइन यतिबेला कोरोना भाइरसको प्रकोप बढ्दै गएका अन्य मुलुकमा समेत यस्तो स्वीकृति दिन नहुने हो । कम्तीमा दुई÷तीन महिना त यस्तो पूर्वसतर्कता अपनाउनै पर्छ । यो ठाउँमा मान्छे आफैँ जान खोज्छन् त के गर्ने भनेर सरकार पन्छिन मिल्दैन । अहिले दिएको यस्तो स्वीकृतका आधारमा विदेश गएकाहरू त्यही संक्रमित भए भने के गर्ने भन्ने प्रश्न सामान्य नहोला । यस्तो श्रम स्वीकृति दिएको देश चीनमा कोरोना भाइरसको संक्रमणमा परेकाहरूको संख्या ८० हजारभन्दा बढी पुगेको छ । चीनपछि इटालीमा कोरोनाको असर बढी देखिएको छ । इटालीमा नौ हजार बढीलाई कोरोना संक्रमण देखिएको छ । इटालीमा अहिलेसम्म चार सय ६३ जनाको मृत्यु भएको छ । यस्तो बेला कुनै नागरिकले इटाली जान्छु भन्यो भने अनुमति दिने कि नदिने ? चीनका लागि यस्तो श्रम स्वीकृति दिँदा त्यो देश अहिलेको अवस्थामा गन्तव्ययोग्य हो कि होइन भन्ने अध्ययन हुन जरुरी थियो । यो स्वीकृतिले त्यस्तो अध्ययन गरेको भन्ने देखाएन ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया