Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयविशेष सावधानी अपनाऔँ

विशेष सावधानी अपनाऔँ


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यो वर्ष अर्थात् २०८० सालमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरेको छ । केही दिनपहिले उसले खेतीको सिजनमै कम वर्षा हुने प्रक्षेपण गरेको थियो । कम वर्षाको कारण यो वर्ष उत्पादनमा केही ह्रास आउने संकेत गरेको छ । वर्षा कम भए पनि बर्खा याममा विपत्जन्य घटना भने हुनेछ । विभागका अनुसार केही क्षेत्रमा भने अधिक वर्षा हुनेछ । कतै धेरै र कतै कम पानी पर्नाले समग्र प्रणालीलाई असर पार्नेछ । भारी र कम वर्षाको कारण प्राकृतिक विपत्ति आउनेमा शंका गरिरहनुपर्ने अवस्था देखिँदैन । वर्षाको कारण वर्षेनी नेपालमा प्राकृतिक विपत्ति आउने गरेको छ । तर, त्यस्तो विपत्ति आउनुअगाडि सरकारले सुरक्षाको पूर्वतयारी गर्नुपर्नेमा कहिल्यै पनि त्यस्तो तयारी गर्ने गरेको छैन । पूर्वतयारी नभएको कारण बर्खा लागेपछि धेरै धनजनको क्षति हुनेगरेको छ । त्यसलाई जोगाउनका लागि विपत्ति नआउँदै तयारीका काम थाल्नुपर्नेमा कुनै क्षेत्रमा घटना भएपछि मात्र थप अन्य ठाउँमा क्षेति नहोस् भनेर तयारीका काम थाल्ने चलन छ ।

जलवायु परिवर्तनको कारण पछिल्ला बर्खाहरुमा प्रक्षेपण गरिएको भन्दा बढी क्षति हुनेगरेको छ । पानी बढी परे पनि कम परे पनि क्षतिको अवस्थामा भने वृद्धि हुनेगरेको छ । देशको भौगोलिक अवस्थाअनुसार पनि सरकारले पूर्वतयारीका लागि प्रयास गर्नुपर्नेमा विपत्ति सुरु भइसकेपछि त्यसलाई रोकथामको काम थाल्ने चलन छ । यस्तो परम्परागत चलनलाई परिवर्तन नगरेसम्म नेपालमा प्राकृतिक विपत्तिबाट धनजनलाई जोगाउन कठिन पर्छ । सरकारले विपत्को पूर्वतयारी, अस्थायी आश्रयस्थल व्यवस्थापन र खाद्यान्नको आवश्यक व्यवस्थापनको पूर्वतयारी गरेमा मात्र प्राकृतिक प्रकोपबाट पीडितहरुलाई जोगाउन सकिन्छ । तर, त्यसका लागि पनि बजेट अभाव देखाउने सरकारी चलन छ ।

सरदर वर्षा कति हुन्छ भन्नेबारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गर्ने गरे पनि जुनसुकै प्राकृतिक विपत्तिबाट जोगाउने, उद्दार गर्ने र राहत वितरण गर्ने जिम्मा भने गृह मन्त्रालयलाई हुने गर्छ । मौसम विज्ञान विभागसँगको सहकार्यमा गृह मन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरिरहेको छ । त्यसले जनधनलाई क्षति हुनबाट रोक्ने प्रयास गरे पनि भौतिक पूर्वाधारमा हुने क्षतिले भने दीर्घकालीन असर पार्नेछ । त्यसका लागि सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा मातहतका कार्यालयहरुलाई चनाखो बनाउनुपर्नेछ । पानी कम पर्ने भनिए पनि यही जेठ १८ देखि असोज १३ सम्मको चार महिना मनसुनको सिजन हो । यो सिजनलाई नेपालमा यो वर्ष अति जोखिमपूर्ण अवस्थाको रुपमा लिइएको छ । यो जेखिमपूर्ण अवस्थामा एउटा सरकार मात्र होइन तीनवटै तहका सरकारले पूर्वतयारीलाई प्राथमिकता दिने हो भने यसले क्षति कम मात्र होइन प्रभाव पनि कम समयका लागि मात्र पार्नेछ । पूर्वतयारी भयो भने सडक, सिँचाइलगायतका ठूला संरचनामा प्राकृतिक विपत्तिको कारण हुने क्षतिलाई पनि न्यूनीकरण गर्न सकिन्छ । सरकारबाट मात्र होइन आम नागरिकबाट पनि प्राकृतिक विपत्तिको बारेमा विशेष सावधानी अपनाउने काम भयो भने त्यसबाट मानवीय तथा अन्य भौतिक संरचनामा कमभन्दा कम क्षति हुनेछ । क्षति कम हुनु भनेको आर्थिकरुपमा पनि जोगाउनु हो । त्यही भएर प्राकृतिक विपत्तिलाई राज्यको मात्र काम भन्नुभन्दा पनि सबैको हो भनेर सबैले पूर्वतयारी गर्ने हो भने क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ । त्यसतर्फ सबैले आ–आफ्नो क्षेत्रबाट प्रयासको थालनी गर्नुपर्छ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया