Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमहामारीपछि चिनियाँ अर्थतन्त्र लयमा

महामारीपछि चिनियाँ अर्थतन्त्र लयमा


बेइजिङ ।
सन् २०२१ को पहिलो दुई महिनामा चिनियाँ अर्थतन्त्र नाटकीय रुपमा लयमा फर्किएको तथ्यांकले देखाएको छ । योसँगै कोरोना महामारीका बाबजुद विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चाँडै पुनरुत्थान हुने देखिएको हो । चीनको औद्योगिक क्षेत्रको उत्पादन ३५.१ प्रतिशतले जनवरी र फेब्रुअरीमा बढेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा समानप्रायः हो ।

यद्यपि अघिल्लो वर्षसँगको तुलनामा अत्यधिक वृद्धि देखिएको हो । किनकि अघिल्लो वर्ष चीनमा अधिकांश कारखानाहरु महामारीका कारण लकडाउनमा परेका थिए । यसो हुँदाहुँदै पनि सोमबारको तथ्यांकले विश्लेषकहरुको अनुमानलाई पछि पारेको छ । सन् २०१९ मा महामारीअघिको अवस्थालाई हेर्ने हो भने चीनमा आर्थिक गतिविधि कस्तो भइरहेको छ भन्ने बुझ्न सकिन्छ । सन् २०१९ को पहिलो दुई महिनामा चिनियाँ औद्योगिक क्षेत्र १६.९ प्रतिशतले माथि उठेको थियो । विदेशमा बढ्दो मागले चिनियाँ वस्तुको उच्च निर्यात भएको थियो ।

चीनले सन् २०२१ का लागि छ प्रतिशतभन्दा धेरैको आर्थिक वृद्धिदर लक्ष्य राखेको छ । तर विश्लेषकहरुले भने आठ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने बताइरहेका छन् । गत वर्ष पनि चीन विश्वका मुख्य अर्थतन्त्रमध्ये सकारात्मक आर्थिक वृद्धि देख्ने एकमात्र देश थियो । गत वर्ष चीनले २.३ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको थियो । चिनियाँ तथ्यांक ब्युरोकी प्रवक्ता लिउ आइहुवा चिनियाँ अर्थतन्त्र अझै पुनरुत्थान हुनुपर्ने बताउँछिन् ।

त्यस्तै चीनको खुद्रा बिक्री पनि उक्त अवधिमा ३३.८ प्रतिशतले बढेको छ । तर बेरोजगारी दर भने डिसेम्बरमा ५.२ प्रतिशत रहेकोमा बढेर ५.५ प्रतिशत पुगेको छ । अर्थशास्त्रीहरुले उद्योग क्षेत्र र निर्यातको बलियो अवस्था रहे पनि उपभोक्ता क्षेत्रको पुनरुत्थानमा ढिलाइ रहेको बताएका छन् । खुद्रा क्षेत्रको तथ्यांकअनुसार चीनको ज्वेलरी ९९ प्रतिशतले र कार ७८ प्रतिशतले बिक्री बढेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया