Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारट्विटरका नयाँ प्रमुख कार्यकारी पराग अग्रवाल को हुन् ?

ट्विटरका नयाँ प्रमुख कार्यकारी पराग अग्रवाल को हुन् ?


अमेरिका । ट्विटरका नयाँ प्रमुख कार्यकारी अधिकृत पराग अग्रवाल सिलिकन भ्यालीकै ‘हाइप्रोफाइल’ र राजनीतिक रुपमा अस्थिर मानिने काम सम्हाल्न आइपुगेका छन् । बलियो प्राविधिक पृष्ठभूमिका उनले अब ट्विटरको नेतृत्व गर्नेछन् । ३७ वर्षीय भारतीय आप्रवासी अग्रवाल सेलिब्रिटी सीईओहरुको वरीयताबाहिरबाट आएका हुन् । उनले फेसबुकका मार्क जुकरबर्ग, स्पेस एक्स र टेस्लाका एलन मस्कको वरीयतामा पर्ने ज्याक डोर्सेलाई प्रतिस्थापन गर्दै छन् ।

ती ब्रान्ड बनेका कम्पनीका नेतृत्वकर्ताहरु प्रायः समाचारहरुमा आइरहन्छन् । विगत ४ वर्षयता ट्विटरका प्रमुख प्रविधि अधिकृत रहेका अग्रवालको सीईओ नियुक्तिलाई वालस्ट्रिटले इन्टरनेटको नयाँ युग ‘मेटाभर्स’तिर ट्विटरलाई डोर्याउने रोजाइका व्यक्तिका रुपमा लिएको छ । त्यसो त अग्रवाल सीईओमा ‘सेफ पिक’ हुन् । लगानीकर्ताले पनि उनलाई रुचाएको बताउँछन् सेरा रिसर्चका विश्लेषक एन्जेलो जिनो । उनका अनुसार ट्विटरको सेयरसदस्य एलियट मेनेजमेन्ट कर्पले डोर्सेलाई राजीनामाका लागि दबाब सिर्जना गरेको थियो ।

एलियटले सोमबारै एक वक्तव्य जारी गरी अग्रवाल र नयाँ बोर्ड प्रमुख ब्रेट टेल महत्वपूर्ण क्षणमा ट्विटरका लागि उपयुक्त नेतृत्वकर्ता रहेको बताएको छ । टेलर बिजनेस सफ्टवेयर कम्पनी सेल्सफोर्सका अध्यक्ष तथा प्रमुख सञ्चालन अधिकृत (सीओओ) हुन् । यता अग्रवालले ठूला प्रविधि कम्पनीका भारतीय–अमेरिकी सीईओहरुको बढ्दो सूचीमा समावेश भएका छन् । यसमा गुगलको मातृकम्पनी अल्फाबेटका सुन्दर पिचाई, माइक्रोसफ्टका सत्या नाडेला र आईबीएमका अरविन्द कृष्णसँगै अग्रवाल पनि जोडिएका हुन् ।

अग्रवाल सन् २०११ मा सनफ्रान्सिस्कोमा रहेको ट्विटरमा जोडिएका थिए । त्यतिबेला ट्विटरका १ हजार कर्मचारी मात्रै थिए । सन् २०१७ यता उनी कम्पनीको प्रमुख प्रविधि अधिकृत रहँदै आएका छन् । गत वर्षको अन्त्यसम्म कम्पनीको कार्यबल ५ हजार ५ सय संख्याको बन्यो । अग्रवालले यसअघि माइक्रोसफ्ट, याहु, एटीएन्डटीजस्ता चर्चित कम्पनीमा अनुसन्धानको भूमिका निर्वाह गरिसकेका छन् ।

ट्विटरमा उनले मेसिन सिकाइ, राजस्व र कन्जुमर इन्जिनियरिङमाथि काम गरे । प्रयोगकर्ता वृद्धिमा सहयोग गरे । उनले स्ट्यानफोर्डमा र मुम्बईस्थित इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा अध्ययन गरेका छन् । हुन त ट्विटरका प्रयोगकर्ता राजनीतिज्ञ, कलाकारजस्ता हाइप्रोफाइल व्यक्तित्वहरु र पत्रकारहरु छन्, तर संख्यात्मक हिसाबले यो फेसबुक, युट्युब र टिकटकभन्दा निकै पछि छ । यसका २० करोड दैनिक सक्रिय प्रयोगकर्ता रहेका छन् ।

सीईओका रुपमा अग्रवालले प्राविधिकबाहेकका कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ, सामाजिक र राजनीतिक मुद्दाहरुसँग जुध्नुपर्ने हुन्छ । त्यसमा पनि अफवाह, झूटा सूचना, दुव्र्यवहार र मानसिक स्वास्थ्यमाथिका असरहरुसँग लड्न यस्ता कम्पनीहरुले संघर्ष गर्दै आएका छन् । अग्रवालले जीवनमा छिटै ट्विटरजस्तो राजनीतिक भनाइका लागि केन्द्रीय अनलाइन प्लेटफर्मको सीईओका रुपमा परिचय बनाउन सफल भएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x