Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटाटाका सवारीसाधन बिक्री ह्वात्तै बढ्यो

टाटाका सवारीसाधन बिक्री ह्वात्तै बढ्यो


नयाँ दिल्ली । भारतीय बजारमा नोभेम्बर महिनामा मारुती, एमजी मोटर र हुन्डाईलाई बिक्रीमा झट्का लागेको छ । टाटा मोटर्सको बिक्री भने बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मारुती सुजुकी इन्डिया लिमिटेडको गत महिना कुल बिक्री एक लाख ३९ हजार एक सय ८४ युनिट मात्र पुगेको हो ।

यसमा घरेलु बिक्रीको हिस्सा एक लाख १३ हजार १७ युनिट र निर्यातको हिस्सा २१ हजार ३ सय ९३ युनिट रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा मारुतीले कुल एक लाख ५३ हजार दुई सय २३ युनिट सवारीसाधन बिक्री गरेको थियो । त्यसमा घरेलु बिक्री एक लाख ३८ हजार नौ सय ५६ युनिट र निर्यात नौ हजार चार रहेको छ । तर कम्पनीले अहिलेसम्मकै धेरै गाडी बाह्य बजारमा निर्यात गरेको जनाएको छ ।

कम्पनीका अनुसार नोभेम्बरमा उत्पादनमा इलेक्ट्रोनिक कम्पोनेन्टहरुको सामान्य प्रभाव भएको छ । घरेलु बजारमा बिक्री भएका वाहनको उत्पादनमा यसको प्रभाव परेको थियो । गत महिना मारुतीको मिनी सेग्मेन्टका कारको बिक्री घटेर क्रमशः १७ हजार चार सय ७३ युनिट र ५७ हजार १९ युनिट रहेको छ । मध्यमआकारका सेडान सीएजको बिक्री पनि घटेर एक हजार ८९ युनिट र इको भ्यानको बिक्री घटेर नौ हजार पाँच सय ७१ युनिट रहनपुगेको छ । युटिलिटी भेहिकल्सको बिक्री बढेर २४ हजार पाँच सय ७४ युनिट पुगेको कम्पनीले जनाएको छ ।

एमजी मोटरको ४० प्रतिशतले घट्यो बिक्री : यता गत महिना एमजी मोटर इन्डियाको खुद्रा बिक्री ४० प्रतिशतले घटेको छ । कम्पनीले नोभेम्बरमा दुई हजार चार सय ८१ युनिट मात्रै बिक्री गरेको हो । खासगरी सेमिकन्डक्टरको अभावको प्रभाव पर्दा उक्त महिनामा उत्पादन नै घटेको कम्पनीले जनाएको छ । एमजीले २०२० नोभेम्बरमा चार हजार एक सय ६३ युनिट बिक्री दर्ता गरेको थियो ।

हुन्डाईको बिक्रीमा २१ प्रतिशत कमी : यता हुन्डाई मोटर इन्डिया लिमिटेड (एचएमआईएल)को नोभेम्बरको कुल बिक्रीमा २१ प्रतिशतले घटेर ४६ हजार नौ सय १० युनिटमा झरेको छ । कम्पनीले गत वर्ष सोही अवधिमा ५९ हजार दुई सय युनिट बिक्री गरेको थियो । नोभेम्बर २०२० को ४८ हजार ८ सय युनिटको तुलनामा यो वर्ष नोभेम्बरमा घरेलु बिक्री २४ प्रतिशतले घटेर ३७ हजार एउटा युनिट पुगेको छ ।

पछिल्लो वर्ष नोभेम्बरको १० हजार ४ सय युनिटको तुलनामा यो वर्ष सोही अवधिमा बाह्य निर्यातमा पनि ५ प्रतिशतले कमी आएर ९ हजार ९ सय ९ युनिट रहन पुगेको छ । कम्पनीले सेमिकन्डक्टर चिप्सको अभावले बिक्रीमा प्रभाव परेको बताएको छ ।

टाटाले बेच्यो २५ प्रतिशत बढी सवारीसाधन : यता टाटा मोटर्सले भने नोभेम्बरमा २५ प्रतिशत बढी गाडी बिक्री गरेको छ । गत महिना कम्पनीले ६२ हजार १ सय ९२ युनिट सवारीसाधन बिक्री गरेको हो ।

कम्पनीले २०२० नोभेम्बरमा ४९ हजार ६ सय ५० युनिट गाडी बिक्री गरेको थियो । टाटा मोटर्सले २१ प्रतिशत वृयद्धिसँगै घरेलुबजारमै ५८ हजार ७३ वटा गाडी बिक्री गर्न सफल भएको छ । अघिल्लो वर्ष सोही अवधिमा उसले ४७ हजार ८ सय ५९ युनिट बिक्री गरेको थियो । घरेलु बजारमा टाटाले पेसेन्जर भेहिकल २९ हजार ७ सय ७८ युनिट बिक्री गरेको छ । गत वर्ष यस्तो संख्या २१ हजार ६ सय ४१ युनिट रहेको थियो ।

घरेलु बजारमा कमर्सियल भेहिकल्सको बिक्री ३२ हजार २ सय ४५ युनिट बिक्री भएको टाटाले जनाएको छ । अघिल्लो वर्ष २७ हजार ९ सय ८२ युनिट बिक्री भएको थियो । जुन यो वर्ष १५ प्रतिशतले बढी हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x