Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदरविलाई सूर्य नेपाल च्यालेन्जको उपाधि

रविलाई सूर्य नेपाल च्यालेन्जको उपाधि


काठमाडौं । डिफेन्डिङ च्याम्पियन एमेच्योर सद्भाव आचार्यलाई सात स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै पूर्व नम्बर एक गल्फर रवि खड्काले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको पाँचौँ प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन् ।

उनले सात वर्षपछि करियरको पहिलो उपाधि जितेका हुन् । सन २०१७ को अप्रिलमा सूर्य नेपाल एनपीजीए म्याच प्ले जितेपछि यो उनको पहिलो उपाधि हो । उपाधिसहित उनले नगद एक लाख प्राप्त गरेका छन् । लगातार दुई दिनका लिडर सद्भाव आचार्यले अन्तिम दिन बिहीबार ६–ओभर ७४ को खराब प्रदर्शन गर्दा उपाधि रक्षा गर्ने मौका गुमाए । समग्रमा १–अन्डर दुई सय ७१ को स्कोरमा उनले चित्त बुझाए । उनले एमेच्योरतर्फ उपाधि जितेका छन् । एमेच्योरतर्फ समग्रमा ७–ओभर दुई सय ७९ को स्कोर मा टासी छिरिङ दोस्रो भए ।

समग्रमा १–ओभर दुई सय ७३ सहित प्रोतर्फ दिनेश प्रजापति, दीपक मगर र धनबहादुर थापाले संयुक्तरूपमा दोस्रो स्थान बाँडे । उनीहरूले समान ५१ हजार छ सय ६५ रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । यस्तै, रामे मगरले समग्रमा ४–ओभर दुई सय ७६ सहित पाँचौँ स्थानमा खेल सकाउँदै ३६ हजार नगद पुरस्कार हात पारे । समग्रमा ५–ओभर दुई सय ७७ को नतिजामा भुवन नगरकोटी, सञ्जय लामा, भुवनकुमार रोक्का र जयराम श्रेष्ठले संयुक्तरूपमा छैटौँ स्थान बाँडे । दाबेदार भुवनले बिहीबार ८–ओभर ७६ को बिर्सनलायक प्रदर्शन गर्दा तेस्रो स्थानबाट तल झर्दै छैटौँ स्थानमा खेल सकाउन बाध्य भए ।

यस्तै, ३–ओभर ७१ स्कोर गर्दा भुवनकुमार रोक्का र जयरामले इभन–पार ६८ मा खेल पूरा गरे । उनीहरूले २७ हजार आठ सय ७५ नगद आफ्नो नाममा लेखाए । समग्रमा १२–ओभर दुई सय ८४ को नतिजामा रमेश अधिकारी दशौँ भए र २१ हजार प्राप्त गरे । अन्तिम १८ होलको खेल सुरू हुँदा रवि सद्भावभन्दा तीन स्ट्रोकले पछि थिए । सद्भावले लय गुमाउँदा रविले सुझबुझपूर्ण प्रदर्शन गरे । रविले पहिलो, दोस्रो, चौथो र आठौँ होलमा बर्डी प्रहार गरे । तेस्रो र सातौँ होलमा एक–एक सट खेर फाले । फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए । यता ३ स्ट्रोकको अग्रतामा दिनको सुरूवात गरेका सद्भावले पहिलो होलमा बर्डी प्रहार गरे पनि तेस्रो होलको डबल बोगी र आठौँ होलको बोगीले फ्रन्ट नाइन २–ओभर ३६ मा सकाए । नौ होलको समाप्तिमा रविले सद्भावलाई एक स्ट्रोकले पछि पारे ।

खेलको टर्निङ प्वाइन्ट दशौं होल बन्यो । सद्भावले टी सट जंगलमा प्रहार गरे । दोस्रो सट ओबी खेल्दा यो होलमा ट्रिपल बोगीको सामना गर्न बाध्य भए । यता रविले यही होलमा इगल प्रहार गर्दा दशौं होलको समाप्तिमा रविले सद्भावविरूद्ध छ स्ट्रोकको अग्रता बनाए । यसपछि रविले १७औँ होलमा एक सट खेर फाले भने १८औँ होलको बर्डीले ब्याक नाइन २–अन्डर ३२ मा नै पूरा गरे । सद्भावले दशौँ होलको ट्रिपल बोगीलगत्तै १२औँ होलमा डबल बोगी र १५औँ होलमा बोगीको सामना गरे । १३औँ र १४औँ होलमा एक–एक सट बचाए र ब्याक नाइन ४–ओभर ३८ मा सकाए । दिनेशले फ्रन्ट र ब्याक नाइन दुवै २–अन्डर ३२ मा सकाए । उनले पहिलो, चौथौँ, आठौँ, १०औँ र १५औँ होलमा बर्डी प्रहार गर्दा सातौँ होलमा एक सट खेर फाले ।

दीपकले पहिलो र सातौँ होलमा एक–एक सट बचाउँदा पाँचौँ र नवौँ होलको बोगीले फ्रन्ट नाइन इभन–पार ३४ मा सकाए । यसपछि १३औँ होलको बर्डीविरूद्ध १५औँ र १७औँ होलको बोगीले ब्याक नाइन १–ओभर ३५ मा पूरा गरे । धनले फ्रन्ट नाइन २–ओभर ३६ र ब्याक नाइन १–ओभर ३५ मा पूरा गरे । यो क्रममा उनले पहिलो, ११औँ, १३औँ र १५औँ होलमा बर्डी प्रहार गरे पनि तेस्रो, आठौँ र नवौँ होलमा बोगी खेप्दा १०औँ र १८औँ होलमा डबल बोगीको सामना गरे । ७२ होलको चार दिने प्रतियोगिताको कुल पाँच लाख ७२ हजार दुई सय ५० नगद पुरस्कार राशि रहेको थियो ।

प्रतियोगितामा कुल ३१ प्रोफेसनल र ११ एमेच्योर खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दिप्रा लहरी, पीजीए नेपालका सल्लाहकार घनश्याम थापा, आरएनजीसीका अध्यक्ष मधुकर याकथुम्बा, क्याप्टेन मिथुन राई र कोषाध्यक्ष रोशन राईले पुरस्कार वितरण गरेका थिए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया