Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदसूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा


सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौँ प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश प्रजापति र भुवन नगरकोटी समग्रमा २–अन्डर १ सय ३४ सहित शीर्षस्थानमा रहेका छन् ।उनीहरूले ३६ होलको समाप्तिमा रवि खड्कालाई दुई स्ट्रोकले पछि पारे । दिनेशले बुधबार ४–अन्डर ६४ मा खेल सकाए । भुवनले भने २–अन्डर ६६ को स्कोर कार्ड तयार पारे । समग्रमा इभन–पार एक सय ३६ सहित रवि खड्का तेस्रो स्थानमा छन् । उनले १–अन्डर ६७ को स्कोर दर्ज गरे । समग्रमा १–ओभर एक सय ३७ सहित रामे मगर, निरज तामाङ र भुवन कुमार रोक्का संयुक्तरूपमा चौथो स्थानमा छन् । रामेले ४–अन्डर ६४ को उत्कृष्ट स्कोरमा दोस्रो दिनको खेल सकाए । निरज र भुवनले इभन–पार ६८ स्कोर गरे । यसैगरी जयराम श्रेष्ठ र सञ्जय लामा संयुक्तरूपमा सातौँ स्थानमा छन् । उनीहरूले समग्रमा २–ओभर एक सय ३८ को स्कोर बनाएका छन ।

प्रो कार्ड लिएपछि पहिलो पटक घरेलु टुर खेलिरहेका सुवास तामाङले बुधबार १–अन्डर ६७ सहित समग्रमा ३–ओभर एक सय ३९ को स्कोर गरे । उनी नवौँ स्थानमा रहेका छन । समग्रमा ४–ओभर १ सय ४० सहित संयुक्तरूपमा दशौं स्थान बाँडे । दुवैले २–ओभर ७० मा खेल सकाए । ३६ होलको समाप्तिमा १७–ओभर एक सय ५३ सम्म स्कोर गर्ने २२ प्रोफेसनल र चार एमेच्योर गरी २६ गल्फरले कट बनाएका छन् । प्रोतर्फ तोरण विक्रम शाही, टंकबहादुर कार्की, प्रदीप कुमार लामा, कृष्णमान राजबाहक, टासी घले, भीमसेन चौलागाईँ, वसन्त राज गुरुङ, रामकृष्ण श्रेष्ठ, पशुपति शर्मा, भू–बहादुर गुरुङ र किसन कालीराज सुनारले अन्तिम ३६ होलको लागि स्थान बनाए ।

एमेच्योरतर्फ टासी छिरिङ समग्रमा २–ओभर एक सय ३८ सहित सद्भाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहेका छन् । उनले बुधबार २–अन्डर ६६ को स्कोर निकाले । दाबेदार युवा गल्फर सद्भाव आचार्यले समग्रमा ३–ओभर एक सय ३९ स्कोर खडा गरे । राहुल विश्वकर्मा समग्रमा १०–ओभर एक सय ४६ सहित तेस्रो स्थानमा छन् । यी तीन एमेच्योरसँगै भरत थापा मगरले पनि कट बनाए । चार दिने प्रतियोगितामा कुल पुरस्कार राशी सात लाख तीन हजार पाँच सय रहेको छ । विजेताले एक लाख २० हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः ८२ हजार र ६६ हजार प्राप्त गर्नेछन् । यसैगरी चौथो हुनेले ५५ हजार र पाँचौँ हुने खेलाडीले ४३ हजार नगद हात पार्नेछन् । टप २१ मा पर्ने प्रोफेसनल खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन् ।


क्याटेगोरी : खेलकुद

तपाईको प्रतिक्रिया