Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाललगातार दुई वर्षदेखि विराटनगर भन्सार लक्ष्य नै भेट्टाउन असफल

लगातार दुई वर्षदेखि विराटनगर भन्सार लक्ष्य नै भेट्टाउन असफल


विराटनगर । विराटनगर भन्सार कार्यालयले लगातार दुई वर्ष अर्थात् आर्थिक वर्ष ०७६/७७ र ०७७/०७८ मा निर्धारित लक्ष्यभन्दा अत्यन्तै कम राजस्व असुली गरेको छ ।

विगतमा केही वर्षदेखि अत्यन्तै उत्साहवद्र्धकरूपमा विराटनगर भन्सार कार्यालयले राजस्व संकलन गरिरहेको थियो । तर विराटनगर भन्सार कार्यालयमा २०७६ साल मंसिर २६ गतेबाट बागडोर सम्हाल्न आएका विराटनगर भन्सारका प्रमुख भन्सार अधिकृत शिव भण्डारीको अक्षम कार्यशैलीका कारण लगातार दुई वर्षदेखि भन्सार कार्यालयको राजस्व घट्दै व्यापक कमी आएको भन्सार कर्मचारीले नै दाबी गर्न थालेका छन् ।

भन्सार प्रमुख भण्डारीले बागडोर सम्हालेको आर्थिक वर्ष ०७६/०७७ मा ४९ अर्ब ६४ करोड राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो । तर विराटनगर भन्सारले लक्ष्यभन्दा कम ५७ दशमलव १३ प्रतिशत मात्र राजस्व संकलन गरेको थियो । उक्त वर्ष विराटनगर भन्सारले २८ अर्ब ३६ करोड मात्र राजस्व संकलन गरेको थियो । आर्थिक वर्ष ०७६/०७७ मा पनि विराटनगर भन्सारले आफ्नो निर्धारित लक्ष्य भने पु¥याउन सकेको थिएन ।

अर्थ मन्त्रालयले विराटनगर भन्सार कार्यालयलाई आव ०७७/०७८ मा ४६ अर्ब १४ करोडको राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । तर विराटनगर भन्सार कार्यालयले आफ्नो लक्ष्यअनुसारको राजस्व भने संकलन गर्न सकेन । कार्यालयले कुल लक्ष्यको ८८ दशमलव ५० प्रतिशत मात्र राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले ४० अर्ब ८२ करोड मात्र राजस्व संकलन गरेको हो । सरकारी सेवाको उत्तरार्धमा आइपुगेका प्रमुख भण्डारी राजस्व संकलनमा अक्षम भएसँगै विराटनगर भन्सारको कार्यसम्पादन नै विवादित बन्नपुगेको छ ।

प्रमुख भन्सार अधिकृत भण्डारीले विश्वभर फैलिएको कोभिड १९ बाट भएको लकडाउन र निषेधाज्ञाका कारण निर्धारित लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको दाबी गरेका छन् । तर भन्सार कर्मचारीहरूले भने भन्सार प्रमुख भण्डारीको अक्षम कार्यशैली र भन्सारभित्र बढ्दै गएको भन्सार जाँचपासको सेटिङ हाबी भएपछि राजस्व संकलनमा नराम्रो असर परेको बताउँछन् ।

चालू आर्थिक वर्षको कात्तिक २२ गतेबाट सेवानिवृत्त बन्न लागेका भण्डारीकै कार्यशैलीका कारण पछिल्लो समय विराटनगर भन्सार नाकाबाट धेरैजसो औद्योगिक कच्चा पदार्थ भित्रिने व्यापारिक मालवस्तुको आयात व्यवसायीबाट नाका परिवर्तन गरी वीरगञ्ज, काकरभिट्टा र भैरहवा भन्सारबाट गर्न थालेपछि विराटनगर भन्सारको राजस्वमा उल्लेख्य कमी आएको भन्सारस्रोतले दाबी गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x