Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालआन्तरिक राजस्व दोब्बर पार्ने कार्ययोजना पेस गर्न अर्थमन्त्रीको निर्देशन

आन्तरिक राजस्व दोब्बर पार्ने कार्ययोजना पेस गर्न अर्थमन्त्रीको निर्देशन


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजस्व संकलनको अहिलेको अवस्थाबाट देश विकास सम्भव नरहेको भन्दै आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना पेस गर्न निर्देशन दिएका छन् । बिहीबार आन्तरिक राजस्व विभागको ब्रिफिङ लिने क्रममा मन्त्री शर्माले राजस्व संकलन बढाउन चाहिने जनशक्ति, प्रविधि, तालिम जे आवश्यक पर्छ त्यो उपलब्ध आफूले गराउने बताए ।

साथै उनले करदातालाई कानुन लगाएर कर तिराउने नभई करदाता आफैँले कर तिरुँतिरुँ लाग्ने संस्कृति विकास गर्ने खालको योजना बनाउन पनि निर्देशन दिए । ‘करदाता आफै उत्साहित भएर कर तिर्ने हुनुपर्दछ । त्यस्तो वातावरण निर्माण गर्न मन्त्रालयको तर्फबाट के–के गरिदिनुपर्ने हो त्यसको प्रस्ताव पनि तयार गर्नुहोस्’, मन्त्री शर्माले अगाडि भने, ‘हामी निरन्तरताको सुधारमा रमाएर बस्ने होइन कि गुणात्मक सुधारको खाँचो छ ।’ उनले समग्र राष्ट्रको सम्पत्ति लेखाजोखा गर्नुपर्ने आवश्यकता समेत औँल्याए । ‘कति हो त हाम्रो देशको सम्पूर्ण मूल्यांकन ? यसको हिसाबकिताब खोइ ? जनतासँग भएको सम्पत्ति के कति हो ? सरकारको स्वामित्वमा भएको सम्पत्ति के कति हो ? यसको हिसाबकिताब गर्ने योजना पनि चाहियो’, उनले भने ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले राजस्व भनेको देशकै प्राणरेखा भएको भन्दै राजस्व संकलनको निर्धारित लक्ष्य हेरफेर हुने सम्भावना रहेको बताए । राजस्व समूहका कर्मचारीले १०–५ को ड्यूटी गरेर नपुग्ने भएकोले सोहीअनुसार थप जाँगर चलाएर काममा खटिन निर्देशन दिए ।

आन्तरिक राजस्व विभागअन्तर्गतका ८४ वटा कार्यालयहरू सबैले राजस्व संकलनमा देखिएका समस्याहरूको एमआरआई गर्नुपर्नेमा जोड दिए । साथै उनले प्रविधिको माध्यमबाट सबै राजस्व कार्यालयहरूलाई यथाशक्य कागजरहित, अनुहाररहित र भौतिक सम्पर्करहित बनाउन पनि निर्देशन दिए । विसं २०५४ सालदेखि मूल्य अभिवृद्धि कर (भ्याट) लगाएदेखि जीडीपीको ९ प्रतिशतको हाराहारीमा रहेको आन्तरिक राजस्व २२ प्रतिशतमा पुगको तथ्यांक उल्लेख गर्दै उनले यसलाई व्यवस्थित गर्न बिलिङ सिस्टममा एकीकृत गर्न आग्रह गरे । देशका विभिन्न ठाउँमा रहेका ८४ वटा राजस्व कार्यालयमध्ये ३० वटाले मात्र तोकिएको लक्ष्य पूरा गरेको जानकारी दिँदै उनले सबै कार्यालयहरूले लक्ष्यअनुसारको काम गर्न निर्देशन दिए ।

आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कुप्रसाद आचार्यले आर्थिक वर्ष २०७७/७८ को कुल राजस्वमा विभागले ४६ प्रतिशत योगदान गरेको जानकारी दिए । गत वर्ष कुल राजस्वमध्ये भन्सार विभागबाट ४५ प्रतिशत, गैरकर राजस्व ७ प्रतिशत र अन्यबाट २ प्रतिशत राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०७७/७८ को लागि आन्तरिक राजस्व विभागलाई ४५० अर्बको लक्ष्य तोकिएकोमा ४२९ अर्ब संकलन भएको छ ।

चालू आर्थिक वर्षको लागि ५२२ अर्ब राजस्व संकलनको लक्ष्य तोकिएको छ । यस्तै गत असारसम्म ४० लाख ६६ हजार १३१ ले स्थायी लेखा नम्बर (प्यान) लिएका छन भने २ लाख ९० हजार ७१४ करदाता मूल्य अभिवृद्धि कर (भ्याट) मा आबद्ध छन् । व्यवसायीहरू करको दायरामा औपचारिक रूपले आबद्ध रहेको भए पनि वार्षिक विवरण नबुझाउनेको संख्यामा वर्षेनी वृद्धि भइरहेको महानिर्देशक आचार्यले बताए ।

कर कार्यालयमा दर्ता भई वार्षिक विवरण नबुझाउनेहरू आर्थिक वर्ष २०७४/७५ मा ३३ दशमलव १८ प्रतिशत र आर्थिक वर्ष २०७५/७६ मा ३७ दशमलव ५३ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा सो संख्या बढेर ४२ दशमलव ९२ प्रतिशत पुगेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया