Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालरुस–युक्रेन द्वन्द्वप्रभावित, दुई सय ४४ जना नेपालीहरू सुरक्षित ठाउँमा

रुस–युक्रेन द्वन्द्वप्रभावित, दुई सय ४४ जना नेपालीहरू सुरक्षित ठाउँमा


काठमाडौं । रुस–युक्रेन द्वन्द्वप्रभावित दुई सय ४४ जना नेपालीहरू सुरक्षितरूपमा आफ्नो गन्तव्यमा पुगेका छन् । ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’काअनुसार युक्रेन छोडेर पोल्याण्डामा ६० जना, स्लोभाकियामा १२ जान, हंगेरी चार जना, रोमानियामा १२ जना, माल्डावामा दुई जना सकुशल पुगेका छन् । यस्तै युक्रेनबाट सुरक्षित गन्तव्यमा जाने क्रममा पोल्याण्डको सीमामा एक सय ३० जना, स्लोभाकियाको सीमा १२ जान, रोमानियाको सीमामा १० जना र माल्डावाको सीमामा दुई जना नेपालीहरू दोस्रो मुलुक जान रोकिएका छन् । उनीहरू छिटै नै सीमा क्रस गर्नसक्ने अनुमान गरिएको गैरआवासीय नेपाली संघ युक्रेनले जनाएको छ ।

संघ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार स्थायीरूपमा बसोबास गर्दै आएका छन भने केही नेपालीहरू पर्ख र हेरको अवस्थामा युक्रेनका विभिन्न सहरमा अझै बसोबास गर्दै आएका छन् । द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अध्यक्ष जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षमा आइतबार बसेको बैठकले युद्धका कारणले विस्थापित नेपालीहरूलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ । बैठकमा राजदूत खड्काले युक्रेनबाट विस्थापित ३४ जना नेपालीहरूलाई दूतावासले यात्रा अनुमतिपत्र (ट्राभल्स डकुमेन्ट) जारी गरेको जानकारी दिए ।

उच्चस्तरीय समितिका संयोजक तथा बैठकमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त नेपालीहरूको उद्धारको लागि पोल्याण्डको सीमा क्षेत्रमा आफैँ परिचालित भएको जानकारी दिए । यस्तै संघको पोल्याण्ड अध्यक्ष जीवन केसीले धेरै जना नेपाली सीमा क्षेत्रमा रोकिएकोमा सोमबारदेखि सीमा क्षेत्र केही खुकुलो बनाएको कारणले नेपालीहरू बाहिर निस्कन सहज भएको जानकारी दिए । यस्तै स्वास्थ्य समितिका संयोजक डा. बोधराज सुवेदीले सीमा क्षेत्रमा आफैँ पुगेर ११ जना नेपालीहरूलाई उद्धार गरेर सुरक्षित स्थानमा पु-याएको जानकारी दिए । उनले सीमा क्षेत्रमा महिला र बच्चाहरूलाई पुरुषको तुलनामा सहज भएको बताए । युक्रेन र पोल्याण्डको सीमा क्षेत्रमा नेपालीहरूको लागि खानाको कुनै समस्या नरहेको उनले जनाकारी समेत दिए ।

बैठकमा एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले अप्ठ्यारोमा परेका आठ जना नेपालीहरूलाई आफ्नै रेष्टुरेन्ट खाली गरेर खाना बस्न प्रबन्ध गरेको र स्लोभाकिया पुगेका नेपालीहरूलाई सुरक्षित क्षेत्रमा पु–याउन सक्रियरूपमा लागि परेको बताए । यस्तै रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले १२ जना नेपालीहरू सुरक्षितरूपमा रोमानिया भित्रिएको जानकारी दिए । उनले कयौँ नेपालीहरू रोमानियाबाट हङगेरी गैरकानुनीरूपमा छिर्न खोजेको बताए । एउटा देशमा शरणार्थीको लागि आवेदन दिएपछि सो आवेदनको अन्तिम सुनवाइ नभएसम्म अर्को देशमा जानु गैरकानुनी हुने उनको भनाइ थियो ।

उच्चस्तरीय समितिले सीमा क्षेत्रमा थप स्वयंसेवक परिचालन गर्ने, नेपाल फर्किन चाहनेहरूको लागि हवाइ टिकटको लागि समन्वयन गर्ने, सीमा क्षेत्रमा आएका नेपालीलाई खाना बस्नको व्यवस्था गर्ने, कानुनी परामर्शको लागि एनआरएनए राष्ट्रिय समिति परिचालन, उद्धारको लागि स्थानीय रूपमा संयन्त्र गठन गर्ने, स्वयंसेवकहरूको लागि आवश्यक परिचयपत्र प्रदान गर्ने, आर्थिक संकलन गर्नेजस्ता गतिविधिलाई अघि बढाएको छ । समितिले युद्धबाट विस्थापित नेपालीहरूको तथ्यांक समेत संकलन गर्ने तयारी गरेको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x