Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालठोकर्पाका शतप्रतिशत घरमा खानेपानीको धाराको सुविधा

ठोकर्पाका शतप्रतिशत घरमा खानेपानीको धाराको सुविधा


सिन्धुपाल्चोक । मिटरजडित धारामार्फत नियमित खानेपानी आपूर्ति गर्ने सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नं. १ ठोकर्पा नेपालकै पहिलो वडा घोषणा भएको छ । वडाका सम्पूर्ण घरधुरीहरू तथा संघसस्थाहरूसहित शतप्रतिशत सात सय ८६ धुरीमा पानी उपलब्ध गराउने कार्य सम्पन्न भएको वडा अध्यक्ष नेत्र बहादुर कार्कीले बताए ।

अत्यन्त सुक्खाग्रस्त क्षेत्रको रूपमा रहेको यहाँ विगत लामो समयदेखि स्थानीयले खानेपानीको चरम अभाव भोगिरहेका थिए । अब करिब छ महिनाको सुक्खा समयमा समेत खानेपानी मागको करिब ४५ प्रतिशत डिपबोरिङ, ३५ प्रतिशत लिफ्टिङ र बाँकी २० प्रतिशत अन्य प्राकृतिक मुहानहरूबाट खानेपानीको अपूर्ति भइरहेको वडा अध्यक्ष कार्कीको भनाइ छ । वर्षा यामको समयमा करिब शतप्रतिशत नै प्राकृतिक मुहानको पानीलाई शुद्धीकरण गरी खानेपानी सिस्टममा जोडेर खानेपानीको अपूर्ति गरिएको छ । एक गाग्री पानीको लागि घण्टौँ हिँडेर लाइन बसी पानी ल्याउनुपर्ने कथाको अन्त्य भएको भन्दै स्थानीय जानुका भण्डारीले खुशी व्यक्त गरिन् । उनी भन्छिन्, ‘खानेपानीको लागि लामो समयसम्म दिनै माया मारेर जानुपर्ने बाध्यता हट्यो ।’ यहाँका प्रायजसो महिलाहरू डोकोमा राखेर पानी बोकेकै कारण स्त्रीरोगको सिकार बन्ने गरेको अवस्थामा थिए । २०७२ सालको महाभूकम्पपश्चात् झनै खानेपानीका केही भएका मुहान समेत सुक्न गई काकाकुलजस्तै जीवनयापन गरिरहेको स्थानीयमा बसाइँसराइ नै गर्नुपर्ने अवस्था आएको थियो ।

स्थानीय सरकारको निर्वाचनपश्चात् यस वडाले वडाको सबैभन्दा ठूलो समस्याको रूपमा रहेको खानेपानीको विषयलाई लिएर विभिन्न अध्ययन गरी २०७५ ज्येष्ठ महिनाको १५ गते घर–घरमा धारा घर–घरमा पानी अभियानको थालनी गरेको थियो । पहिलो चरणमा वडाको तल्लो भागमा रहेको एउटा मुहानलाई लिफ्टिङमार्फत माथिल्लो स्थानसम्म लगि ६४ घरधुरीहरूमा पानी उपलब्ध गराउन सफल भएको थियोे । खानेपानीको पहिलो योजना सफल भएपश्चात् वडामा रहेका खानेपानीको अन्य प्राकृतिक स्रोतहरूको खोजी गरी पानीलाई एकीकृत गरी वडाको सम्पूर्ण घरधुरीहरूमा पानी पु-याउने लक्ष्य वडाले लिएको थियो । एउटा डिप बोरिङ, तीनवटा लिफ्टिङ र अन्य स–साना प्राकृतिक स्रोतहरूलाई समेत सङ्कलन गरी खानेपानी योजनाहरू सम्पन्न गरिएको पालिका अध्यक्ष श्रवण कुमार जिसीले बताए । अध्यक्ष जिसी भन्छन्, ‘विस्तारै वडाका सम्पूर्ण घरधुरीहरूमा धारा निर्माण गर्ने कामको थालनी भयो, त्यसमा पनि बालमैत्री धाराहरू निर्माण भए ।’

खानेपानीको सङ्कलन गर्न तथा वितरण गर्नका लागि दुई लाख लिटर क्षमतादेखि २० हजार लिटर क्षमतासम्मका गरी जम्मा २६ वटा रिजर्भ तथा वितरण ट्याङ्कीहरू निर्माण भएका छन् । संस्थागतसहित सुनकोशी गाउँपालिका वडा नं १ ले शतप्रतिशत घरधुरीमा मिटरजडित धारामार्फत नियमित खानेपानीको आपूर्ति सम्पन्न गराएकोले यो मोडलको अध्ययन अन्य ठाउँहरूबाट समेत हुने गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले बताए । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x