Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआयुसालाई दुधे बच्चासहित समातेर अस्पतालमा किन थुनियो ?

आयुसालाई दुधे बच्चासहित समातेर अस्पतालमा किन थुनियो ?


काठमाडौं । शुक्रबार साँझ प्रहरीले घर घेरेर कपनबाट आयुसा राई, उनका दुई महिने बालक, २२ महिने बालिका र उनका पितालाई नियन्त्रणमा लियो । तर, प्रहरीले आमाछोरालाई अहिले चौकी नलगी मेट्रो हस्पिटल चक्रपथ महाराजगञ्जमा लगेर राखेको छ ।

लेनदेनको विवादमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको बुझिएको छ । पीडित पक्षका अनुसार डीएसपी अनिलकुमार घिमिरेले विपक्षीसँग मिलेर अमानवीय ढंगले दुई महिने दुधे बालकलाई समेत पक्राउ गरेको बताइएको छ । प्रहरीले कार्यालय लैजाँदा ती दुई नाबालक समेत पक्राउ गरेको भनी आलोचना हुने भएपछि उनीहरूलाई ऐयाआथा केही नभए पनि अस्पताल भर्ना गरेर राखेको छ । सर्वोच्च शिखर सगरमाथा आरोही निमा रोजी शेर्पाले दोलखाकी अन्जु खड्का कार्कीसँग दुई करोड ५० लाख रुपैयाँ चलाएको र फिर्ता नगरेको भनी नेपाल प्रहरी महिला सेलका डीएसपी अनिलकुमार घिमिरेले कागज गराएका थिए । ती महिलाले महिला सेलमा उजुरी गरेकी थिइन् ।

डीएसपी घिमिरेले ती महिलासँगको मिलेमतोमा उक्त निवेदन हाल्न लगाएको र चेक मागेपछि आयुसा राईले चेक काटेर दिएको थाहा भएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा रहेका घिमिरे त्यहाँबाट महिला सेल सरुवा भएका थिए र अहिले उनी अपराध महाशाखामा सरुवा भएका छन् । अहिले उनले आयुसालाई फोन गर्न लगाई चोरीको मोबाइलको कुरा गर्नु छ भनी फलो गरेर पक्राउ गरेको बुझिएको छ ।

प्रहरीले झुक्याईझुक्याई उनलाई पक्राउ गर्नुको पछाडि ठूलो रहस्य लुकेको पाइएको छ । आयुसासँग बिहे गर्नुअघि उनका पति निमा रोची सेर्पासँग चीनको गोन्जाउमा अन्जु खड्का कार्की नामकी एक महिलासँग चिनापर्ची हुन्छ र ती महिलाले सगरमाथा आरोही शेर्पासँग सम्बन्ध बढाउँदै जान्छिन् । पछि उनी शेर्पाको आधा–आधाको व्यावसायिक साझेदार बन्छिन् र नौ वर्षसम्म ‘लिभिङ टुगेदर’मा रहन्छिन् । शेर्पा देश विदेशतिरै व्यस्त रहन्छन् ।

कम्पनी टाट पल्टिएपछि उनी दुई वर्ष बेपत्ता हुन्छिन् । त्यतिबेलासम्म शेर्पाको साथ सहयोगमा पूर्वपतितर्फका दुई छोरीहरूको पठनपाठनको चाँजोपाँजो मिलाइसकेकी थिइन् । व्यवसाय बिग्रिएर टाट उल्टिएपछि बेपत्ता भएकी अन्जु २०७९ साउनमा कालिमाटीस्थित महिला सेलमा आफूमाथि अन्याय भएको भनी उजुरी दिन पुग्छिन् । २०७९ साउन ८ गते प्रहरीले उनीहरूबीच विषयवस्तुभन्दा बाहिर गएर मेलमिलाप गराएको पाइएको छ । जबरजस्ती गरेर मेलमिलापको नाममा अन्जु खड्का कार्कीलाई दुई करोड ५० लाख दिनुपर्ने भनी शेर्पाकी श्रीमती आयुसा राईको खाताको चेक कटाउन लगाउने डीएसपी अनिलकुमार घिमिरे हुन् । अहिले अनिलकुमार घिमिरे आयुसालाई छलपूर्वक दुई महिने दुधे बालिकासहित पक्रेर काठमाडौं प्रहरी परिसरमा नराखी मेट्रो अस्पताल महाराजगञ्जमा लगेर राख्न लगाउने पनि उनै डीएसपी घिमिरे हुन् ।

डीएसपी घिमिरेले आफूलाई करकापमा पारेर कसरी कागज गराएका थिए, उनले गरेको लिखत सम्झौता बदर गरी डीएसपी घिमिरेमाथि कारबाही गरीपाऊँ भनी शेर्पाले २०७९ कात्तिक १७ गते आइजीपी सचिवालयमा ठाडो निवेदन दर्ता गराएका थिए र महिला सेलमा उपस्थित भएको बेला नचिनेका मानिसहरू लगाई आफ्नो खल्तीबाट नागरिकता खोसेर लिएको र बलात्कारको केसमा फसाइदिने डरधाक त्रास देखाएर श्रीमती आयुसा राईको खाताको उक्त चेक काट्न लगाएर शेपालाई छाडिएको थियो । आईजीपी सचिवालयमा दर्ता गरिएको उक्त उजुरीमाथि अहिलेसम्म कुनै कारबाही भएको पाइएको छैन । अहिले अपराध महाशाखाको दुरूपयोग गरेर डीएसपी घिमिरेले फेरि झुक्याएर आयुसालाई दुई महिने छोरीसहित पक्राउ गरेर उनका लोग्ने निमा दोर्ची शेर्पासँग बार्गेनिङ सुरु गरेका छन् । डीएसपी घिमिरेले पक्षपोषण गरेकी महिलाले आफूलाई पूर्वएआईजी पुस्कर कार्कीको बहिनी बताउने गरेको थाहा भएको छ भने तातोपानी नाकाबाट सबैखाले व्यापार गर्ने नारायण पौडेल दिपककुमार श्रेष्ठलगायतसँग पनि रामै्र उठबस रहेको थाहा भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया