Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचीन भ्रमणले नेपाल–चीन सम्बन्ध थप उचाइमा : प्रधानमन्त्री

चीन भ्रमणले नेपाल–चीन सम्बन्ध थप उचाइमा : प्रधानमन्त्री


काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पछिल्लो चीन भ्रमणका क्रममा भएका छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको बताएका छन् । उनले विगतमा भएका समझदारीको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धतासमेत सो अवसरमा व्यक्त भएको उल्लेख गरे ।

उनले चीनका राष्ट्रपति सि चिनपिङले गरेको भ्रमणपछि नेपालबाट गरिएको पहिलो उच्चस्तरीय भ्रमणका रुपमा आफ्नो चीन भ्रमण भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री दाहालले कोभिड–१९ महामारीका कारण लामो समयदेखि कुनै भ्रमण नभएकामा मेरो भ्रमणले नेपाल र चीनबीच आपसी विश्वासको ऐतिहासिक सम्बन्धको समग्र पक्षलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको आफूले विश्वास लिएको बताए ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहालले यही सेप्टेम्बर १७ देखि २१ सम्मसंयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी भई सम्बोधन गरेका थिए । जनवादी गणतन्त्र चीनको सेप्टेम्बर २३ देखि ३० सम्म औपचारिक भ्रमण सम्पन्न गरी उनी यही असोज १३ गते स्वदेश फर्किएका हुन् ।

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन र चीनका प्रधानमन्त्री लि छियाङको निमन्त्रणमा चीन भ्रमणमा जानुअघि पनि आफूले सदनलाई जानकारी गराएको प्रधानमन्त्रीले उल्लेख गरे । चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भएको छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको प्रधानमन्त्री दाहालले बताए।

प्रधानमन्त्री दाहालले उच्चस्तरीय भेटमा नेपालको उत्तरी सीमा क्षेत्रमा चीनतर्फबाट प्रसारण लाइन निर्माण, नेपाल र चीनको सिमानामा रहेको भूभागमा केन्द्रीय विद्युत प्रसारण प्रणालीबाट विद्युत्को पहुँच पु¥याउन नसकिने स्थानमा सौर्य प्रणाली जडान गर्ने विषयमा सहमति भएको सदनलाई जानकारी गराए ।

प्रधानमन्त्री दाहालले नेपाल–चीनबीचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्नुका साथै विज्ञान र प्रविधिका क्षेत्रमा सहकार्य गर्ने, द्विपक्षीय व्यापार विस्तार गर्ने सम्बन्धमा समेत विस्तारपूर्वक छलफल भएको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले चीन भ्रमणका समयमा चीनको हाड्झाउमा विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुख एवं उच्चस्तरीय प्रतिनिधिसमेतको उपस्थितिमा चीनका राष्ट्रपतिले गरेको उद्घाटन समारोहमा सहभागी भई नेपाली खेलाडीहरुको हौसला बढाउने अवसर प्राप्त भएको जानकारी दिए ।

प्रधानमन्त्री दाहालले चीन भ्रमणअघि आफूले संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी भई उच्चस्तरीय सत्रमा नेपालकोतर्फबाट सम्बोधन गरेको सदनलाई जानकारी गराए । उनले नेपालको शान्ति प्रक्रिया र त्यसलाई ठोस निष्कर्षमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायको सहयोग, जलवायु परिवर्तन तथा यसले गर्दा नेपाललगायत अल्पविकसित देशमा पारेका प्रभावलाई केन्द्रित गरेको जानकारी दिँए ।

प्रधानमन्त्री दाहालले अतिकम विकसित राष्ट्रको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग, प्रविधि हस्तान्तरण र लगानीका माध्यमबाट गरिबी तथा असमानता हटाउँदै जानुपर्ने विषयमा विशेष जोड दिएको सदनलाई जानकारी गराए । प्रधानमन्त्री दाहालले समग्रमा दुवै भ्रमण सफल भएको आफूले ठानेको बताए । उनले चीनको भ्रमणले झण्डै चार वर्ष लामो नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रमण नभएको स्थितिको अन्त्य गरेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया