Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिशेषबुद्धि र व्यवहारले नभई भगवानले जोगाएका सिटौला

बुद्धि र व्यवहारले नभई भगवानले जोगाएका सिटौला


गत असार ११ गते आर्थिक दैनिकले ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन’ भन्ने शीर्षकमा समाचार छापेपछि त्यसप्रति आपत्ति जनाउँदै झापामा रहेका आफूलाई नेपाली कांग्रेसको फरक धार ठान्ने नेता कृष्णप्रसाद सिटौलाले त्यसै दिन पे्रस काउन्सिल नेपाललाई आपत्तिसहित खण्डन सम्बन्धमा एउटा चिठ्ठी पठाएर समाचारलाई काल्पनिक तथ्यहीन र कल्पनामा आधारित आरोप लगाएर आर्थिक दैनिकलाई खण्डन गर्न निर्देशन दिन काउन्सिलसमक्ष अपिल गरेका थिए । सिटौलाको उजुरी र मागमा आर्थिक दैनिकसँग कुनै जानकारी माग नै नगरी काउन्सिलले खण्डन छाप्न निर्देशन दियो । कानुनको सामान्य सिद्धान्तअनुसार आरोपितलाई सफाइको मौका काउन्सिलले दिनुपर्ने थियो । तर पनि काउन्सिलको निर्देशनअनुसार सिटौलाको पत्र आर्थिक दैनिकमा छापियो ।

सिटौलाले काउन्सिलमा दिएको निवेदन साँझ आईजीपी बसन्त कुवरले प्रधानमन्त्री प्रचण्डलाई ‘ब्रिफिङ’ दिएपछि झुटो साबित भइसकेको थियो । सिटौलाले आर्थिक दैनिकविरुद्ध त्यस पत्रमार्फत गम्भीर आरोपहरू लगाएका थिए र ती आरोप अहिले गलत थिए भन्ने पुष्टि भइसकेका छन् तर पनि नेता सिटौलाले अहिलेसम्म क्षमायाचना नगरेर मुन्टो लुकाउँदै हिँडेका छन् ।

नेता सिटौला उक्त समाचारमा काल्पनिक हिसाबले सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन शीर्षक दिएर समाचार प्रकाशन गरी मेरो इमान्दारितामाथि प्रश्न उठाउँदै केही निहित व्यक्तिको राजनीतिक अभीष्ट पूरा गर्न ममाथि दुराशयमुक्त भावनाले लगाइएको झुट आरोपको म पुरापुर खण्डन गर्न चाहन्छु भनेका छन् । समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री प्रचण्डसँग सम्पर्क गरेर उनकै निर्देशनमा सिटौलाले उक्त खण्डन काउन्सिलमा पठाएका थिए । तर, उक्त पत्रमा केही निहित व्यक्तिको राजनीतिक अभीष्ट पूरा गर्न ममाथि दुराशययुक्त भावनाले आरोप लगाइएको भने पनि ती अमूक केही व्यक्ति को हुन् भन्ने कुरा उनले अहिलेसम्म खुलाएका छैनन् ।

उनी आफूलाई स्वच्छ, सरल, इमान्दार, अध्ययनशील तथा निष्ठावान् नेता भनाउन चाहन्छन् । तर, उनको पत्रले त्यस्तो देखाएन कुभिण्डोलाई खुट्टा लगाएजस्तो देखियो । पटक–पटक सत्ता सम्हालिसकेका नेता सिटौलालाई समाचारप्रति असहमति भए पहिला पत्रिकामा खण्डन पठाउनुपर्ने कुराको समेत ज्ञान नहुनु लाजमर्दो विषय हो । उनले पत्रिकामा पठाउनुपर्ने कुराको समेत ज्ञान नहुनु लाजमर्दो विषय हो । उनले पत्रिकामा पठाउनुपर्ने उजुरी पदीय उन्माद र दादागिरी देखाएर काउन्सिलमार्फत डन्डा देखाएर पठाए त्यो सही गरेनन् । उनले सोझै पत्रिकामा पठाएको भए पनि उनको पत्रले ठाउँ पाउने थियो, यद्यपि समाचारको सत्यतामाथि आर्थिक टिमलाई कुनै शंका थिएन । उनलाई समाचार सत्य होइन, खण्डन गर्नुस् भनी सल्लाह दिने प्रधानमन्त्री प्रचण्डले पनि १२ घण्टा त्यस विचारमा अडान लिन सकेनन् जब साँझ आईजीपीले ब्रिफिङ गरे अनि स्वयम् प्रधानमन्त्री प्रचण्ड सिताङ्ग भएका थिए । त्यसमा सिटौला अडिग रहने कुरै थिएन ।

समाचार प्रकाशित भएपछि सिटौलाका आसेपासेले आर्थिक दैनिकका पत्रकारहरूलाई ज्यानमार्दन गर्ने प्रयास पनि गरे, त्यो उनीहरूले सिटौलाभन्दा ढोंगी र कथित क्रान्तिकारी हुनका लागि गरेका थिए कि स्वयम् सिटौलाको निर्देशनको ताबेदारी गरेका हुन् उनीहरू नै जानून् । तर, त्यो समाचार त्यतिखेरै आएको थिएन भने सिटौला अहिले ठाडो शिर गरेर बोल्न र निर्भयपूर्वक हिँडडुल गर्नसक्ने अवस्थामा हुने थिएनन् । गृहमन्त्री श्रेष्ठले एआईजी श्यामलाल ज्ञवालीसँगको मिलेमतोमा उनलाई पक्राउ गर्न निर्देशन दिएका थिए र त्यो समाचारपछि उनको पक्राउ रोकिएको थियो । त्यही साजिसमा संलग्न भएको कुरा खुलेपछि एआईजी ज्ञवाली र एसएसपी मनोज केसी सरुवा भएको घामजत्तिकै छर्लङ्ग छ ।
सिटौलाले उक्त पत्रमा सगौरव भनेका छन्, ‘मेरो राजनीतिक जीवनकालमा नै मुलुकमा शान्ति र स्थिरताको निम्ति बितेको कुरा घामजत्तिकै छर्लङ्ग छ । म निजी प्रलोभनभन्दा पनि शान्ति, स्थिरता र विधिको पक्षमा जोड दिने सामाजिक व्याक्ति हुँ । मुलुकमा शान्ति स्थापनार्थ संकटको समयमा समेत मेरो राजनीतिक र भौतिक जीवनलाई दाउमा राखेर क्रियाशील ममाथि राजनीतिक दाउपेचमा आधारित भएर गरिएको ‘प्लानिङ’युक्त समाचारबाट सिर्जित परिस्थितिले समाचारको निष्पक्षता र समुन्नत नेपाल निर्माणमा पक्कै टेवा पुग्दैन भन्ने मेरो निष्कर्ष छ ।’
कुन राजनीतिक दाउपेचमा उक्त समाचार आएको थियो भन्ने कुरा उनले अहिलेसम्म खुलाउन सकेका छैनन् । कसलाई उकास्न त्यो समाचार बनेको थियो ? त्यो कसरी प्लानिङयुक्त समाचार भयो ? त्यसको पुष्टि गर्न सिटौलालाई चुनौती छ । उनले आरोप लगाएअनुसार उक्त समाचारबाट सिर्जित परिस्थितिले समाचारको निष्पक्षता र समुन्नत नेपाल निर्माणमा पक्कै टेवा पुग्दैन भन्ने हो भने कुनै पनि समाचार निष्पक्ष हुँदैन, एउटा पक्षलाई फाइदा हुन्छ, अर्को पक्षलाई हानी हुन्छ । त्यो समाचारबाट कसलाई हानी नोक्सानी भयो र कसलाई फाइदा भयो भन्ने सामान्य विश्लेषण गरेर निष्कर्ष निकाल्न नसकेर उल्टो निष्कर्ष निकाल्नेलाई ‘रामराम’ भन्नबाहेक केही सकिँदैन र समुन्नत नेपाल निर्माणको अभियान पनि एम्बुसमा परेको ठान्नुपर्ने हुन्छ । तर, त्यस्तो भएको होइन, सिटौलाको बुद्धिमा बिर्को लागेकाले त्यस्तो ठानेका हुन् ।

उनले उक्त पत्रमा दिव्योपदेश दिँदै अगाडि भनेका छन्, ‘काल्पनिक तथा कोही कसैको राजनीतिक जीवनमा नै खेलबाड गर्ने खालका समाचार उत्पादन तथा सम्पे्रषणमा जोड नदिन, त्यस्ता तथ्यहीन तथा कल्पनामा आधारित समाचारलाई स्थान तथा प्राथमिकतामा नराख्न समेत अनुरोध गर्दै यस्ता खाले समाचारबाट उत्पन्न अफवाहमा विश्वास नगर्न समेत आम समुदायमा अपिल गर्न चाहन्छु ।’ मानौँ कि यो अपिलपछि उनी राजनेता बने । उनको यो उपदेश मात्र होइन दिव्योपदेश हो । त्यो समाचार काल्पनिक र तथ्यहीन थियो भने सत्यतथ्यचाहिँ के हो, उनले बताउनु पर्दैन ? यद्यपि समाचार सार्वजनिकरूपमा पुष्टि भइसकेको छ ।

त्यसपछि उनले गल्ती स्वीकार गर्नु पर्दैन ? समाचारको पुष्टिपछि पनि न क्षमायाचाना न पश्चात्ताप । उल्टै उपदेश दिँदै हिँडेको देखिन्छ । त्यो समाचार बनेको थिएन भने उनी एक न एक दिन पक्राउ पर्थे । त्यो समाचार सार्वजनिक भएपछि उनको पक्राउ रोकिएको थियो । होइन भने उनी त्यसपछि नेपाली कांग्रेसको दुईवटा केन्द्रीय समितिको बैठक भए, त्यसमा सहभागी हुन पाउने कुरै थिएन, उनी यदाकदा उपत्यकाबाहिर पुगेर पनि आदर्श छाँटेको सुनिन्छ । त्यो पनि एकादेशको कथा हुनेथियो । आज पनि बालकृष्णको थन्कोमा हुनेथिए । तर, पनि उनको खण्डन वक्तव्यले चोरको खुट्टो काट् भन्दा थुत्त तानेजस्तो हुनपुगेको छ ।

यसअघि सिटौलालाई बौद्धिक अध्ययनशील, निष्ठावान् नेता र विश्लेषक भनेर लगाइएको पगरी त्यही खण्डनपत्रले फुकाइदिएको छ । पत्रिकाप्रतिको त्यो आरोप र उजुरीले उनको असली हैसियत देखाएको छ । उनी त ‘लाटो देशको गाँडो तन्नेरी’ भनेजस्तो पो देखिए । आफू कसैको ‘प्लटिङ’मा फस्टाएकाले बारबार अरुप्रति त्यसैगरी शंका गर्नु ‘जस्तो आफू उस्तै च्यापु’ भनेजस्तै हो । यथार्थ यो हो कि यदि आर्थिकले त्यो समाचार दिने आँट गरेको थिएन भने अहिले सिटौला राजनीतिक नेता नभएर एउटा अपराधको आरोपी हुनेथिए । जेलमा हुनेथिए र पुर्पुरोमा हात लगाएर बसेको हुनेथिए ।

तर, उल्टो आरोप वाह तिम्रो विवेक ! वाह निष्ठा ! फगत ढोंग मात्र फगत ढोंग । किन यसो भनिएको हो भने हिजोआज उनी आफ्ना निकटस्थहरूसँग खासखुस गर्छन्, त्यो समाचार नआएको भए मलाई पक्राउ गर्ने रहेछ, भगवान्ले जोगाए । हो, उनलाई भगवान्ले नै जोगाएका हुन्, उनको बुद्धि र व्यवहारले होइन । बेचैन झासँगको उनको सम्बन्ध के हो उनै जानून् । प्रचण्डलाई संसारको सबैभन्दा इमान्दार र विश्वासिलो व्यक्ति भनेर पूजा नै गरे पनि उनलाई प्रचण्डको सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठले पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका हुन् । त्यो कुरा उनी मानून् वा नमानून् त्यो उनको निजी कुरो हो तर पक्राउ गर्न निर्देशन दिएकै हो । पत्रिकाले त्यही समाचार छापेको हो । त्यो समाचार छापिएपछि उनले काउन्सिललाई जुन आरोपपत्र लेखे त्यसलाई पुष्टि गर्न हाम्रो चुनौती छ ।


क्याटेगोरी : बिशेष, समाचार
ट्याग : #Page 1


तपाईको प्रतिक्रिया