Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोप–२८ को तयारीका लागि ‘राष्ट्रिय जलवायु सम्मेलन’ गरिँदै

कोप–२८ को तयारीका लागि ‘राष्ट्रिय जलवायु सम्मेलन’ गरिँदै


काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) हुँदैछ । यही मङ्सिर १४ देखि २६ गतेसम्म हुने सम्मेलनमा नेपालले आफ्नो तयारी तीव्र बनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा हुने सम्मेलनमा राष्ट्रिय अनुकूलन योजनाको विस्तृत रुप, राष्ट्रिय निर्धारित योगदानमा आधारित कार्यान्वयन योजना र कोप–२८ को एजेण्डाका बारेमा छलफल हुनुका साथै नेपालले कोप–२८ मा उठाउने विषय र प्राथमिकताका सम्बन्धमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने भएका छन् ।

मन्त्रालयले यसअघि सम्मेलनमा नेपालको सहभागिताको तयारीका लागि मार्गचित्र तयार गरी सोहीअनुसार काम गरिसकेको छ । सहसचिव डा. पौडेलका अनुसार सम्मेलनको तयारीका लागि हालसम्म मन्त्रीको संयोजकत्वमा विषयगत मन्त्रालयका सचिव र अन्य सरोकारवाला निकायका प्रमुख प्रतिनिधि रहेको समिति गठन गरी सुझाव सङ्कलन गर्ने काम भइसकेको छ ।

सम्मेलनमा नेपालले उठाउने जलवायु अनुकूलन, न्यूनीकरण, जलवायु वित्त, हानि तथा नोक्सानी, वैश्विक मापन तथा पारदर्शिता, पर्वतीय, लैङ्गिक समानता, युवा बालबालिका तथा जनजातिलगायतका मुद्दामा विषयगत समूह गठन गरी कार्यपत्र तयार गरिरहेको मन्त्रालयले जनाएको छ ।

नेपालले प्रधानमन्त्री दाहालको नेतृत्वमा कोप–२८ मा उच्चस्तरीय सहभागिता जनाउने भएको छ । प्रधानमन्त्री दाहाल सम्मेलनमा सहभागिताका लागि यही नोभेम्बर २९ तारिखमा युएई जाने र डिसेम्बर ४ तारिखमा फर्किने कार्यक्रम तय भएको छ । डिसेम्बर २ मा हुने उच्चस्तरीय सत्रलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने बताइएको छ । डिसेम्बर १ र २ मा हुने उच्चस्तरीय सत्रमा विश्वभरका सहभागी राज्य-सरकार प्रमुखहरुले सम्बोधन गर्नेछन् ।

कोप–२८ सम्मेलनमा नेपालले जलवायु वित्त, अनुकूलन, जलवायुजन्य हानि र नोक्सानीका लागि कोषको व्यवस्थापन, हिमाल र पर्वतीय मुद्दा, उत्सर्जन कटौती र समावेशीतालगायत मुद्दालाई प्राथमिकतामा राखेको छ ।

मन्त्रालयको तालिकाअनुसार ‘पेभिलिएन’मा डिसेम्बर ३ देखि ११ तारिखसम्म दैनिक चार कार्यक्रमका दरले विभिन्न विषयका कार्यक्रम हुने भएको छ । यसरी नेपालले उजागर गर्ने विषयमा नै जोड पुग्ने गरी पेभिलिएनमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले कार्यक्रम गर्न लागेको यो पहिलोपटक हो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गत कात्तिक १२ गतेदेखि नेपालको चार दिने औपचारिक भ्रमण गरेको क्रममा जलवायु परिवर्तनको विषयलाई दिएको प्राथमिकताले पनि यस सम्मेलनमा नेपाललाई आफ्ना विषय उजागर गर्न सहज हुने बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया