Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२० प्रतिशत कफी विदेश निर्यात

२० प्रतिशत कफी विदेश निर्यात


काठमाडौं । नेपालमा उत्पादन भएकोमध्ये २० प्रतिशत कफी विदेश निर्यात हुने गरेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार कुल उत्पादनको झन्डै २० प्रतिशत कफी विदेश निर्यात हुने गरेको हो ।

मात्रात्मकरूपमा थोरै उत्पादन भए पनि नेपाली कफीले स्वाद र गुणस्तरका हिसाबले विश्वका उत्कृष्ट कफीहरूसँग समतुल्य स्थान बनाउन सफल भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार नेपाली कफीको माग स्वदेश तथा विदेशमा उच्च रहेको छ । नेपालमा आर्थिक वर्ष २०७९/८० मा नेपालभर ३९४ दशमलव चार मेट्रिकटन ग्रिन विन कफी उत्पादन भएको बोर्ड जनाएको छ । भन्सार विभागको आव २०७९/०८० को तथ्याङ्कअनुसार १३ करोड चार लाख बराबरको ७७ दशमलव ८६ मेट्रिकटन नेपाली कफी निर्यात भएको थियो । यस्तै, नेपालमा भने ३२ करोड ५८ लाख बराबरको चार सय ५० मेट्रिक टन कफी आयात भएको थियो । यसैगरी आव २०७८/७९ मा १२ करोड ७६ लाख बराबरको दुई सय ७९ दशमलव आठ मेट्रिक टन कफी नेपालमा आयात हुँदा ११ करोड ७० लाख रूपैयाँ बराबरको ६९ दशमलव पाँच मेट्रिक टन कफी निर्यात भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ । नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ अमेरिकी डलर प्राप्त गर्दै आएको छ । आयात मूल्यको तुलनामा झण्डै दुई/तीन गुणा बढी मूल्यमा नेपाली कफी निर्यात हुँदै आएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार कफीको माग बढ्दै गइरहेको हुनाले पनि आन्तरिक माग पूर्तिका लागि कफीको रोपण तथा उत्पादन वृद्धिमा सबैको ध्यान पुग्नुपर्ने देखिन्छ । गत वर्षको कफी आयातको तथ्याङ्कले पनि तीव्ररूपमा मौलाउँदो कफी संस्कृति तथा क्याफे व्यवसाय स्थापनाले कफीको माग उच्च वृद्धिले उल्लेखनीयरूपमा आयात बढ्दोरूपमा देखिएको बोर्डले जनाएको छ । कफी खेतीलाई कफी स्टेटमा रूपान्तरण गर्न सकेमा मात्रै व्यावसायिक उत्पादन र आत्मनिर्भर बन्न सकिने तथ्यलाई बोर्डले प्रमुखताका साथ अगाडि बढाएको छ । न्यून स्रोत तथा साधनका बाबजुत व्यावसायिक कफी उत्पादन बढाउन बोर्डले प्रमुखताका साथ कार्यक्रमहरूको सुरुवात गरेको जनाएको छ ।

बोर्डले केही जिल्ला, प्रदेश र स्थानीय सरकारसँग पनि योजनाबद्ध समन्वयात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेको उल्लेख गरेको छ । यस्तै, बोर्डले व्यावसायिक उत्पादनका लागि चक्लाबन्दीमा कफी क्षेत्र विस्तार र स्थानीय क्षेत्रभित्र व्यावसायिक नर्सरी बिरुवा उत्पादन कार्यक्रमलाई प्रमुखताका साथ अगाडि बढाएको छ्र । नेपालमा कफी उत्पादन गर्ने कृषकहरूले पनि अन्य बालीभन्दा प्रत्येक वर्ष उत्कृष्ट मूल्य प्राप्त गर्दै आएका छन् । कृषि तथा पशुपन्छी मन्त्रालयले बोर्डसँगको समन्वयमा कफीको उत्पादन वृद्धिका लागि धेरै स्थानीय पालिकाहरूमा बजेट विनियोजन गरेको छ ।

कफीको मूल्य निर्धारण : यस्तै, बोडले मंसिर १ गतेदेखि लागू हुनेगरी कच्चा कफीको न्यूनतम सहमत मूल्य निर्धारण गरेको छ । बोर्डका अनुसार फ्रेस चेरी कफी ग्रेड एको मूल्य प्रतिकेजी एक सय रुपैयाँ तोकिएको छ भने ग्रेड वीको मूल्य ९० रुपैयाँ तोकिएको छ । आठ सय मिटरभन्दामाथि प्राङ्गारिक पद्धति अपनाएर उत्पादन गरिएको, ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने, केलाएर छानिएको चेरीलाई ग्रेड ए मानिने छ । भने ग्रेड एमा नपरेका अन्य कफीलाई ग्रेड बि मानिनेछ । यसैगरी पार्चमेन्ट कफी ग्रेड एको मूल्य प्रतिकेजी पाँच सय रुपैयाँ र ग्रेड बिको मूल्य चार सय ५० रुपैयाँ कायम गरिएको छ । ग्रेड ए गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको पानीमा राख्दा डुब्ने, ११ प्रतिशत चिस्यान भएको कफी पार्चमेन्टलाई ग्रेड ए मानिनेछ । यस्तै, ग्रेड बी गुणस्तरको कफीबाट उत्पादन भएको पार्चमेन्टलाई ग्रेड बी मानिनेछ ।

ड्राइ चेरी कफी ग्रेड एको मूल्य भने प्रतिकेजी दुई सय रुपैयाँ तोकिएको छ । ग्रेड ए गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ड्राइ चेरीलाई ग्रेड ए मानिनेछ । यस्तै, ग्रेड बी ड्राइ चेरी कफीको मूल्य भने प्रतिकेजी एक सय ५० रुपैयाँ तोकिएको छ । ग्रेड बी गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ड्राइ चेरीलाई ग्रेड बी मानिने बोर्डले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया