Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमित्रमिलन सहकारीविरुद्ध सात सय ४४ जना बचतकर्ताको उजुरी

मित्रमिलन सहकारीविरुद्ध सात सय ४४ जना बचतकर्ताको उजुरी


पोखरास्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाविरुद्ध सात सय ४४ जनाभन्दा बढी बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले गत मंसिर १९ गते सूचना जारी गर्दै सहकारीबाट पीडित भएका बचतकर्तालाई जाहेरी दरखास्त दिन आह्वान गरेपछि उनीहरूले उजुरी दर्ता गराएका हुन् ।

सबै बचतकर्ताको दाबी २० करोड रुपैयाँभन्दा बढी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले जानकारी दिए । जाहेरीकर्ता अझै थपिन सक्ने भएको हुँदा दाबी रकम बढ्न सक्ने उनले बताए । यसअघि सहकारी रजिस्ट्रारको कार्यालयले गरेको वित्तीय अध्ययन तथा विश्लेषणबाट भने बचतकर्ताको २६ करोड ८० लाख रुपैयाँ अपचलन भएको देखाएको थियो । रजिस्ट्रारको कार्यालयले तयार पारेको अध्ययन प्रतिवेदन प्रहरी कार्यालयमा बुझाइसकेको छ ।

सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा अध्ययन अनुसन्धान जारी रहेको डीएसपी बिकले बताए । उनका अनुसार सहकारीका सञ्चालक समितिका पदाधिकारीले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेका र रकम हिनामिना एवम् ठगी गरेको विषयमा अनुसन्धानकै क्रममा छ ।
सहकारीबाट पीडित भएका बचतकर्ताले सहकारी ऐनसम्बन्धी कसुरमा अनुसन्धान गरी प्रस्तुत कसुरमा कारबाहीको माग गरेका छन् । उजुरीका लागि समयसीमा तोकिए पनि आउने थप जाहेरीलाई पनि लिइने डीएसपी बिकले जानकारी दिए ।

सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्ध निर्देशक किरण अधिकारीसहित केही व्यक्ति पक्राउ परिसकेकाले उनीहरूलाई अब सरकारी वकिलको कार्यालयमार्फत मुद्दा अघि बढाउने तयारी कास्की प्रहरीको छ । बैकिङ कसुरबाहेक अब उनीहरूलाई सहकारीको रकम अपचलनको मुद्दा पनि थपिएको छ । अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले दर्जनौँ नक्कली खाता र नक्कली युजर आईडी बनाएर बचतकर्ताको रकम अपचलन गरेको आरोप छ ।सहकारी ऐन २०७४ को दफा १२२ मा सहकारी सदस्यको बचत ऐन, नियम र विनियम बमोजिमबाहेक अन्य कुनै पनि प्रयोजनका लागि प्रयोग भएमा कसुर गरेको मानिने व्यवस्था गरेको छ । सहकारीको यसै प्रकरणमा ३० जनाविरुद्ध पक्राउपुर्जी जारी भएसँगै अधिकांश फरार छन् ।


क्याटेगोरी : समाचार, सहकारी–कृषि
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया