Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररत्ननगर महोत्सव सुरु

रत्ननगर महोत्सव सुरु


चितवन । पूर्वी चितवनको रत्ननगरस्थित टिकौलीचौरमा रत्ननगर महोत्सवको १२औँ संस्करण बिहीबारदेखि सुरु भएको छ । महोत्सवको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

महोत्सवमा अध्यक्ष तिमिल्सिनाले सरकार र निजी क्षेत्रको सहकार्यमा आर्थिक संकट अन्त्यका लागि पहल सुरु गर्नुपर्ने बताए । भूकम्प र कोरोना महामारीपछि मुलुकको आर्थिक प्रणालीमा असर परेका कारण आर्थिक संकट पैदा भएको भन्दै उनले यसको अन्त्यका लागि सबै क्षेत्र जिम्मेवार हुनुपर्नेमा जोड दिए । मुलुकमा आर्थिक संकटको असर चौतर्फीरूपमा रहेकाले समाधानमा राज्य चनाखो हुनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा उनले वन्यजन्तुको संरक्षण र पर्यटनलाई सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिए । वनजंगल र वन्यजन्तुको संरक्षणसँगै पर्यटन र वन क्षेत्रबाट लिन सकिने नाफा लिन सकेमा मात्रै त्यसले आर्थिक क्षेत्र बलियो हुने उनको भनाइ थियो ।

‘निकुञ्जको संरक्षण र जिल्लाको पर्यटनलाई सँगसँगै अगाडि बढाउनुपर्छ’, उनले भने, ‘मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्दै स्थानीय समुदायको जीविकोपार्जन तथा पर्यटनबाट आर्थिक लाभ लिनुपर्छ ।’ संरक्षणलाई पर्यटनसँग जोडेर आर्थिक विकासका गतिविधि बढाउन उनले सबैलाई आग्रह गरे । यस्तै, उनले चितवनमा वन र वन्यजन्तुलाई असर नपर्ने गरी रेलमार्ग निर्माणको कामलाई अगाडि बढाउन आवश्यक रहेको बताए । ‘निकुञ्जलाई असर गर्छ भनेर रेलमार्ग निर्माणको काम रोकिनु हुँदैन’ उनले भने, ‘दूरगामी प्रभाव पर्ने काम हो अगाडि बढाउनु पर्छ ।’

महोत्सवमा कृषि, पर्यटन, स्थानीय कला र संस्कृतिसहित राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय गरी करिब चार सय ५० स्टलहरू रहेको छ । यस पटकको महोत्सवमा तीन लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब २५ करोडभन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ । विगतमा जस्तै महोत्सवअन्तर्गत पौष २९ देखि ४ गतेसम्म पाँच दिन रत्ननगरको सौराहाचोक बसपार्कमा विभिन्न जनजातिहरूको विशेष खाना, उपभोक्ताहरूलाई गुणस्तरीय उत्पादन उपभोगका लागि विशेष परिकारसहित पाँचौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव पनि आयोजना गरिएको महोत्सव आयोजक समितिका संयोजक शंकर गिरीले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया