Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशी मुद्राको सटही रोकिँदा समस्या : क्यान

विदेशी मुद्राको सटही रोकिँदा समस्या : क्यान


काठमाडौं । विदेशी मुद्राको सटही रोकिदिँदा यतिबेला नेपालको इन्टरनेट सेवा उद्योग समस्यामा परेको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले जनाएको छ । महासंघका अनुसार नेपालमा अन्तर्राष्ट्रिय ब्यान्डविथ भित्र्याएबापत भारतीय अपस्ट्रिम प्रदायकलाई करिब १० महिनायता इन्टरनेट सेवाप्रदायकले भुक्तानी गर्न पाएका छैनन् ।

भुक्तानीका लागि अपस्ट्रिम प्रदायकबाट बारम्बार ताकेता भए पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटहीमा सिफारिस नगरिदिँदा इन्टरनेट सेवा सम्बध व्यवसायी मारमा परेको क्यान महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसको प्रत्यक्ष असर उपभोक्तामा र देशको समग्र अर्थतन्त्रमै पर्ने महासंघको भनाइ छ । यस्तै, महासंघले मन्त्रालय र इन्टरनेट सेवाप्रदायकबीच अहिले चलिरहेको मर्मत सम्भारको शुल्कमा रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) दस्तुर विवाद आपसी छलफलबाटै टुङ्ग्याउन पनि आग्रह गरेको छ । क्यान महासंघका अध्यक्ष रणजीत कुमार पोदारले सरकार र इन्टरनेट व्यवसायीबीच यसअघि भएका सहमतिहरू अदालतको निर्णय, संशोधित दूरसञ्चार नियमावली र ऐनले गरेका व्यवस्थालाई आधार मानी सरकारले नै निकासमा दिनुपर्ने बताए । ‘नेपालको इन्टरनेट सेवा उद्योगमा उचित व्यावसायिक वातावरण सिर्जना गर्ने र हाल देखिएका जटिलताको अन्त्य गर्ने दायित्व सरकारकै हो’, महासंघले भनेको छ ।

महासंघले सरकारलाई लचिलो भएर समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको छ । यसका लागि आवश्यक सहजीकरण गर्न क्यान महासंघ तयार रहेको महासंघका महासचिव चिरञ्जीवी अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालमा सञ्चालित इन्टरनेट र सूचना सञ्चार प्रविधि (आईसीटी) व्यवसायलाई अनावश्यक दुःख र दबाब दिने कार्यले डिजिटल नेपालको आकांक्षा पूरा हुन नसक्ने क्यान महासंघका महासचिव अधिकारी बताए । व्यवसायीलाई जिम्मेवार भएर काम गर्ने वातावरण सरकारले बनाइदिनुपर्ने महासंघको माग छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया