Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधआयल निगमको कार्यकारी बन्न १४ जना प्रतिस्पर्धामा

आयल निगमको कार्यकारी बन्न १४ जना प्रतिस्पर्धामा


काठमाडौं । नेपाल आयल निगमको रिक्त रहेको कार्यकारी निर्देशक बन्न तीव्र प्रतिस्पर्धा हुने भएको छ । कार्यकारी निर्देशकका लागि १४ जनाले आवेदन दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुस ७ गते आवेदन माग गरेअनुसार तोकिएको समयभित्र १४ जनाले आवेदन दिएका हुन् ।

आवेदन दिनेहरुमा हाल हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक पदमा कार्यरत दाङका बसन्तकुमार पाण्डे, निगमका पूर्वमहाप्रबन्धकसमेत रहेका गोरखाका चण्डिकाप्रसाद भट्ट, सहसचिवबाट अवकास प्राप्त ललितपुर महानगरपालिका २४ का शत्रुध्नप्रसाद पुडासैनी छन् ।

यस्तै, आवेदन दिने अन्यमा सहसचिवबाट अवकाशप्राप्त सिभिल इन्जिनियर समेत रहेका टोखाका दिलिपशेखर श्रेष्ठ, काठमाडौंका सहदेव चन्द, धनुषाधाम २ का रामदेव यादव, राजविराज १३ का सञ्जिवकुमार श्रेष्ठ, मोरङका पंकजकुमार दास, माधव रेग्मी, आमोदप्रसाद चौधरी, बाग्लुङ ९ का डोलिन्द्रप्रसाद शर्मा, लोहारपट्टि नगरपालिका ३ महोत्तरीका कमलेन्द्रलाल कर्ण, बूढानीलकण्ठ नगरपालिका ८ का उत्तरकुमार रेग्मी, भरतपुर महानगरपालिका १४ का डा. डोलप्रसाद चापागाईँ छन् । मन्त्रालयले २०७५ सालदेखि खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनौट गर्न थालेको हो । उमेश थानीले राजीनामा दिएपछि कार्यकारी निर्देशक पद रिक्त थियो ।

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्यो
काठमाडौं, माघ १ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिदमूल्यअनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २६ पैसा, डिजल प्रतिलिटर ८३ पैसाले घटेर आएकाले निगम सञ्चालक समितिले आज राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको हो ।

निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जका लागि पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६३ रुपैयाँ ५० पैसा, डिजल र मट्टीतेल एक सय ४३ रुपैयाँ ५० पैसा कायम भएको छ ।

साथै सुर्खेत र दाङका लागि पेट्रोल प्रतिलिटर एक सय ६५, डिजल र मट्टीतेल प्रतिलिटर एक सय ५५ कायम भएका भएको छ । साथै काठमाडौं, पोखरा र दीपायलका लागि पेट्रोल प्रतिलिटर एक सय ६६ रुपैयाँ, डिजल र मट्टीतेल एक सय ५६ रुपैयाँ कायम भएको छ ।


क्याटेगोरी : बिबिध, समाचार
ट्याग : #page 2

तपाईको प्रतिक्रिया