Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारऔद्योगिक क्षेत्रमा कुलमानको आदेशमा ‘लोडसेडिङ’

औद्योगिक क्षेत्रमा कुलमानको आदेशमा ‘लोडसेडिङ’


नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा तालिकाविना नै ‘लोडसेडिङ’ सुरु गरेको छ । हिउँद लागेसँगै विद्युत् उत्पादन घट्न जाँदा व्यवस्थापन गर्न नसकेर प्राधिकरणले लोडसेडिङ सुरु गरेको हो । महँगो परे पनि औद्योगिक क्षेत्रमा बिजुली उपलब्ध गराउन उद्योगीहरुले माग गरे पनि प्राधिकरणले भारतबाट थप बिजुली ल्याउन चाहेको छैन ।‘औद्योगिक क्षेत्रमा लोडसेडिङ नगर्दा सर्वसाधारण उपभोक्ताको घरमा गर्नुपर्ने भएको कारण प्राधिकरणका कार्यकारी कुलमान घिसिङको आदेशमा दैनिक बिहान र साँझ गरेर ११ घण्टासम्म लोडसेडिङ गर्नुपरेको छ’, प्राधिकरणका एक अधिकारीले भने, ‘सूचना निकाल्दा गलत सन्देश जाने भएको कारण औद्योगिक क्षेत्र भएका सम्बन्धित कार्यालयलाई मौखिक जानकारी दिएर लोडसेडिङ गर्नु भनेर कार्यकारी निर्देशकबाट आदेश गएको हो ।

विद्युत् प्रसारण लाइन निर्माणमा कुनै काम गर्न नसकेको कारण आउँदो बर्खामा पनि औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्नुपर्ने अवस्था आइसकेको ती अधिकारीले जानकारी दिए । ‘प्रसारण लाइन निर्माणमा प्राधिकरणको वर्तमान नेतृत्वले काम गर्न सकेन । अब बर्खामा पनि औद्योगिक क्षेत्रमा सहजरुपमा बिजुली दिन सकिने अवस्था छैन’, ती अधिकारीले आर्थिक दैनिकसित भने ।हरेक दिन बिहान ५ बजेदेखि ११ बजेसम्म र बेलुका पनि ५ बजेदेखि १० बजेसम्मको समयमा लोडसेडिङ गरिरहेको बताइएको छ । यो समय अझै बढ्नेसमेत प्राधिकरणका ती अधिकारीको दाबी छ । विगतमा सर्वसाधारण उपभोक्ताले लोडसेडिङको मार खेपेको बेला निर्बाधरुपमा बिजुली उपभोग गरेका औद्योगिक ग्राहकहरुलाई पछिल्ला दिनमा प्राधिकरणले लोडसेडिङको उपहार दिँदै आएको छ । यद्यपि बाहिर भने कुलमानले आफूले गर्दा लोडसेडिङ हटाएको दाबी गर्दै आएका छन् । ‘लोडसेडिङ हटेको छैन, क्षेत्र मात्र परिवर्तन भएको हो’, प्राधिकरणका अर्का एक अधिकारीले भने, ‘विगतमा सर्वसधारण उपभोक्ताले लोडसेडिङको मार भोगेको थिए अहिले औद्योगिक क्षेत्रले त्यो मार खेपिरहेको छ । औद्योगिक क्षेत्रमा विगतका वर्षमा पनि लोडसेडिङ थियो, अहिले पनि छ । पहिला थोरै घण्टा थियो, अहिले लोडसेडिङको समय बढ्न सक्तछ ।’

लोडसेडिङको तालिका दिएर लाइन काट्न औद्योगिक ग्राहकहरुले आग्रह गरे पनि तालिका बनाउन प्राधिकरणले विगतदेखि नै मानेको छैन । अहिले लोड नपुग्ने अवस्था सिर्जना भयो भने केही घण्टाअगाडि मात्र फोनबाट जानकारी दिएर प्राधिकरणले लाइन काट्ने गरेको छ । प्राधिकरणले अपर्झट लाइन काट्ने मौखिक सूचना दिने गरेको कारण उद्योगीहरुलाई मजदुर व्यवस्थापन गर्न समस्या परिरहेको छ । अहिले पिक समयमा १७ सय ११ मेगावाट विद्युत्को माग रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले भारतबाट तीन सय २४ मेगावाट ल्याउँदासमेत १२ सय ७७ मेवागाट मात्रै विद्युत् आपूर्ति गर्नेगरेको छ । भारतबाट महँगोमा खरिद गरेर नेपालमा ल्याएर सस्तोमा बिक्री गर्नुपरेको भन्दै प्राधिकरणले भारतबाट पर्याप्त बिजुली ल्याएको छैन । विगतमा भारतमा खरिद गर्ने र नेपालमा बिक्री गर्ने बिजुलीको अपुग रकम सरकारले उपलब्ध गराउने गरेको कारण कुलमानले आफूले आफ्नै पकेटका बिजुली दिएको जसरी लोडसेडिङ हटाएको दाबी गर्दै आएका थिए । अब सरकारले खरिद र बिक्रीबीचको मार्जिन रकम नदिएमा कुलमानले लोडसेडिङ हटाएँ भनेर माला लगाएर हिँड्ने अवस्था छैन ।

भारतबाट विद्युत् आयात गर्दा प्रतियुनिट ७ रुपैयाँ २१ पैसा भारतीय रुपैयाँ अर्थात् ११ रुपैयाँ ५४ पैसा दर तय गरेको छ । त्यस्तै, भारतको खुलाबजारबाट पनि प्राधिकरणले विद्युत् आयात गर्ने गर्छ । त्यसको दर भने आयात गर्नुभन्दा एक दिनअघि मात्रै थाहा हुन्छ । तर, प्राधिकरणले औसत नौ देखि १० रुपैयाँका दरले नेपालमा विद्युत् बिक्री गर्नेगरेको छ । विगतमा लोडसेडिङ गर्दा भने अर्थ मन्त्रालयले रकम दिनेगरेको कारण जति पनि बिजुली आयात गरिएको थियो । सरकारी पैसाबाट बिजुली खरिद गरेर ल्याएर दिएको कारण कुलमानले आफैँले प्राधिकरणबाट आम्दानी गरेर बिजुली खरिद गरेर ल्याएर वितरण गरेको जसरी प्रचार गर्नेगरेका थिए । त्यसलाई सर्वसाधारणले पनि पत्याइदिएका थिए । अहिले भने कुलमानले अर्थ मन्त्रालयले दिएको पैसाबाट बिजुली खरिद गरेर ल्याएर वितरण गरेको र प्राधिकरणले आफ्नो आम्दानीबाट बिजुली खरिद गरेर ल्याएको होइन भन्ने वास्तविक सत्यता थाहा पाइसकेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1


तपाईको प्रतिक्रिया