Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारटुँडिखेलमा महाशिवरात्रिमा नेपाली सेनाद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति सरिक

टुँडिखेलमा महाशिवरात्रिमा नेपाली सेनाद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति सरिक


काठमाडौँ । महाशिवरात्रि तथा २६१औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक भएका छन् । सो अवसरमा उनले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरे ।

नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन् । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ ।

सेनाको हेलिकप्टरमार्फत पुष्पवृष्टि गर्नाका साथै राष्ट्रिय झण्डा र ‘सेना दिवस–२०८०’ लेखिएको ब्यानर प्रदर्शन गरियो । त्यस अवसरमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ तथा कवाज प्रस्तुत गरेक थिए । समारोहमा सेनाद्वारा विभिन्न रणकौशल तथा परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरियो ।

No description available.

राष्ट्रपति पौडेलले सेना दिवस समारोहमा ब्याण्ड प्रस्तुत गर्ने भारतीय, बेलायती र अमेरिकी सेनाका टोली प्रमुखलाई सम्झनास्वरुप उपहार प्रदान गरे । उनले ‘फ्री फल जम्प’ मा प्रथम भएका अमलदार टङ्कबहादुर डाँगी र दोस्रो भएका सेनानी जगनाथ दनैलाई पुरस्कार प्रदान गरे । सेनाको टोलीबाट नेपालको झण्डा, देशको नक्सा, डमरु आकृतिलगायतको प्रस्तुति भएको थियो ।

समारोहमा नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०८०’ वार्षिक पत्रिका राष्ट्रपति पौडेलले विमोचन गरे । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ उपस्थित थिए । उपप्रधानमन्त्री, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमख एवं पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरु पनि शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल पुगेका थिए । समारोहपछि प्रधानसेनापति प्रभुराम शर्माले समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गरे ।

फोटो खोल्नुहोस्


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया