Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआर्थिक वृद्धिदर तीन दशमलव ८७ प्रतिशत हुने

आर्थिक वृद्धिदर तीन दशमलव ८७ प्रतिशत हुने

अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब


काठमाडौं । राष्ट्रिय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०८०/८१ को आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा तीन दशमलव ८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ । योसँगै गत आर्थिक वर्षको भन्दा चालू आर्थिक वर्षको आर्थिक वृद्धिदरमा एक दशमलव ९२ प्रतिशतले वृद्धि हुने देखिएको छ । गत आर्थिक वर्षमा अर्थतन्त्रको वृद्धिदर उपभोक्ता मूल्यमा एक दशमलव ९५ प्रतिशत थियो । त्यसअघि आर्थिक वर्ष २०७८/७९ मा आर्थिक वृद्धिदर पाँच दशमलव ६३ प्रतिशत थियो ।

विभागले यस आर्थिक वर्षको अन्तिमसम्म नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरेको छ । गत आर्थिक वर्षमा अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रुपैयाँ रहेको प्रारम्भिक तथ्यांक आएको छ । आर्थिक वर्ष २०७८/७९ मा मुलुकको अर्थतन्त्रको आकार ४९ खर्ब ७६ अर्ब रुपैयाँ थियो ।

औद्योगिक क्षेत्रका बृहत् दुई समूह कृषि र गैरकृषि क्षेत्रको वृद्धिदरमार्फत वर्गीकरण गरिएको छ । यस आर्थिक वर्षमा कृषि क्षेत्रको तीन दशमलव शून्य पाँच प्रतिशत र गैरकृषि क्षेत्रको तीन दशमलव ७५ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान गरिएको छ । संशोधित विवरणअनुसार गत आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर दुई दशमलव ७६ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर दुई दशमलव १३ प्रतिशत रहने अनुमान गरिएको थियो ।

औद्योगिक क्षेत्रलाई प्राथमिक क्षेत्र, द्वितीय क्षेत्र र सेवा क्षेत्र गरी प्रमुख तीन समूहमा विभाजन गरेर अध्ययन गर्ने गरिन्छ । चालू आर्थिक वर्ष २०८०/८१ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः तीन दशमलव शून्य तीन प्रतिशत, एक दशमलव २० प्रतिशत र चार दशमलव ५० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । संशोधित विवरणअनुसार गत आर्थिक वर्षमा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः दुई दशमलव ७२ प्रतिशत, एक दशमलव ४० प्रतिशत र दुई दशमलव ३६ प्रतिशत रहने अनुमान गरिएको थियो । त्यसैगरी, अन्तिम विवरणअनुसार आर्थिक वर्ष २०७८/७९ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः दुई दशमलव ५० प्रतिशत, १० दशमलव ७९ प्रतिशत र पाँच दशमलव ३२ प्रतिशत कायम हुने तथ्यांक सार्वजनिक गरिएको थियो ।

विभागका अनुसार चालू आर्थिक वर्षका लागि अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरण चौथो संस्करणअनुसार वस्तु तथा सेवा उत्पादनका क्रियाकलापलाई १८ भागमा वर्गीकरण गरी कुल मूल्य अभिवृद्धिदरको वृद्धिदर आकलन गरिएको छ ।

सम्पूर्ण आर्थिक क्रियाकलापको अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरण चौथो संस्करणअनुसार वस्तु तथा सेवा उत्पादनका क्रियाकलापलाई २१ वटा मुख्य क्रियाकलापमा वर्गीकरण गरिएको छ । नेपालको सन्दर्भमा २१ वटा औद्योगिक क्रियाकलापमध्ये बाह्य संघसंस्था एवं यसका अंगका क्रियाकलापलाई छोडेर पछिल्ला तीनवटा आर्थिक क्रियाकलाप (कला, मनोरञ्जन तथा मनोविनोद, अन्य सेवा प्रदान गर्ने क्रियाकलाप र रोजगारदाताका रूपमा घरपरिवारका घरायसी क्रियाकलाप, आफ्ना प्रयोगका लागि छुट्याउन नसकिने विभिन्न वस्तु तथा सेवा उत्पादन)लाई अन्य सेवाका क्रियाकलापमा समावेश गरी १८ किसिमका आर्थिक क्रियाकलापमा वर्गीकरण गरिएको छ । कृषि, वन तथा मत्स्य २४ दशमलव शून्य नौ प्रतिशत, खानी तथा उत्खनन शून्य दशमलव ४७ प्रतिशत, उद्योग चार दशमलव ८७ प्रतिशत, विद्युत्, ग्यास वाष्प तथा वातानूकुलित आपूर्ति सेवा एक दशमलव ८१ प्रतिशत, पानी आपूर्ति, ढल फोहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्रियाकलाप शून्य दशमलव ४४ प्रतिशत, निर्माण पाँच दशमलव ४१ प्रतिशत, गाडी तथा मोटरसाइकल १३ दशमलव ८४ प्रतिशत, यातायात तथा भण्डारण सात दशमलव २८ प्रतिशत, आवास तथा भोजन सेवा दुई दशमलव ४२ प्रतिशत योगदान रहने बताइएको छ ।

त्यस्तै, सूचना तथा सञ्चार एक दशमलव ९४ प्रतिशत, वित्तीय तथा बीमा क्षेत्र छ दशमलव ८२ प्रतिशत, घरजग्गा कारोबारको सेवा आठ दशमलव ३३ प्रतिशत, पेसागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप शून्य दशमलव ९९ प्रतिशत, सेवा शून्य दशमलव ७१ प्रतिशत, प्रशासनिक तथा सहयोगी सेवाका क्रियाकलाप नौ दशमलव ६३ प्रतिशत, शिक्षा आठ दशमलव ५० प्रतिशत, स्वास्थ्य तथा सामाजिक कार्य एक दशमलव ८७ प्रतिशत र अन्य सेवाका क्रियाकलाप शून्य दशमलव ५७ प्रतिशत योगदान रहने बताइएको छ ।

नेपालीको प्रतिव्यक्ति आय १४ सय ५६ डलर
विभागका अनुसार चालू आर्थिक वर्ष २०८०/८१ मा प्रतिव्यक्ति आय कुल गार्हस्थ्य उत्पादनमा एक हजार चार सय ३४ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार तीन सय ८९ अमेरिकी डलर हुने संशोधित अनुमान गरिएको थियो । चालू आर्थिक वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार चार सय ५६ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार चार सय पाँच अमेरिकी डलर रहने संशोधित अनुमान गरिएको थियो ।

चालू आर्थिक वर्षमा आधारभूत मूल्यको कुल उत्पादन ८७ खर्ब ५२ अर्ब ६४ करोड रुपैयाँ, उपभोक्ताको मूल्यको मध्यवर्ती उपभोग ३७ खर्ब दुई अर्ब ५५ करोड रुपैयाँ, उपभोक्ताको मूल्यको मध्यवर्ती उपभोग ३७ खर्ब दुई अर्ब ५५ करोड रुपैयाँ, जीडीपीको २४ दशमलव ४५ प्रतिशत कुल स्थिर पुँजी निर्माण, जीडीपीको ९२ दशमलव ३८ प्रतिशत अन्तिम उपभोग खर्च, जीडीपीको सात दशमलव ९४ प्रतिशत निर्यात, जीडीपीको ३३ दशमलव सात प्रतिशत आयात, जीडीपीको ३६ दशमलव १५ प्रतिशत कुल राष्ट्रिय बचत, जीडीपीको २२ दशमलव ९६ प्रतिशत विप्रेषण प्राप्त हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षमा जीडीपीको २२ दशमलव ८२ प्रतिशत विप्रेषण प्राप्त भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया