Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योग व्यवसाय फस्टाउन सकेमात्र श्रमिक अधिकार स्थापित हुन्छ

उद्योग व्यवसाय फस्टाउन सकेमात्र श्रमिक अधिकार स्थापित हुन्छ


लेखनाथ (कास्की) । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी प्रदेशद्वारा बुधबार पोखरामा आयोजित सभालाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले उद्योग व्यवसाय फस्टाउन सकेमात्र रोजगारी प्राप्ति र श्रमिक अधिकार स्थापित हुनसक्ने बताएका छन् ।

उनले कोरोनाका कारण थला परेको उद्योग व्यवसाय बिस्तारै लयमा फर्कन थालेकाले श्रम ऐनका अधिकार स्थापित गर्न सरकार, रोजगारदाता र श्रमिकको समन्वयमा अगाडि बढ्न सकिने बताए ।

श्रमिकका लागि संविधानले दिएका अधिकार र न्यूनतम ज्याला उपलब्ध गराउने कार्यमा गण्डकी प्रदेश सरकार तयार रहेको जनाउँदै मुख्यमन्त्री अधिकारीले राष्ट्रिय रुपमा पूँजी वृद्धि गर्न श्रमिमको भूमिका महत्वपूर्ण रहेको बताए ।

“स्वदेशमै रोजगारी सृजना गरी नेपाली युवालाई विदेश पलायन हुनबाट रोक्न गण्डकी प्रदेश सरकार रोजगारदातासँग सहकार्य गरी सँगसँगै अगाडि बढ्न तयार छ”, मुख्यमन्त्री अधिकारीले भने, “पोखरा पर्यटकीय राजधानी भएकाले पर्यटन र कृषि क्षेत्रमा रोजगारीका अवसर सृजना गर्नुपर्छ ।”

देशमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनमा श्रमिक वर्गको भूमिकालाई बिर्सन नसकिने जनाउँदै मुख्यमन्त्री अधिकारीले स्वरोजगारका कार्यक्रम अगाडि ल्याएर भए पनि युवालाई स्वदेशमा नै पसिना बगाउने वातावरण आफूले सृजना गर्ने बताए । मुख्यमन्त्री अधिकारीले श्रमिकका लागि संविधानले दिएका अधिकार कार्यान्वयन गर्न आफू सदैव तयार रहने बताए ।

श्रमिकका मुद्दालाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएको जनाउँदै नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले श्रमिकका माग सुनुवाइ हुन आवश्यक भएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता गायत्री गुरुङले सबै क्षेत्रमा काम गर्ने मजदुरको सामाजिक सुरक्षा कोष कार्यक्रम लागू गर्न सरकार र राजनीतिक दलहरु तयार हुनुपर्नेमा जोड दिइन् । साथै उनले लैङ्गिक विभेदका आधारमा समान काममा पनि ज्याला फरक हुने गरेको बताइन् ।

श्रमिकले श्रमिक दिवस आन्दोलनका रुपमा नभई उत्सवका रुपमा मनाउन पाउनुपर्नेमा मजदुर नेता मुरारी शर्माले जोड दिए । साथै उनले मजदुरहरु हरेक दिन असुरक्षित हुँदै गएको जनाउँदै श्रम आयोग गठन गरी उनीरुको अधिकार स्थापित गर्नुपर्ने बताए । दिन प्रतिदिन महँगी बढ्दा मजदुरको दैनिकी कष्टपूर्ण हुँदै गएको जनाउँदै मजदुर नेता रुद्र खत्रीले सरकारले महँगी नियन्त्रणमा सक्रिय हुनुपर्नेमा जोड दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया