Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपशुपतिको विद्युत् शवदाह साउन १ गतेदेखि नि:शुल्क

पशुपतिको विद्युत् शवदाह साउन १ गतेदेखि नि:शुल्क


काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले कार्यभार ग्रहण गर्दै विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन् ।

यस्तै, उनले सेतो सत्तल गुह्येश्वरीमा बृहत् अन्तर्राष्ट्रिय पुस्तकालय निर्माण गर्ने निर्णय पनि गरेका छन् । धार्मिक एवं सांस्कृतिक अध्ययन अनुसन्धानका लागि अन्तर्राष्ट्रियस्तरको पुस्तकालय निर्माण गर्ने निर्णय गरिएको उनले बताए । दुवै निर्णय औपचारिकरूपमा कोष सञ्चालक परिषद्को बैठकमा प्रस्ताव गरी कार्यान्वयन गर्ने उनले जानकारी दिए । यसैगरी सदस्य सचिव डा थापाले पशुपतिनाथ मन्दिरको सम्पत्ति फिर्ता गर्ने पनि बताएका छन् । विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा जलहरी राख्ने सन्दर्भमा परेको मुद्दामा सदस्य सचिव डा थापासहित तीनै जनालाई सफाई दिएपछि उनले बुधबार कार्यभार सम्हालेका हुन् । विशेष अदालतका अध्यक्ष एवं न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले थापा, डा प्रदीप ढकाल र अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको थियो ।

अख्तियार दुरुपयोग अनुन्धान आयोगले २०८० असोज १४ गते उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो । तर विशेष अदालतले मङ्गलबार अन्तिम फैसला गर्दै पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा अनियमितता नभएको ठहर गरी उनीहरूलाई सफाइ दिइएको हो । थापा जलहरी निर्माण गर्दा संयोजक एवं कोषका सदस्य थिए । २०७७ मा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री रहँदा जलहरी निर्माण गरिएको थियो । जलहरी निर्माणमा अनियमितता भएको उजुरीपछि २०८० असार १० गते अख्तियारले पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर (क्यारेट) परीक्षण गरेको थियो । अख्तियारले नापजाँच गरेपछि २०८० असार १३ गते जलहरी पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया