Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी

राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी


काठमाडौँ । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिका क्षेत्रमा लगानी वृद्धि र यसको प्रयोगलाई सुरक्षित बनाउन आवश्यक नीति, कानुन र पूर्वाधार विकासका काम भइरहेको बताएकी छिन् ।

उनले साइबर स्पेसलाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको बताइन् । मन्त्री शर्माले भनिन, “डिजिटल पूर्वाधारको महत्वपूर्ण आधार दूरसञ्चार क्षेत्रलाई समयानुकूल व्यवस्थित गर्न दूरसञ्चार ऐनको पुनरावलोकन गर्ने काम भइरहेको छ ।”

मन्त्री शर्माले सरकारसँग हातेमालो गर्दै सूचना प्रविधिको विकास र प्रयोगमार्फत समृद्धिको यात्रामा अगाडि बढ्ने अभियानमा साथ सहयोगका लागि आह्वानसमेत गरिन । उनले सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको महाअभियानमा सूचना प्रविधि महत्वपूर्ण आधार बनेको बताइन् ।

उनले विभिन्न सार्वजनिक सेवामा विद्युतीय प्रणालीको उपयोग बढेको जानकारी दिंदै सूचना प्रविधि क्षेत्रमा भएको विकास र विस्तारसँगै नेपालमा पनि यसको प्रयोगमा उल्लेख्य रुपमा बढोत्तरी आएको उल्लेख गरिन् ।

मन्त्री शर्माले भनिन, “राष्ट्रिय परिचयपत्र, एमआरपी, सवारी चालक अनुमतिपत्र, नागरिक एप, एकीकृत कार्यालय व्यस्थापन प्रणाली, कम्पनी दर्ता तथा नवीकरण, कर भुक्तानी जस्ता सेवा प्रवाहका कार्य विद्युतीय प्रणालीबाटै गर्ने गरिएको छ ।”

सूचना प्रविधिको प्रयोगका कारण नागरिकले घरैमा बसेर राज्यले प्रदान गरेका सेवाहरु लिन सक्ने अवस्थाको सुरुवात भइसकेको जनाउँदै मन्त्री शर्माले देशका अधिकांश भू–भागमा दूरसञ्चार र अधिकांश वडा केन्द्रमा ब्रोडव्याण्ड इन्टरनेटको पहुँच पुगेको जानकारी दिइन् । उनले डिजिटल भुक्तानी प्रणालीको विकास र उपयोगलाई अझै तीब्र र प्रभावकारी बनाउन आधारभूत डिजिटल पूर्वाधारको रुपमा देशभर दूरसञ्चार सेवाको पहुँच विस्तारलाई जोड दिइएको बताइन् ।

पछिल्लो समय सूचना प्रविधि आर्थिक समृद्धिका लागि नवीनतम एवं उदीयमान क्षेत्रका रुपमा स्थापित हुँदै गएको छ भन्दै मन्त्री शर्माले भनिन, “अहिलेसम्म हामीले आर्थिक समृद्धिका आधारको रुपमा कृषि, जलस्रोत र पर्यटनलाई प्रस्तुत गर्दै आएकोमा अब नयाँ र उदीयमान क्षेत्रको रुपमा सूचना प्रविधि थप भएको छ ।”

उनले निजी क्षेत्रले सूचना प्रविधि सेवा निर्यातमार्फत बर्सेनि अर्बौं वैदेशिक मुद्रा भित्रयाइरहेको बताइन । सूचना प्रविधि क्षेत्रको विकासका लागि निजी क्षेत्र निकै उत्साहित भएर आएको उल्लेख गर्दै झण्डै एक लाख युवाले देशभित्रै बसेर विभिन्न देशमा सूचना प्रविधि सेवा निर्यात गरिरहेको उनको भनाइ छ ।

उनले सूचना प्रविधि उद्योग र बढिरहेको आइटीसम्बन्धी सेवा निर्यातलाई व्यवस्थित बनाउनका लागि आइटी हब सञ्चालन गर्नु अनिवार्य भइसकेको बताइन । उनले दूरसञ्चार पूर्वाधारको क्षेत्रमा भइरहेको दोहोरो लगानीको अन्त्य गर्न पूर्वाधार सहप्रयोगको नीतिलाई आवश्यक पुनरावलोकन गरी प्रभावकारी कार्यान्वयन गर्नु जरुरी रहेको औँल्याइन ।

“सूचना प्रविधिसम्बन्धी सेवा निर्यातलाई प्रवर्धन गर्न सूचना प्रविधि उद्योग र स्टार्टअपहरुलाई एकै थलोबाट सञ्चालन गर्ने गरी आवश्यक पूर्वाधार निर्माण गर्न सकियो भने यसबाट देशभित्र र बाहिरका लगानीकर्ताको पूँजी तथा सूचना प्रविधि क्षेत्रका दक्ष जनशक्तिको ज्ञान, सिप र श्रमको एकीकृत परिचालन गर्ने वातावरण बन्नेछ”, मन्त्री शर्माले भनिन । उनले सूचना प्रविधिको प्रयोग सुरक्षित बनाउन देशभर डिजिटल साक्षरता एवम् जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया